सामान्यतया महिनावारी २८ दिन देखी ३५ दिनभित्रको समयअवधीमा हुने गर्छ । यदि यो समय कट्यो भने महिनावारी गडबडीको समस्या भएको बुझिन्छ ।
हर्मोनको गडबडीका कारण महिलाहरूमा महिनावारी अनियमित हुने गर्छ । तर कहिलेकाहीँ खानपानका कारण पनि महिनावारी गडबड हुनसक्छ ।
पोषण तथा सन्तुलित खानाको अभावमा महिलाहरू कमजोर हुन्छन् साथै धेरै मोटाउँदा तथा दुब्लाउँदा पनि शरीरमा महिनावारी गराउने तत्त्व घटबढ भई महिनावारी अनियमित हुन्छ ।
यसैगरी तनावका कारण पनि महिनावारीमा उतारचढाव आउँछ । बढी तनाव हुँदा पनि महिनावारीमा उतारचढाव आउँछ । पाठेघरको विभिन्न समस्याका कारण पनि महिनावारी गडबड हुन सक्छ । यसकारण निम्नानुसारको खानेकुराहरूको सेवन गर्नुभयो भने महिनावारी समयमा नहुने समस्याबाट धेरथोर मात्रामा राहत पाउनुहुन्छ
बेसार
बेसारलाई धेरै गुणकारी मानिन्छ । चिसो मौसम होस् वा गर्मी मौसम, चोट लागेको होस् वा शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन नै किन नहोस् बेसारको उपयोगिता सबैभन्दा अगाडी हुने गर्छ । धेरै नै गुणकारी भएको बेसारले पनि अनियमित महिनावारीलाई नियमित गर्न सघाउने गर्छ । यसका लागि तातो दूधमा एक चिम्टी बेसार र एक चम्चा मह हालेर सुत्नु भन्दा अगाडी पिउने हो भने अनियमित महिनावारीको समस्या हटेर जान्छ । यसको सेवनले महिनावारी हुँदा हुने दुखाइलाई समेत कम गर्छ ।
कफी
कफीमा रहेको क्याफिनले अनियमित महिनावारी वा नियमित महिनावारी हुँदा हुने पिडालाई कम गर्न मद्दत गर्छ । यसको सेवनले शरीरमा एस्ट्रोजनको स्तरलाई नियन्त्रित गरेर रक्त प्रवाहलाई राम्रो बनाउँछ । जसकारण महिनावारी हुँदा नसाहरूलाई खुम्चिनबाट रोक्ने काम गर्छ ।
घ्युकुमारी
घ्युकुमारीको सेवनले हाम्रो शरीरमा हुने हार्मोनको गडबडीलाई नियन्त्रण गरेर यसलाई सामान्य अवस्थामा राख्ने काम गर्छ । यदि हार्मोनको समस्याको कारण महिनावारीमा गडबडी भएको छ भने घ्युकुमारीको सेवनले महिनावारीको चक्र नियमित बनाउन सकिन्छ । यसको लागि बोक्रा निकालिएको एक चम्चा ताजा घ्युकुमारीलाई एक चम्चा महमा मिसाएर बिहानको नास्तासँग सेवन गर्दा बढी प्रभावकारी हुने गर्छ । एक महिनाको नियमित सेवनले नै यसको प्रभाव देखिन थाल्छ ।
अदुवा
अदुवा हाम्रो शरीरका धेरै समस्याहरूमा फाइदा गर्ने खानेकुरा मानिन्छ । चिसोको उपचार देखि खाना पचाउन सम्मलाई अदुवाको प्रयोग हुन्छ । अदुवामा भिटामिन सी र म्याग्नेसियम रहेको कारण यसको सेवनले महिलाको पाठेघर र मूत्र थैलीलाई खुम्चिनमा मद्दत गर्छ । जसकारण महिनावारी नियमित हुन यसले सघाउँछ । यदि महिनावारी नियमित छैन भने अदुवालाई नियमित रूपमा आफ्नो खानपानमा समावेश गर्नु राम्रो हुन्छ ।
दालचिनी
खानेकुराको स्वाद बढाउन प्रयोग हुने दालचिनीको सेवनले पनि अनियमित महिनावारीलाई सामान्य बनाउन मद्दत गर्छ । दालचिनीको सेवनले शरीरलाई भित्री रूपमा न्यानो राख्छ । यसको सेवनले रक्त सञ्चारलाई बढाउने हुँदा यसको सेवन गरेमा पनि महिनावारी नियमित रूपमा हुने गर्छ ।
मेवा
काँचो मेवालाई नियमित रूपमा खाने हो भने पनि यसले महिनावारीको अनियमितलाई सामान्य बनाउन मद्दत गर्छ । काँचो मेवाको सेवनले महिलाको पाठेघरलाई खुम्चाउन मद्दत गर्छ जसको कारण महिनावारी हुँदा रगत निष्कासनलाई सहज बनाउने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया