काठमाडौँ– अहिले मध्य असार महिना छ । यही महिनाको झमझम पानी, खेत रोप्ने रोपारहरु र बाउसेहरुको हिलो छ्यापाछ्यापसँगै घन्किने असारे भाकाहरु सुनेको अग्रज लोक गायक शिव नारायण जोशीलाई हिजै जस्तो लाग्छ । असार महिनाभरी असारे गीत अनि ग्रिष्म ऋतुपछि घाँसे गीतको धुन उत्तिकै सुनिन्थ्यो । बुवाआमा, दाइ लगायत अग्रजहरुले गाएको सुनेकै भरमा उनले पनि असारे तथा घाँसे गीतको लय समातेर मेला, पर्व तथा जात्राहरुमा गाउँदै हिँडे ।
वि.सं.२००७ सालमा नुवाकोटमा जन्मेका उनले २०१७/०१८ सालदेखि नै गीत गाउन थालेका थिए । २०३६ सालमा काठमाडौँ भित्रिएपछि ४० को दशकमा असारे र घाँसे गीतहरु नै रेकर्ड गरे । २०४५/०४६ सालतिरै उनले ‘खुर्पे जून,’ ‘साली भेना’ जस्ता क्यासेट एल्बमहरु बजारमा ल्याए । ‘जम्काभेट,’, ‘झम्केफूल,’, ‘सलाम सानुमाया,’ ‘नाइट बस’ लगायत एक सय ४० वटा भन्दा बढी एल्बमहरु उनले बजारमा ल्याएका छन् ।
असारे भाका, घाँसे गीत, काँठे लोक भाका, जुहारी गरी उनले हालसम्ममा पाँच हजारको हारहारीमा गीतहरु गाएका छन् । हाल काठमाडौँ, कपनमा बस्दै आएका उनी लोक जुहारी, मौलिक काँठे, असारे र घाँसे गीत गायनमा उत्तिकै सक्रिय छन् । ‘असारे भाका,’ ‘जेठी कान्छीः असारे गीत’ उनका पछिल्ला गीति सिर्जनाहरु हुन् । उनका धेरैजसो गीतहरु उनीसँग सङ्कलनमा छैनन् ।
पछिल्लो समय भने उनले आफूले गाउने गीतहरु आफ्नै युट्युब च्यानलमा राख्ने गरेका छन् । उनले लाइभ दोहोरी, मेला पर्वमा हुने जुहारी गीतहरु समेत सामाजिक सञ्जालमा सेयर गर्दै आइरहेका छन् । अहिले आधुनिकीकरण र शहरीकरणले गाउँ रित्तिँदै छ । खेतीपाती गर्नेहरु शहरमा छन् । गाउँमा खेतीपातीमा रमाउने र धान रोप्ने रोपारहरु नभएपछि असारे गीतको धुन सुनिन छोडेकोमा जोशीको चिन्ता छ ।
अहिले घाँसे गीतका लयहरु पनि विरलै सुनिन्छन् । यद्यपि जोशी भने शहरलाई पनि असारे र घाँसे गीतका भाकाहरु सुनाउन लामो समयदेखि लागि परेका छन् । खासमा असारे र घाँसे गीत के हो, यही गीतमा बसेको उनको सङ्गीत रस, यसको पछिल्लो अवस्था के छ’ भन्नेबारे उनै लोकगायक शिवनारायण जोशीसँग जोय नेपालकर्मी सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:
असारे गीत र घाँसे गीतमा कति अन्तर छ ?
असार महिनामा गिष्म ऋतुसम्म मात्र गाउने भाका नै असारे भाका हो । यसपछि यो भाका गाइँदैन । असार मसान्तमा पशुपति नाथमा चढाएपछि यो गीत गाइँदैनथ्यो । साउन सङ्क्रन्तिमा जङ्गलमा लगेर राँको बालेर गीतलाई बिसाइन्छ । अहिले गोरु जोतेर, धान रोपेको देखाएर मात्र असारे गीत हुँदैन । यो राग र शास्त्र अनुसार नै गाउनुपर्छ । यसलाई सबैले गाउन सक्दैनन् । घाँसे गीत चाहिँ बाह्र मासे गीत हो । यो वर्षभरी नै शुभ कार्यमा गाइन्छ । अहिले घाँसे गीतलाई असारे गीतका रुपमा गाउँदै बिगारिरहेको छ । असारे भाकामा असारको रोपाइँ, रमझम र मौसमको झलक आउनुपर्छ, त्यो घाँसे गीतमा आउँदैन । अहिले बाह्र महिनामा गाउने गीतलाई दुई महिनामा झारिरहेको छ ।
तपाईंको समयमा गाइने असार र घाँसे गीतहरु कस्ता खालका हुन्थे ?
हाम्रो समयमा गाइने गीतहरु पूजाआजा, विवाह, व्रतबन्ध, मेलापात, जात्राहरुमा नै बढी गाइनथ्यो । त्यो बेला अर्काको छोरीचेलीसँग गीत गाउन पाइँदैनथ्यो । पछिपछि भएपछि गीतहरु ओहोरदोहोर गर्ने क्रममा मैले पनि जानेँ । रेकर्ड नै भने हुँदैनथ्यो । २०२९/०३० सालदेखि बल्ल काँठे गीतहरु रेकर्ड हुन थाले । मेरो असारे गीत चाहिँ २०४२/०४३ सालतिर रेकर्ड भएको थियो । त्यतिबेला घाँसे गीतहरु रेकर्ड हुँदैनथे । म गीत गाउँदै सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुरसम्म पनि पुगियो ।
तपाईं गाउने समयमा असारे भाकाको प्रभाव कस्तो थियो ?
त्यतिबेला असार लागेपछि रोपाइँ जाँदा असारे गीत गाइन्थ्यो । अहिले जस्तो रेडियो, टिभी, मोबाइल थिएन । रामबहादुरले गाएको सुनेर श्यामबहादुरले गाउने गर्थे । यस्तै भएर नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको हो । काँठे क्षेत्रबाट असारे भाका रेकर्ड गर्ने मैले नै गरेँ । धर्मराज थापा, झलकमान गन्धर्वहरुले पनि आ–आफ्नो ठाउँबाट गर्नुभयो ।
पछिल्लो समय लोक गीत क्षेत्रमा घाँसे गीत मात्र नभएर असार गीत पनि निकै कम सुनिन थालेको छ । यसमा तपाईंको धारणा के छ ?
लोकगीतमा अहिले उच्छृङ्खल शब्दहरुलाई प्रवेश गराए । दाजुभाई, दिदीबहिनी, बुवाआमा, छोराछोरी सँगै बसेर गीत सुन्ने नहुने भयो । गाएपनि घाँसे गीतलाई असारे बनाएका छन् । असारे गीत त बेग्लै तालमा हुन्छ । नेपालको जुनसुकै भेगमा असारे गीत गाइन्छ । यसमा भाका मात्र फरक छन् । ग्रिष्म ऋतुभन्दा अरु महिनामा यो भाका वर्जित हुन्छ ।
तपाईंहरु जस्तो सर्जकको सेखपछि नयाँ पुस्ताले असारे भाकाहरु सुन्न नपाइने अवस्था भयो नि होइन ?
अहिलेको मान्छेलाई लोकभाका पैसा कमाउने भाका मात्र भइरहेको छ । जताबाट हुन्छ, छिटो गर्ने, शब्द त्यस्तै राख्ने, बजारमा होहल्ला गर्ने मात्र भइरहेको छ । नेपाल सरकारबाट नै यसको जगेर्ना नभएपछि यो त लोप भएर गइहाल्ने नै भयो । हामीले जानेको कुरा अब हामी सँगसँगै जान्छ । म जस्तो एकजना सर्जकलाई मात्र चिन्ता लागेर के गर्नु । राज्य र चाहिने संघ–संस्थाले हेर्दैनन् । सबैले नचाहिने र उच्छृङ्खल गीतलाई मात्रै प्यारो गरेका छन् । अरु पनि त थुप्रै लोकभाकाहरु लोपोन्मूख नै छन् । असारे भाकापछि ख्याली भाका आउँछ । तीजमा छोरीचेलीको वेदना गाउने संगिनी गीतहरु छन्, अहिले गाउन छोडियो । त्यसपछि दशैंतिहारको बेला गाइने गीतहरु पनि छन् । सबै गीतहरु ऋतु अनुसार फरक–फरक हुन्छन् ।
नयाँ पुस्ताका लोक सर्जकहरुलाई कसरी नियालिरहनुभएको छ ?
नयाँ पुस्ताकाहरुमा लोक गीतको अध्ययन र अनुसन्धान नै छैन । एउटा गीत गाउने, त्यही गीत चल्यो भने म भन्दा ठूलो कलाकार कोही छैन भन्ने सोच राखेको पाइन्छ । अहिले बिना गुरुका शिष्यहरु धेरै छन् ।
तपाईंका सिर्जनाहरु कसरी संरक्षण गर्ने सोच बनाउनुभएको छ ?
अहिले बल्ल अलि अलि गरेर युट्युबमा हाल्न थालेको छु । पहिला यस्तो गरिएन । मेरो पाँच हजार चानचुन गीतमा पाँच/सात सय गीत पनि हाल्न सकिएको छैन । अहिले चाहिँ लाइभ, रेकर्ड जस्तो गाएपनि युट्युब, फेसबुकमा राखिहाल्छु । संघ–संस्थाहरुमा पनि अहिलेकै बजारलाई हेर्नेहरु भएपछि संरक्षण गरिदेला भन्ने आश छैन । कानून नै भएपनि लागू छैन । सबै ठाउँमा राजनीति नै चलेको छ । अहिले आएका भाकाहरुमा मेरो गीतबाट धेरैले लय चोरी गरेका छन् । यसविरुद्ध कति ठाउँमा निवेदन दिने, हिँड्ने गरेको छु, आखिर हुने केही होइन रहेछ । हामी गाउनेहरु आफैं नै मौलिक गीत संरक्षणमा लाग्नुपरेको छ । यो निकै दुःखदायी अवस्था हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया