काठमाडौँ– यतिबेला थापागाउँस्थित मण्डला थिएटरमा नाट्य महोत्सव ‘म्याड फेस्ट– २०२४’का लागि तिव्र तयारी चलिरहेको छ ।
मण्डला थिएटरकै मञ्चबाट नाट्य ज्ञान र अनुभव लिएका युवा रङ्गकर्मीहरुको अग्रसरतामा नै महोत्सव हुन गइरहेको छ । असार २१ गतेदेखि २३ गतेसम्म हुने महोत्सवका लागि मण्डलाकै युवा रङ्गकर्मीहरुको लेखन, निर्देशन तथा प्रस्तुतिमा ६ वटा नाटकहरु मञ्चन हुनेछन् ।
महोत्सवका लागि प्रशंसितको लेखन र संयाेग गुरागाइँको निर्देशनमा ‘रेल्वे टु नोव्हेर,’ अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर,’ श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी,’ प्रविण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा,’ प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ र सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ छनोटमा परेका छन् ।
यी युवा रङ्गकर्मीहरुले नाटक मार्फत नै समकालीन समय, समाज र मुद्दालाई उठान गर्दै आफ्नो कुरा पनि भन्ने जमर्को गरेका छन् । यी नै युवा रङ्गकर्मीहरुको युवा जोसले ‘म्याड फेस्ट’ विशेष हुने आयोजक टोलीले आशा राखेका छन् ।
छनोट गरिएका ६ वटा नाटकहरुमध्ये ‘शिल्पिनी’ र ‘अगम’ लिएर दुई जना रङ्गकर्मीहरु वेदना र प्रितिशा नाट्य निर्देशनमा पहिलो पाइला राख्दैछन् ।
नेपाली रङ्गमञ्चमा महिला लेखक तथा निर्देशकको संख्या न्यून मात्रामा रहेको अवस्थामा यी दुवैको उपस्थितिलाई निकै सुखद मान्न सकिन्छ । यी दुवै जना नाटक मार्फत आफ्नै कथाहरु भन्न निकै जुर्मुराएर आएका छन् ।
दुवै भन्छन्, ‘नाटक मार्फत हामी आफ्नो कथा भन्न आएका छौं । हाम्रो कथा आमीले नै नभने अरु कसले भनिदिन्छ ?’ श्रेया सिंहको लेखन रहेको नाटक ‘शिल्पिनी’को निर्देशन वेदनाले गर्दैछिन् भने ‘अगम’को लेखन तथा निर्देशन प्रितिशाको छ ।
निर्देशक वेदनाका अनुसार नाटक ‘शिल्पिनी’ले कलाकार महिलाहरुकै बारेमा बोल्छ । साथै नाटकले महिला सशक्तिकरणको पक्षमा समेत वकालत गरेको छ ।
कला क्षेत्र होस् या जुनसुकै ठाउँमा महिलालाई हेरिने दृष्टिकोण, महिलाका लागि बनाइएका सीमित दायराहरु विरुद्ध उनले नाटकमा आवाज उठान गरेकी छिन् । उनलाई लाग्छ, महिला भएर कहाँ र कसरी अगाडि बढ्नुपर्छ भनेर आफैंले बाटो बनाउन गाह्रो छ ।
छोरी मान्छेलाई घरै बस्न समाजले सिकाएको छ । छोरीको कथा छोरीमान्छेले अझ स्पष्ट रुपमा बुझ्न र भन्न सक्छ कि भन्ने आशाले उनी अगाडि बढेकी छिन् ।
हुन त उनको नाट्य क्षेत्रमा त्यति धेरै समयको अनुभव छैन । खोटाङकी उनले तीन/चार वर्षको अवधिमा ‘मितज्यू,’ ‘चोरको स्वर,’ ‘खुवालुङ,’ ‘बुद्ध भिकारी,’ ‘ब्युँझिएको सिरानी’ र ‘बाखाम्मा’ जस्ता नाटकमा अभिनय कला देखाएकी छिन् ।
‘खुवालुङ’ मा हाङ्छामा होस् या ‘बाखाम्मा’ नाटकमा बाखाम्मा जस्ता बलिया र सशक्त महिला पात्रहरुको भूमिका निर्वाह गरेकी छिन् । खेलिएका अधिकांश नाटकहरु आफ्नै किराती संस्कृति र सभ्यताबारे भएकाले उनले यसबाट धेरै कुरा त आफ्नै समुदायकाबारे सिकिन् र अझै बलियो भएर आइन् ।
भन्छिन्, ‘खुवालुङमा हाङ्छामा र बाखाम्मा नाटकमा बाखाम्मा जस्ता छोरामान्छेभन्दा बलियो छोरीमान्छे पात्रहरु छन् । यसैले मलाई अझै बलियो हुन सिकायो । नाटकहरु खेल्दै गर्दा मैले मेरो कल्चरका कति धेरै कुराहरु सिकेँ, जुन मलाई केही थाहा थिएन ।’
प्रितिशालाई पनि नाटक ‘अगम’ विशेष छ । झापा बिर्तामोडकी उनी २ वर्षदेखि थिएटरमै छिन् । उनी मण्डला थिएटरको १० औं ब्याचकी विद्यार्थी हुन् । मण्डलामा तीन महिना अध्ययनपछि उनले भारतमा गएर ‘अनुपम खेर एक्टिङ स्कूल’सम्म पुगेर तीन महिनाको थिएटर कोर्ष अध्ययन गरिन् ।
दुई वर्षको अवधिमा ‘सुनकेशरी,’ ‘ज्ञानको चिहान’ लगायत नाटकमा उनी देखिएकी छिन् । ‘अगम’ मा भने उनले केही समय अघि मात्र थापाथलीस्थित प्रसूति गृहमा बच्चा चोरी भएको घटनालाई देखाउन खोजेकी छिन् । बच्चा चोरी गरेकी महिलाको सामाजिक तथा मानसिक दृष्टिकोणबाट उनले नाटकमा कथा बुनेकी छिन् ।
एउटी महिला आमा बन्न नसकेपछि परिवार र समाजको दबाब कुन स्तरको हुन्छ, महिलाको मानसिक अवस्था कस्तो हुन्छ र त्यही मानसिक आवेगले कसरी उनी आपराधिक काममा होमिन्छिन् भन्ने पाटोबाट उनले नाटकको उठान गरेकी छिन् । महिलाको आँखाबाट भनिएको कथाले महिलाहरुको पीडामा केही हदसम्म मलम लगाउन सकिन्छ कि भन्ने उनको आशा छ ।
भन्छिन्, ‘हाम्रो समाजमा महिला सधैं सही मात्र हुनुपर्छ भनिन्छ । महिला सधैं सुशिल, उही स्तर र उही तहमा अडिग भएर बस्नुपर्छ मान्यतालाई केही चेन्ज गर्नुपर्छ भन्ने हिसाबले यसमा काम गरेको छु । यसमा म निकै आशावादी छु ।’
थिएटरकै लागि तीन वर्षअघि काठमाडौँ छिरेकी उनी महिलाका कुरा महिला नै भएर बुझ्न महिला सर्जकहरु नै चाहिन्छ भन्ने मान्यता राख्छिन् । सानैदेखिको सपना अभिनेत्री बन्नु हो । नेपालमा हिरोइन र अभिनेत्रीको परिभाषामा उनी निकै फरक देख्छिन् ।
हिरोइनलाई ग्लामरभन्दा बाहेक अभिनयमा प्राथमिकता दिँइदैन । ‘मलाई हिरोइन र एक्ट्रेस मात्र पनि होइन, त्यो बिचमा रहेको ग्यापलाई ल्याउने कलाकार बन्नुछ,’ उनी भन्छिन् ।
कथा जसको र जसरी आएपनि महिला र पुरुष दुवैले भन्नुपर्छ भन्ने सोच वेदनाको छ । उनका अनुसार छोरामान्छेले पनि छोरी मान्छेको कथा भन्नुपर्छ । ‘यहाँ छोरामान्छे र छोरीमान्छेभन्दा पनि मेन्टालिटी भर्सेज मेन्टालिटीको वार हो,’ उनी सुनाउँछिन् ।
तीन महिनाको थिएटर अध्ययनपछि नाटक सिर्जनाले नै उनीहरुलाई धैर्यता र अनुशासित हुन सिकाएको छ । प्रितिशालाई थाहा छ, थिएटरमा आउने बित्तिकै सबै कुरा हुँदैन । तर धैर्यताका साथ अगाडि बढेमा हुन्छ भन्ने मानसिकता लिएरै उनी अगाडि आएकी छिन् ।
अहिले सबै मान्छेलाई हतार छ । थिएटरमा आउनहरुलाई पनि नतिजा छिटो चाहिएको छ र गरिएको काम देखिहालोस् भन्ने छ । वेदनालाई पनि शुरुमा त्यस्तै नै थियो । उनलाई अहिले पहिला जस्तो हतारो छैन । उनले थिएटर र नाटक बुझ्दै गएकी छिन् । थिएटरमै उनलाई एक खालको रमाइलो लाग्न थालेको छ ।
नाटक मार्फत नै सबैको कथा भन्ने यी दुवै रङ्गकर्मीहरुको लक्ष्य छ । दुवैलाई अहिले थिएटर घर जस्तो लाग्न लाग्न थालेको छ । यही घरमा बसेर अझै धेरै आफ्नै कथाहरु भन्ने दुवैले सपनाहरु देखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया