खानामा कपाल पर्नु, झर्नु वा भेट्टिनु साधारण कुरा हो । शरीरकै अंग भएकाले खानामा कपाल पर्नु कुनै नौलो कुरा होइन ।
खाना तयार पार्दा, पकाउँदा, पस्किदा वा खाना लाग्दा कहिँकतैबाट पनि खानामा कपाल पर्न सक्छ । तर खानामा कपाल पर्दा वा भेटिँदा धेरैलाई घिन लाग्छ ।
यसरी खानामा कपाल पर्दा कसैले यसलाई झिकेर फ्याँक्छन् र खाना खान्छन् भने कतिले घिनका कारण खाना नै फ्याँकिदिन्छन् । तर खानामा कपाल परेकै कारण खाना फ्याँक्नु वा कपाल फ्यालेर खाना खानु कुन उचित होला ?
कपाललाई खानु राम्रो हुँदैन । तर कहिलेकाहीँ भुलवश खानासँगै कपाल निलिन्छ । यसरी निलिएको कपाल घाँटीमा नै अड्किएमा यसले समस्या पार्न सक्छ । यस्तोमा चिकित्सकको परामर्श लिनु पर्दछ ।
कुनै खतरनाक रोगका सङ्क्रमित वा गम्भीर रोगको जोखिम भएका मानिसको कपाल परेको खण्डमा बाहेक र आफूलाई सङ्क्रमणको खतरा छैन भने खानामा परेको कपाल फ्याँकेर खाना खाँदा हुन्छ । खानामा कपाल झरेकै कारण सबै खाना फ्याँक्नु उचित हुँदैन ।
केही सामाजिक मान्यता अनुसार कपाल निलिएमा आन्द्रामा बेरिने, खाना बनाउँदा कपाल परेमा परिवारका सदस्य रोगी हुने गर्दछन् । तर यो प्रमाणित भएको विषय भने होइन । यस्तै केही धार्मिक विश्वास अनुसार खानामा कपाल भेटिनु अशुभको सङ्केत मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया