काठमाडौँ– खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले ‘पद्मश्री साहित्य पुरस्कार–२०८०’ का लागि पहिलो चरणको विस्तारित सूचीमा पर्न सफल भएका १५ पुस्तकहरुको नाम सार्वजनिक गरिसकेको छ ।
सूचीमा परेका ती पुस्तकहरुमा कुमार नगरकोटीको जोगियाना, कृष्ण गौतमको अद्वैत, रोशन शेरचनको गल्ली संसार, विष्णु सापकोटाको अडिएका पाइला, सानु शर्माको अर्को देशमा, विश्व कुइँकेलको गोपीचा, भानु बोखिमको गोधूलि गीत, चिरञ्जीवी वाग्लेको बहादुर शाह, राजेन्द्रमान डंगोलको बादलडाँडा, सुमिनाको बागी स्त्रीको आत्मकथा, गोपी सापकोटाको लन्डन अनप्लग्ड, अरुण गुप्तोको संस्कृति चिन्तन, गोविन्दप्रसाद कुसुमको भृकुटी, भुवनहरि सिग्देलको साखेजुङको उकालो र अखण्ड भण्डारीको बोरा रहेका छन् ।
हामीले पहिलो चरणको विस्तारित सूचीमा पर्न सफल १५ पुस्तकहरुबारे जानकारी सारसङ्क्षेपमा प्रस्तुत गरेका छौं ।

जोगियाना
जोगियाना कुमार नगरकोटीको संस्मरण कृति हो । नगरकोटीको दशौं कृतिका रुपमा गत मङ्सिर महिनामा विमोचन भएको यसमा १९ वटा संस्मरण समावेश छन् । नगरकोटीले आफ्नो पछिल्लो यस कृतिलाई यादहरूको बहिखाताक रुपमा परिभाषित गरेका छन् ।

अद्वैत
प्राध्यापक कृष्ण गौतमले आफ्नो उपन्यास ‘अद्वैत’ मा दर्शनलाई आख्यानको रुप दिएका छन् । जसलाई समीक्षकहरुले दार्शनिक उपन्यासको उपमा दिएका छन् । गौतमले ‘अद्वैत’लाई विज्ञानको उदय हुनुभन्दा पहिला मानव मनिषीहरूले आविष्कार गरेको खँदिलो सत्यका रुपमा व्याख्या गरेका छन् । मानव, प्रकृति, दर्शन र ज्ञानलाई उपन्यासमा निकै रोचक ढङ्गमा प्रस्तुत गरिएको छ ।

गल्ली संसार
रोशन शेरचनको कृति ‘गल्ली संसार’ निबन्ध संग्रह हो । वातावारणीय विज्ञानमा विद्यावारिधि गरेका शेरचनको यो छैटौं कृति हो । उनले कविता र निबन्ध विधामा कलम चलाउँदै आएका छन् । वैचारिकी, पर्यावरण, स्मृति र यात्रा गरेर चार खण्डमा तयार गरिएको संग्रहमा साहित्य, विज्ञान, समाज, व्यवस्था र प्रविधिको अन्तरसम्बन्धबारे १४ वटा निबन्ध समावेश गरिएका छन् ।

अडिएका पाइला
सशक्त राजनीतिक विश्लेषण अनि प्राज्ञिक तथा दार्शनिक बहसहरु प्रखर वक्ताका रुपमा चिनिएका विष्णु सापकोटाको ‘अडिएका पाइला’ पहिलो उपन्यास हो । उपन्यासमा क्याम्पस अध्ययनरत युवा पुस्ता पात्रका विविध आयाम र उतारचढावहरुलाई उल्लेख गरिएको छ ।

अर्को देशमा
‘अर्को देशमा’ सानु शर्माको दोस्रो कथासङ्ग्रह हो । कथा एवं उपन्यास विधामा कलम चलाउन उनको यसअघि ‘एकादेशमा’ कथासङ्ग्रह, ‘अर्धविराम’ लगायत उपन्यासहरु प्रकाशित छन् । यस सङ्ग्रहमा मानिसमानिस बीचका सम्बन्धका अनेक आयामहरू समेटिएका छन् । विशेषतः समाजमा भइरहेका तर नहुन् भन्ने चाहना राखिएका व्यवहार र घटनाहरूलाई कुनै नारा नलगाई, कसैलाई गाली नगरी कुशलतापूर्वक देखाइएका कथाहरू यसमा समाविष्ट भएका छन् ।

गोपीचा
विश्व कुइँकेलको ‘गोपीचा’ ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास कृति हो । राणाकालीन समयमा एक बाहुनले गरेको जातीय विद्रोहमाथिको विषयवस्तुलाई कृतिमा समेटिएको छ । लेखकले यसमा ऐतिहासिक विषयवस्तुसँगै तत्कालीन सामाजिक परिवेशको चित्रण गरेका छन् ।

गोधूलि गीत
भानु बोखिमको ‘गोधूलि गीत’ दश वर्षे सशस्त्र युद्धको पृष्ठभूमिमा लेखिएको उपन्यास कृति हो । लेखक बोखिमले यसमा युद्धका कथालाई सरल भाषामा दस्तावेज बनाउने जमर्को गरेका छन् ।

बहादुर शाह
चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ ऐतिहासिक पात्र बहादुर शाहमाथि लेखिएको उपन्यास हो । पृथ्वीनारायण शाहको राज्य विस्तारको कदमलाई निरन्तरता दिने बहादुर शाहको राज्य विस्तारको योगदान, उनको जीवन र सङ्घर्षबारे उपन्यासमा समेटिएको छ ।

बादलडाँडा
नियात्राकार राजेन्द्रमान डंगोलको ‘बादलडाँडा’ नियात्रा सङ्ग्रह हो । कृतिमा डंगोलले पर्यावरण संरक्षण र स्थानीय जनजीविकाका सबालमा आत्मपरक शैलीमा लेखेका छन् ।

बागी स्त्रीको आत्मकथा
‘बागी स्त्रीको आत्मकथा’ कवि सुमिनाको पहिलो कविता सङ्ग्रह हो । कृतिमा उनले उत्पीडित समुदायको आवाजलाई कविता मार्फत बुलन्द गरिदिएकी छिन् । कविताहरुका आएका भावहरु वैचारिक रुपमा प्रष्ट र वैचारिक धारमाथि नै हस्तक्षेप गर्नेे खालका छन् ।

लन्डन अनप्लग्ड
नाटककार एवं आख्यानकार गोपी सापकोटाको ‘लन्डन अनप्लग्ड’ गैरआख्यान कृति हो । यसमा उनले आफू नेपालबाट बेलायत हिँडेपछि नेपालबाट छुट्टिएको तर बेलायतसँग जोडिन नसकेको अनप्लग्ड समय र जीवनको बारेमा लेखेका छन् ।

संस्कृति चिन्तन
प्राध्यापक अरुण गुप्तोको ‘संस्कृति चिन्तन’मा संस्कृति र दर्शनका विषयमा उल्लेख गरिएको छ । कृतिमा कलाको पाटोबाट संस्कृतिको चिन्तन गरिएको छ । यसभित्र अन्तर्वार्ता, कुराकानीमा आधारित लेख र पच्चीस वटा निबन्धात्मक रचना समेटिएका छन् ।

भृकुटी
गोविन्दप्रसाद कुसुमको ‘भृकुटी’ मा ऐतिहासिक पात्र भृकुटीलाई आख्यानमा समेटिएको छ । हरित ताराले चिनिने सातौँ शताब्दीकी नेपाली राजकुमारी भृकुटीको जीवनगाथा र त्यस समयको परिवेश उपन्यासमा उल्लेख गरिएको छ । भृकुटी इतिहासका तथ्यहरूको जगमा उपन्यास उभिएको छ ।

साखेजुङको उकालो
भुवनहरि सिग्देलको ‘साखेजुङको उकालो’ कृतिमा सिग्देलले भोगेका जीवनका अनुभवहरु, अभाव, दबाव र सङ्घर्षहरुलाई समेटिएकी छिन् । साँखेजुङको उकालोमा सिग्देलले देखेभोगेको समय त्यहाँको सभ्यता, लोकजीवन, संस्कृतिलाई सरल ढङ्गले चित्रण गरेकी छिन् ।

बोरा
पत्रकार तथा लेखक अखण्ड भण्डारीको ‘बोरा’ उपन्यासमा आधुनिक समाजमा आमाहरु सन्तानबाट नै उक्लो र अलगिनुपर्ने कथालाई समेटेका छन् । सत्य घटनामा आधारित उक्त कृति उनको दोस्रो उपन्यास हो । यस अघि उनले ‘मलाया एक्सप्रेस’ प्रकाशित गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया