काठमाडौँ– ‘उहिले खोला मिचेर घर नबनाऔँ भन्दा मानेनौ ! अहिले रेडियोले नगरवासी भन्दा पनि बगरबासी सुन्छौ ।’
माथि लेखिएको उद्धरण कार्टुनिस्ट अविन श्रेष्ठको कार्टुनकलाबारे लेखिएका शब्दहरु हुन् । जुन कार्टुन र शब्दहरुले उपत्यकामा खोला मिचेर बस्ती बसाएकै कारण पछिल्लो केही वर्षदेखि डुबानको चपेटामा परेका नगरबासीहरुलाई व्यङ्ग्य गरेको देखिन्छ ।
उपत्यकामा बगिरहेको खोलाको बाटो नै मिचेर थुप्रै भौतिक संरचनाहरु खडा गरिएका छन् । जसकारण खोलाले आफ्नो प्राकृतिक बाटो खोज्ने क्रममा हरेक वर्ष वर्षायाममा भक्तपुरस्थित थिमी, हनुमान घाट, काठमाडौँस्थित कपन तथा विष्णुमती, बागमती परिसर डुबानमा पर्दै आएका छन् । श्रेष्ठको कार्टुनले नगरबासीहरुकै कारण डुबानको समस्या उब्जिएकोले सचेत हुनुपर्ने कुरामा समेत जोड दिइएको छ ।
श्रेष्ठ मात्र नभएर थुप्रै कलाकारहरु कार्टुनकला, पोस्टर, चित्रकथा तथा दृष्टान्तचित्र कलाकृतिहरु मार्फत विपद् जोखिम र त्यसको न्युनीकरण सन्देश बोकेर अहिले एकसाथ आएका छन् । तिनै कलाकारका कलाकृतिहरु यतिबेला नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा प्रदर्शनरत छन् ।

‘विपद् जोखिम न्यूनीकरण प्रदर्शनी’ शीर्षकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना तथा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र नेपाल कार्टुनिस्ट क्लबको सहकार्यमा मङ्गलवारदेखि प्रदर्शनी थालनी गरिएको हो ।
प्रदर्शनीमा क्लबका अध्यक्ष तथा कार्टुनिस्ट वासु क्षितिज, रवीन्द्र मानन्धर, रवि मिश्र, सागर शाह लगायतका कलाहरुमा विपद् जोखिम र न्युनीकरण सन्देशहरु नै समेटिएका छन् । ती कला सिर्जनाहरुले आम मानिसहरुलाई व्यङ्ग्यात्मक रुपमा प्रकृति दोहनका दोषी ठहर्याउँदै विपद्बारे सचेत समेत गराएका छन् ।
कार्टुनकला, पोस्टर, चित्रकथा तथा दृष्टान्तचित्रहरुमा शीतलहर, बाढी, पहिरो, भूकम्प, चट्याङ जस्ता विपद्हरुहरुका साथै वातावरण प्रदुषण, भूक्षयकरणले अहिले पारिरहेको पक्षलाई निकै रोचक तथा घोचक तरिकाले चित्रण गरिएको छ । कार्टुनहरु मार्फत नै विपद्का समयमा कसरी सतर्कता अपनाउने भन्नेबारे समेत सचेनाहरु सन्देशहरु समेटिएका छन् ।
प्रतिष्ठानका सदस्यसचिव एवं कार्टुनिस्ट देवेन्द्र काफ्ले ‘थुम्केली’को कार्टुनमा जोखिमयुक्त जमीनमा प्लटिङ गर्दै बिक्री गर्ने प्रवृत्तिलाई व्यङ्य गरिएको छ । यस्तो प्रवृत्तिमा शक्ति र पहुँचवालाहरुकै हालीमुली रहेको पक्षलाई समेत उनले कार्टुनमा चित्रित स्केचमा देखाएका छन् ।
त्यस्तै, कलाकार शाहले आफ्नो सिर्जनामा विपद्का समयमा महामारी फैलन नदिन पानी शुद्धिकरण र सफाई भन्ने सचेतनालाई व्यङ्ग्यात्मक रुपमा सत्ता पक्षलाई नै प्रहार गरेका छन् । उनको कलामा डुबानमा परेर अस्थाइ त्रिपालमा बसिरहेका परिवारको अवस्थालाई देखाएको छ । जहाँ परिवारका सदस्यहरु डुबानको जलथलमै अन्य जनावरसँगै खाना, पानी, सौचालय एकै परिसरमा गर्न बाध्य भइरहेको देखिन्छ ।

उनले त्यही कार्टुनमै जोडेर खानेपानी शुद्धिकरण गर्ने तरिका, सौचालयमै सौच गर्नुपर्ने, फोहोर व्यवस्थापनलाई देखाउँदै ‘विपद्मा खानपिन र स्वास्थ्यमा झन ध्यान दिनुपर्छ’ भनेर लेखेका छन् । कार्टुनिस्ट मानन्धरले धुलो, धुँवा प्रदुषणकै कारण मानिसको स्वासप्रश्वास प्रणाली फोक्सोमा पारिरहेको असरलाई देखाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् न्यूनीकरणको सन्देश प्रवाहका लागि पछिल्लो समय कलाका विभिन्न फर्महरुलाई प्रयोगमा ल्याएको देखिन्छ । हालै मात्र मण्डला थिएटर सँगको सहकार्यमा कचहरी नाटक समेत प्राधिकरणले प्रस्तुत गरेको थियो ।
राष्ट्रिय विपद् न्यूनीकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्रदर्शनीमा राखिएका कलाले जोखिमका विविध पक्षका बारे उजागर गरेको बताए । उनले प्रदर्शनी अत्यन्तै प्रभावकारी भएको बताउँदै कलामार्फत अभिव्यक्त सन्देश प्रभावकारी हुने विचार व्यक्त गरे ।
उनले भने, ‘फूल, बालबालिका र कला सबैले मनपराउँछन् । यही भावलाई अङ्गीकार गर्दै कलामार्फत विपद् जोखिमका विषयलाई उठान गर्न खोजिएको हो ।’ गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसालले कार्टुन र चित्रले हजारौं पृष्ठले बोल्न नसकेका कुरा बोल्ने बताउँदै यसको सम्बन्धित क्षेत्रमा ज्ञान पु¥याउन सके अझ महत्वपूर्ण हुने सुनाए ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले दृश्यकलाका माध्यमबाट समाजका विविध विषयलाई रूपान्तरणसँग जोडेर लानुपर्ने बताउँदै विपद् न्यूनीकरणसम्बन्धी सन्देश तल्लो तहसम्म लैजान जरुरी भएको बताए ।
उनले भने, ‘कलामार्फत सामाजिक सन्देश प्रवाह गर्न प्रतिष्ठानले काम गरिरहेको छ । यस प्रदर्शनीमार्फत विपद्का विषयमा सन्देश दिन र जागरण ल्याउन सहयोग मिल्ने आशा लिएका छौं ।’
प्रतिष्ठानका सदस्य सचिव थुम्केलीले प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी कलाकारहरूले रङ र कुचीका माध्यमबाट सचेतना जगाउने काम गरेको बताए । उनले कलामार्फत मानव तथा प्रकृतिलाई बचाउन के–कस्तो भूमिका खेल्न सकिन्छ र यसलाई सामाजिक जागरणको अभियानमा कसरी लान सकिन्छ भनेर सोच्नुपर्ने धारणा राखे ।

‘कलामार्फत विपद् र त्यसका जोखिमका विषयलाई सन्देशमूलक ढङ्गले उठान गर्न खोजिएको हो । यसमा कलाकारले निकै मिहिनेतका साथ कलाकृति रचना गरेका छन् । जुन सामाजिक सन्देश दिन र जागरण ल्याउन सहयोगी सिद्ध हुने आशा राख्न सकिन्छ,’ उनले भने ।
कार्टुनिस्ट क्लबका अध्यक्ष क्षितिजका अनुसार सामाजिक रुपान्तरण र जागरणमा कलालाई जोडेर लैजाँदा सकारात्मक प्रभाव पर्न सक्छ । वास्तुकला तथा अन्य सिर्जनात्मक(बहुआयामिक) कला विभाग प्रमुख तथा कार्यक्रम संयोजक सौरगंगा दर्शनधारीले कलाले समाजमा भइपरी आउने विभिन्न विपद् र जोखिमका बारेमा सचेतना जगाउन भूमिका खेल्ने धारणा राखिन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया