काठमाडौँ– अविरल वर्षाका कारण नेपालभर जनजीवन अस्तव्यस्त बनेको छ । काठमाडौँसहित नेपालका विभिन्न भागमा दिनभर परेको झरीले जनजीवन अस्तव्यस्त बनाएको हो ।
निरन्तरको पानीले नेपालका राजमार्गहरु अवरुद्ध भएका छन् । बाढी पहिरोका कारण विपी, पासाङ ल्हामु, सिदार्थ राजमार्ग र मध्यमहाडी लोकमार्ग अवरुद्ध बनेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार ललितपुरको कान्ति लोकपथ सडक खण्ड र काठमाडौँमा चित्लाङ मकवानपुर सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
यस्तै कोशी प्रदेशमा संखुवासभामा दक्षिण कोशी राजमार्ग र कोशी राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएका छन् । बाढीका कारण अवरुद्ध भएका यी दुई राजमार्ग निरन्तर वर्षा नरोकिएसम्म नखुल्ने जनाइएको छ । यस्तै, उदयपुरको सिद्धिचरण राजमार्ग अवरुद्ध भएपनि अहिले खुलिसकेको जनाइएको छ ।
बाग्मती प्रदेशमा रसुवाको स्याफ्रुबेशी–थाम्बुचेत सडक खण्ड पनि अवरुद्ध भएको छ । यो सडक खण्ड खुल्न अझै आठ दश दिन लाग्ने प्रहरीले जनाएको छ ।
त्यसैगरी पहिरोका कारण मकवानुपरको चखेल र देउराली जाने सडक, कान्ती लोकप, दक्षिणकाली सडक, भीमफेदी–काठमाडौँ सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । तीमध्ये दक्षिणकाली सडक खुलिसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै सिन्धुलीमा पहिरोका कारण विपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ भने मध्यपहाडी लोकमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
प्रहरीका अनुसार मुख्य राजमार्गहरु पनि पहिरोका कारण अवरुद्ध भएका छन् । कर्णाली राजमार्गका कतिपय स्थानमा पूर्ण रुपमा अवरोध भएको छ ।
पृथ्वी राजमार्ग र महेन्द्र राजमार्ग भने सञ्चालनमा आइरहेको र अविरल वर्षाका कारण अस्तवस्त भएको बताइएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया