काठमाडौँ– शुक्रबार साँझदेखि परेको वर्षा आइतबारसम्म पनि जारी छ । लामो समय लगातार परेको पानीले शनिबार अधिकांश स्थानमा बाढी, पहिरो तथा डुबानको समस्या बढेको छ ।
तुलनात्मक तुलनामा आइतबार डुबानको समस्या केही रुपमा कम भए पनि बाढी पहिरोको घटना भने उस्तै उस्तै छ । शनिबार काठमाडौँ र भक्तपुरको विभिन्न स्थान डुबानमा परेका थिए ।
नदी तथा खोलामा पानीको बहाव बढेपछि काठमाडौँ उपत्यकाका बागमती नदी क्षेत्र, शंखमुल क्षेत्र, मनोहरा, विष्णुमती, हनुमन्तेलगायत क्षेत्र वरिपरिका सडकमा पनि खोला बगेको थियो । साथै हनुमन्ते क्षेत्रको बस्ती, बल्खुको तरकारी बजार, बागमतीको सुकुम्बासी बस्तीहरु डुबानमा परेका थिए ।
काठमाडौँमा पहिरोबाट एक जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
शुक्रबारदेखि भएको वर्षाबाट उता भक्तपुरको हनुमानघाट, सूर्यविनायकको राममन्दिर, बाराहीस्थान क्षेत्रलगायतको बस्तीमा पानी पसेको थियो । साथै चाँगुनारायण नगरपालिकाको विभिन्न क्षेत्रमा पहिरो गएको छ ।
असार २१ गतेदेखि सुरु भएको वर्षा आगामी २७ गतेसम्म रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाका २७ गतेसम्म मुलुकभरका सबै प्रदेशमा पानी पर्ने सम्भावना छ । लामो समयसम्म लगातार पानी पर्ने भएकोले शाखाले सर्तकता अपनाउन समेत अनुरोध गरेको छ ।
नदी खोलामा पानीको बहाव बढेपछि कोशी र गण्डकीसबै ढोकाहरु खोलिएको छ । पानीको बहाब उच्च हुँदा कोशी ब्यारेजका ५६ वटै ढोका विहान ९ बजेदेखि नै खोलिएको छ । बिहान ९ बजेको मापन अनुसार कोशीमा पानीको बहाव प्रतिघण्टा तीन लाख ६८ हजार ६७० क्युसेट पुगेको थियो ।
सप्तकोशी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेट पानी धान्न सक्ने भए पनि सर्तकता अपनाउनका लागि कोशी ब्यारेजमा रातो झण्डा गाडिएको छ ।
उता महाकाली नदीमा पनि पानीको बहाव बढेपछि शारदा ब्यारेजमा आइतबार बिहानदेखि सवारी साधन आगमनमा निषेध गरिएको छ ।
लगातार वर्षाका कारण काठमाडौँ उपत्यकामा डुबानसँगै पहाडी क्षेत्रमा बाढी पहिरो गइरहेको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चार पाङ्ग्रे सवारी साधन चलाउन रोक लगाइएको हो ।

सडक अवरुद्ध
लगातार परेको पानीले गर्दा पहाडी क्षेत्रका विभिन्न राजमार्ग पहिरोबाट अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।
शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बझाङ र बैतडीको सिमाना नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । शनिबार रातिदेखि बझाङबाट धनगढी, महेन्द्रनगर आउजाउ गर्ने सवारी साधन बाटोमै रोकिएका छन् ।
लगातारको वर्षाले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । वर्षाबाट ठाउँ ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
वर्षाकै कारण सप्तरीको राजविराज–कञ्चनपुर सडकखण्ड आवागमन ठप्प भएको छ । वर्षाको कारण माहुली खोलामा आएको बाढीले तिरुहुत गाउँपालिका वडा नम्बर २ स्थित पुल बगाएपछि सवारीसाधन आवागमन अवरुद्ध भएको हो ।
बर्षासँगै आएको पहिरोले अर्घाखाचीको गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । बहोखर र दहखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
यस्तैगरी, पर्वतको कुश्मा नगरपालिकाको मादढुंगामा खसेको पहिरोले म्याग्दी तथा मुस्ताङलाई राष्ट्रिय राजमार्ग अवरुद्ध भएको छ । बाढीले चितवनको न्युरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।
लगातार वर्षाका कारण देशभर ४५ भन्दा बढी स्थानमा पहिरो गएको छ ।

देशभरबाट १४ जनाको मृत्यु
शुक्रबारदेखि परेको बर्षासँगै आएको बाढी, पहिरो तथा डुबानबाट मुलुकभर १४ जनाको मृत्यु भइसकेको छ । विपत्जन्य घटनामा परेर हालसम्म तीन जना बेपत्ता तथा १८ जना घाइते भएको केन्द्रीय प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार दाङमा एक जना, काठमाडौँमा एक जना, पाल्पामा एक जना, उदयपुरमा एक जना, पर्वतमा दुई काभ्रेपलाञ्चोबकम दुई र स्याङ्जामा तीन गरी १४ जनाको मृत्यु भएको हो ।
वर्षाका कारण उपत्यका लगायत नदी क्षेत्रमा पानीको बहाव बढेकोले जोखिम कायम छ । सम्भावित जोखिमलाई लक्षित गरी प्रहरीले खोला किनार क्षेत्रमा गस्ती गर्दै आएको छ ।
आज पनि वर्षा भइरहेकोले गण्डकी, कोशी, नारायणीलगायत ठूला नदीमा पानीको बहाव बढेको छ । त्यसैले थप सर्तक हुनको लागि पनि सम्बन्धित निकायले अनुरोध गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया