काठमाडौँ – दाँत सफा नहुँदा मुखको समस्या मात्र नभई शारीरिक तथा अन्य समस्या पनि त्यत्तिकै निम्त्याउँछ ।
दाँत सफा नहुँदा मुखमा भएका ब्याक्टेरिया पेटमा पुगी झाडापखाला लाग्नु, बान्ता आउनु, ज्वरो आउनु इत्यादि समस्या देखिन्छन् ।
तसर्थ दाँतको सफाइ मुखको स्वास्थ्यका लागि मात्र नभई पूर्ण शारीरिक स्वास्थ्यका लागि महत्त्वपूर्ण मानिन्छ । तर के तपाईँलाई दाँत माझ्ने सही तरिका थाहा छ ? आज हामी यसै विषयमा चर्चा गर्दै छौँ ।
दाँत माझ्दा सबैभन्दा पहिले त ब्रसमा मन्जन चाहियो । तर धेरै मन्जन लगाउनु भनेको खेर फाल्नु मात्र हो। धेरै मन्जनले दाँत चम्काउने होइन। मन्जन धेरै हाल्नाले दाँतमा फ्लोराइड जम्छ र राम्ररी सफा नगर्ने हो भने दाँतमा सेता र काला धब्बा देखिन सक्छन्।
त्यस्तै आफ्नो ब्रसलाई गिजाबाट ४५ डिग्रीको एंगलमा राख्नुहोस्, गम लाइनबाट टाढा राखेर ब्रस गर्नुहोस्। पहिले माथिको दाँत र त्यसपछि तल्लो लहरको दाँत ब्रस गर्नुहोस्। ब्रसलाई गोलो आकार दिँदै दाँतमा घुमाउनुहोस्।
ब्रस गर्दा हात हल्का बनाउनुहोस्। दाँतबाहिर, भित्र र चपाउने बङ्गारामा सफा गर्नुहोस्। दाँतलाई भित्रबाट सफा गर्न ब्रसलाई माथि तल गरेर पल्टाउनुहोस्।
यदि तपाईँको बिहान हतारमा ब्रस गर्ने बानी छ भने यसो नगर्नुहोस्। कम्तीमा दुई मिनेट ब्रस गर्नु निकै आवश्यक छ। दुई मिनेट ब्रस गर्दा दाँत स्वस्थ राख्न मद्दत मिल्छ।
दाँतसँगै जिब्रो पनि सफा गर्नुहोस्। जिब्रो सफा गर्न टङ क्लिनरको प्रयोग गर्न सक्नुहुनेछ। यसबाट जिब्रोको ब्याक्टेरिया र श्वास गन्हाउने समस्या हट्छ।
हरेक तीन महिनामा ब्रस बदल्नुहोस् ब्रस गरेपछि पानीले राम्ररी कुल्ला गर्नुहोस् र धोएर राख्ने गर्नुहोस्। दन्त रोग विशेषज्ञका अनुसार तीन महिनामा ब्रस बदल्नुपर्छ।
महत्त्वपूर्ण कुरा के भने दिनमा दुई पटक ब्रस गर्नु फाइदाजनक हुन्छ। जब राती सुतेपछि ब्रस गर्दा मुखमा ब्याक्टेरिया सजिलैसँग आक्रमण गर्न सक्छ। यसबाट बच्न राती ब्रस गरेर सुत्नुहोस् र बिहान ब्रेकफास्टभन्दा पहिले गर्नुहोस्। दिउँसो लन्च गर्नुअघि ब्रस गर्न सक्नुहुन्छ। तर, दैनिक तीन पटकभन्दा बढी ब्रस गर्नुहुन्न। धेरै पटक ब्रस गर्दा गिजामा नोक्सान पुग्न सक्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया