मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ल्यारी द क्याट’ : ६ प्रधानमन्त्री भोगेको बेलायती सेलिब्रेटी बिरालो, ट्विटरमा पनि सक्रिय

काठमाडौँ– बेलायतको प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा एउटा सेतो–खैरो बिरालो बस्छ । ल्यारी नाम गरेको बिरालो अहिले १७ वर्षको भयो ।

प्रधानमन्त्री कार्यालयका मुसा मार्न सरकारले नै मुखियाको विशेष दर्जा दिएर पालेको हो । बेलायत सरकारले ल्यारीलाई ‘चिफ माउसर टु द क्याबिनेट अफिस’ को पद दिएर सन् २०११ देखि पाल्दै आएको छ ।

बेलायतको सरकारी वेबसाइटमा समेत ल्यारीको जिम्मेवारी स्पष्टसँग किटान गरिएको छ । १० डाउनिङ स्ट्रिटको आधिकारिक वेबसाइटमा ल्यारीको जिम्मेवारी ‘अतिथिको स्वागत गर्ने, सुरक्षा प्रबन्धको देखभाल गर्ने र पुराना फर्निचरमा उँघ्ने गुणस्तर परीक्षण गर्ने’ तोकिएको छ ।

बाहिर सडकमा हिँडडुल गरिसकेर प्रधानमन्त्री कार्यालयमा छिर्नेबेला त्यहा खटिएका सुरक्षाकर्मीले ल्यारीका लागि १० डाउनिङ स्ट्रिटको ढोका खोलिदिन्छन् ।

ल्यारीलाई ढोका खोलिदिँदै सुरक्षाकर्मी

हुन पनि १० डाउनिङ स्ट्रिटमा पाहुना भएर आउने अमेरिकी राष्ट्रपतिसहित विश्वका विशिष्ट नेताले समेत उसँग फोटो खिचाउने गरेका छन् । सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत भ्रमणमा निस्केका थिए ।

त्यसबेला १० डाउनिङ स्ट्रिटमा पुगेका बेला ल्यारी ट्रम्पको सवारीमुनि सुतिदिएको थियो । सवारीमुनि सुतेको ल्यारी उठेर हिड्नेबेलासम्म ट्रम्पको गाडी चल्नै पाएको थिएन ।

सन् २००७ जनवरी १३ मा जन्मेको ल्यारी प्रधानमन्त्री कार्यालयमा जागिर पाउनुअघि ब्याटरसी डग्स एण्ड क्याट्स होममा हुर्केको थियो । शिकार खेल्न निपुण रहेको ल्यारीले प्रधानमन्त्री कार्यालयमा मुसाको समस्या समाधान गर्ने अपेक्षासहित उसलाई जागिर दिइएको थियो ।

ल्यारीले सन् २०११ को अप्रिल महिनामा बैठक कोठामा पहिलो मुसा मारेको थियो । सन् २०१३ को अक्टोबर महिनामा उसले दुई साताको अवधिमा चारवटा मुसा मारेको थियो ।

ल्यारीले मुसा मार्न आँटेको देखेर त्यसबेला प्रधानमन्त्री कार्यालयमा काम गर्ने एक जना कर्मचारीले एउटा मुसालाई ल्यारीको पञ्जाबाट छुटाएका थिए । मुसामात्रै होइन, १० डाउनिङ स्ट्रिट आसपास आउने स्याल, परेवा र अरु जनवारलाई पनि ल्यारी देख्नै सक्दैन । सन् २०२२ मा १० डाउनिङ स्ट्रिटमा देखा परेको स्याललाई ल्यारीले नराम्ररी लखेटेको थियो ।

ल्यारी डाउनिङ स्ट्रिटमा देखा परेको स्याल लखेट्दै

पछिल्लो समय भने ल्यारीले मुसा मार्ने जिम्मेवारी राम्रोसँग वहन गर्न नसकेको भन्दै आलोचना पनि खेप्दै आएको छ । यद्यपि बेलायत सरकारले भने ल्यारीको बचाउ गर्दै ल्यारीको मुसा मार्ने क्रम कार्यनीतिक योजनाको चरणमा रहेको बताउने गरेको छ ।

डेभिड क्यामरुनको पालादेखि १० डाउनिङमा बस्दै आएको ल्यारीले अहिलेसम्म प्रधानमन्त्रीका रुपमा क्यामरुनसहित टेरिजा मे, बोरिस जोनसन, ऋषि सुनकको को कार्यकाल देखिसकेको छ ।

हालैमात्र उसले आफ्नो कार्यकालका छैटौँ प्रधानमन्त्रीका रुपमा केर स्टार्मरलाई १० डाउनिङ स्ट्रिटमा स्वागत गरेको छ । अब उसले प्रधानमन्त्री स्टार्मरसहित उनकी श्रीमती भिक स्टार्मर उनका दुई छोरी र जोजो नाम गरेको स्टार्मरको बिरालोसँग प्रधानमन्त्री कार्यालयमा बस्नुपर्नेछ ।

राजनीतिक उतारचढावका बीच बारम्बार प्रधानमन्त्री परिवर्तन भइरहेका बेला ल्यारीले मात्र प्रधानमन्त्री कार्यालयमा स्थायित्वको महसूस गराएको विश्लेषण गरिन्छ । ल्यारी बेलायतमा मात्रै होइन, विश्वभर चर्चित छ ।

कतिसम्म भने सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मा ल्यारीको नामबाट खोलिएको अकाउन्टमा ८ लाख ८७ हजारभन्दा धेरै फलोअर्स छन् । एक्समा खोलिएको अनौपचारक अकाउन्टले बेलायती राजनीतिक र सामाजिक घटनाक्रमबारे ल्यारीको विचार सार्वजनिक गर्दै आएको छ ।

त्यतिमात्रै होइन, प्रधानमन्त्री कार्यालयमा कुनै औपचारिक कार्यक्रम भए, वा समाचारको खडेरी परेको खण्डमा ल्यारीको फोटो र भिडियो खिच्न पत्रकार र फोटोग्राफरको भिड नै जम्मा हुन्छ । बेलायती र अन्तर्राष्ट्रिय मिडियामा ल्यारीका फोटो र भिडियोले राम्रै भ्युज पाउँछन् ।

स्वतन्त्र फोटोग्राफरका रुपमा जस्टिन एङले विगत लामो समयदेखि ल्यारीको फोटो खिच्दै आएका छन् । उनका अनुसार प्रधानमन्त्री कार्यालय घुम्न आउने कतिपय पर्यटक त प्रधानमन्त्री कार्यालयका अरु आकर्षण छाडेर शुरुमा ल्यारीलाई नै खोज्छन् ।

‘डाउनिङ स्ट्रिट घुम्न आउने केटाकेटीले प्रधानमन्त्री होइन, शुरुमा ल्यारीलाई नै खोज्छन् ।’ स्वतन्त्र फोटोग्राफर जस्टिनले एशोसिएटेड प्रेसलाई भनेका छन्, ‘यसले पनि यसअघिका, अहिलेका वा अब आउने कुनै प्रधानमन्त्रीभन्दा ल्यारी अझ कति प्रिय छ भन्ने देखाउँछ ।’

कुनै आश्चर्य नभए ल्यारी अझै केही समय मुसा मार्ने मुखियाको जिम्मेवारीमा रहने बेलायती सञ्चार माध्यमको भनाइ छ । बिरालोको औसत आयू १३ देखि १७ वर्षको हुन्छ ।

यस्तोमा ल्यारीको उमेरले डाँडा काट्न लागेको छ । तर, तत्कालै ल्यारीले अवकाश लिने सम्भावना भने नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?