टक्सार ‘भोजपुर’ – कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको
छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी उक्त घोषणा गरिसकेका थिए ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राईले आज जिल्लालाई औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरे ।
जन्मिएदेखि १५ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै १३ किसिमका खोप लगाएको पाइपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख राजुकुमार श्रेष्ठले बताए । उनले भने, “आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप लगाउन सबैको समन्वय र सहकार्य आवश्यक छ ।”
आगामी दिनमा खोप अभियानलाई निरन्तरता दिँदै खोप लगाउनबाट कसैलाई पनि वञ्चित नगरिने बताउँदै खोप समन्वय समितिका संयोजक राईले महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यर्कीले गरेको सहयोगको प्रशंसा गरे । “पहिलो चरणमा गाली खाने महिला स्वास्थ्य स्वयम्सेविका भएकाले उनीहरुले पूर्ण खोप घोषणाका लागि गरेको काम निकै उदाहरणीय र प्रशंसायोग्य छ”, उनले भने ।
सो अवसरमा जिल्लाका नौ वटै स्थानीय तहलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ । प्रदेशभित्रका १४ जिल्लामध्ये भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छैटौँ जिल्ला हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया