मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै गणेश

 
कैलाली – राजनीतिकसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा– १ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ ।  राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उनले तीन वर्षअघि विसं २०७८ देखि ड्रागन फल खेती सुरु गरेका थिए । 

यस क्षेत्रमा धेरैलाई ड्रागनखेती गर्नुपर्छ भन्ने थाहा थिएन तर विभिन्न माध्यमबाट उक्त खेतीबारे जानकारी पाएका ढकालले तीन वर्षअघि रु सात लाख लगानी गरेर व्यवसाय सुरु गरेका थिए । उनले दाङ र बाँकेबाट आठ सय बिरुवा ल्याएर खेती सुरु गरेको बताए । ती बिरूवाले यतिखेर प्रशस्त उत्पादन दिइरहेका छन् । 

‘भूमिपुत्र कृषि तथा पशुपक्षी फर्म ड्रागन पार्क’ नामक फार्म स्थापना गरेर ड्रागनको खेती सुरू गरेका ढकालले एक वर्षमै फल र बिरूवा बेचेर मनग्य आम्दानी भइरहेको बताए । उनको फार्ममा ‘मलेसियन रेड’ प्रजाति ‘रातो फल’ को ड्रागन लटरम्मै फलेको छ । साथै यो वर्षदेखि उनले ‘हाईब्रेड सि’ रेड प्रजाति ‘रातो फल’ को ड्रागन फलसमेत लगाएको जानकारी दिए ।

 “यस क्षेत्रमा कसैले पनि ड्रागन खेती गरेका थिएनन् तर माग भने बढ्दो थियो, त्यसै कारण तीन वर्ष अगाडि व्यवसाय सुरुआत गरेँ । पहिलोपटक खेती गर्न लागेकाले सफल होला वा नहोला भन्ने अन्योल र चिन्ता थियो तर अहिले राम्रो आम्दानी दिइरहेको छ, यति छिटो आम्दानी देला भन्ने सोचैकै थिइन”, ढकालले भने । 

विसं २०४७ सालदेखि विद्यार्थी राजनीतिमा लागेको बताउने ढकाल १० बर्से जनयुद्धमा समेत सामेल भए । उनी विप्लव सी नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीमा आवद्ध छन् । पार्टी कामकै सीलसीलामा देशका विभिन्न भागमा जाने क्रममा दाङ र बाँकेमा गरिएको ड्रागन फल खेतीबाट सामान्य जानकारी पाएपछि आफैँंले खेती सुरु गरेको ढकालले बताए । 

 पानी नजम्ने बलौटे माटोमा फल्ने ड्रागन फलले वैशाखदेखि कात्तिकसम्म फल दिने गरेको छ । स्वादिलो तथा पोषिलो यो फलको माग राम्रो रहेको थाहा पाएपछि यसतर्फ लागेका ढकालले वार्षिक आठ क्वीन्टलसम्म फलको कारोबार गरिसकेका छन् । उनले पहिलो वर्षमा ६० किलोग्राम फल बेचेर रु चार लाखबढी आम्दानी गरेको बताए। दोस्रो वर्षमा आठ क्वीन्टल फल र एक हजार बिरुवा बेचेर रु छ लाख आम्दानी गरेका ढकालले यो वर्ष १६ क्वीन्टल  फल र तीन हजार बिरुवा बिक्री गरी १२ देखि १५ लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको सुनाए ।

बजारमा ड्रागन फल प्रतिकिलो रु सात सय ५० पर्ने गरेको छ तर उनले बारीबाटै रु छ सय ५० मा बिक्री गरिरहेका छन्, भने बिरुवा दुई सय ५० मा बेचिरहेका छन् । उनले तीन जनालाई रोजगारीसमेत दिए ।  

ढकालले एउटा बोटमा पाँच किजीसम्म फल लाग्ने गरेका र उत्पादित फल स्थानीय लम्की बजारका साथै धनगढी, नेपालगञ्ज र सुर्खेतसम्म पठाउने गरेको जानकारी दिए। “स्थानीय र जिल्लामा रहेका बजारका साथै टाढाबाट पनि माग आइरहेको छ तर सीमित उत्पादनका कारण मागपूर्ति गर्न सकेको छैन । खेती विस्तार गर्ने योजनाबारे सोच्दैछु”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?