मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

झापाका तीन स्थानमा स्वचालित पूर्वसूचना प्रणाली जडान

काठमाडौँ – बाढीको उच्च जोखिममा रहेका झापाका तीन स्थानलाई लक्षित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वचालित पूर्वसूचना प्रणाली (साइरन) जडान गरेको छ।

कनकाई र विरिङ नदीमा पानीको बहाव बढेसँगै स्वचालित साइरनले जडान गरिएको स्थानबाट करिब दुई किलोमिटर क्षेत्र वरपरका सर्वसाधारणलाई सचेत गराउने प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए। 

उनका अनुसार जिल्लामा बाह्रदशी गाउँपालिका–१ को भागुडुब्बा, झापा गाउँपालिकाको सडकवारि र गौरीगञ्ज गाउँपालिकाको कुञ्जिवारीमा स्वचालित साइरन जडान गरिएको छ। उक्त साइरन स्कुलको छतमा जडान गरिएको छ।

प्रवक्ता भट्टराईले बहुप्रकोपीय स्थानको अध्ययन अनुसन्धान गरेर रेडक्रस सोसाइटीको सहकार्यमा पूर्व सूचना प्रणाली देशभर जडान गरिएको बताए। बाढीको उच्च जोखिममा रहेका देशभरका ६० स्थानमा परीक्षणका लागि स्वचालित साइरन जडान गरिरहेको उनले बताए।

कनकाईमा रहेको वर्षा मापन यन्त्रले जल सतह तीन दशमलव आठ मिटरमाथि पुगेपछि एसएमएस पठाउने गरेको छ, यसैका आधारमा साइरनको आवाजले स्थानीयवासी सूचित हुनेछन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार जल सतह पाँच दशमलव दुई मिटरलाई सतर्कता तह मानिन्छ भने पाँच दशमलव छ मिटरलाई खतराको तह मानिन्छ।

यसअघि जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको तटीय क्षेत्रका कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका गौरीगञ्ज र झापा गाउँपालिका गरी चार पालिकाका १२ वडाका १५ बस्तीमा बाढीको पूर्वसूचना दिन १० वर्षअघि नै मानव परिचालित साइरन जडान गरिएको नेपाल रेडक्रस सोसाइटीका विपद् व्यवस्थापन फोकल पर्सन हरिकृष्ण खड्काले बताए।

झापा र इलामको सिमाना मैनाचुलीमा जलमापन केन्द्र र गैंडेमा बाढी मापन केन्द्र उपकरण जडान गरिएका छन्। ती केन्द्रले वर्षा र जल सतह मापन गरेर बाढी आउने पूर्व जानकारी मोकाइल र इन्टरनेटबाट स्थानीय समुदायलाई एसएमएसबाट पठाउने गरेका छन्। त्यही एसएमएसका आधारमा गाउँमा साइरन घन्काउने गरिएको उनले बताए।

यसैगरी, दुई महिनाअघि मात्र निन्दा र विरिङ नदीका पुलमा समेत जल तथा मौसम विज्ञान विभागले बाढी मापन उपकरण जडान गरेको छ। दुवै नदीमा जडान गरिएका उपकरणका लागि वर्षा मापन प्रणाली भने बनाउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?