मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निद्रा लागिरहने रोग ‘हाइपरसोम्निया’ के हो ? किन हुन्छ ?

काठमाडौँ– मानव शरीरका लागि दैनिक कम्तिमा आठ घण्टा निद्रा आवश्यक पर्छ । शरीरले पूर्ण रूपमा निद्रा पाएमा बिहान उठ्दा शरीर स्फूर्ति हुन्छ । त्यसकारण पनि चिकित्सकहरूले दैनिक आठ घण्टा सुत्न सुझाव दिन्छन् ।

कतिपयलाई भने आठ घण्टा सुतेर पनि दिनमा निद्रा लागिरहन्छ । पर्याप्त सुतेर पनि दिनभर निद्रा लागिरह्यो भने त्यो स्वास्थ्य समस्या पनि हुनसक्छ । मेडिकलको भाषामा यसलाई हाइपरसोम्निया भनिन्छ । अधिक निन्द्रा लाग्ने समस्या अर्थात् हाइपरसोम्निया के हो र यो किन हुन्छ भन्ने विषयमा स्नायु, नशा तथा मेरुदण्डरोग विशेषज्ञ प्रा.डा.राजीव झासँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

हाइपरसोम्निया कस्तो समस्या हो ?
हाम्रो शरीरलाई आवश्यकभन्दा बढी निद्रा लाग्नु हाइपरसोम्निया हो । यस्तोमा राति राम्रोसँग निदाएर पनि दिउँसो पनि निद्रा लागिरहने हुनसक्छ । दिउँसो सुत्ने बित्तिकै हाइपरसोम्निया भयो भन्न पनि मिल्दैन । दैनीकीमा कुनै परिवर्तनका कारण कहिलेकाहीँ निद्रा लाग्नु सामान्य अवस्था हो । तर सातामा तीन दिन भन्दा बढी दिनमा पनि अत्याधिक निद्रा लागेर दैनिकीमा अवरोध ल्याइरहेको छ भने हाइपरसोम्निया भएको हुनसक्छ ।

के कारणले यो समस्या निम्तन्छ ?
हाइपरसोम्निया विभिन्न कारणहरुले गर्दा हुन्छ । खराब जीवनशैली, विभिन्न रोगदेखि औषधीहरूको प्रयोग यसको मुख्य कारक तत्व हो । अर्को भनेको थाइराइडको स्तर घटने अवस्था अर्थात् हाइपोथाइराइड भएमा पनि यस्तो समस्या निम्तन सक्छ । यस्तै, स्नायुसम्बन्धी रोगले गर्दापनि हाइपरसोम्नियाको समस्या हुनसक्छ । मस्तिष्कमा पानी जमेको, संक्रमण वा ब्रेन ट्युमर भएको व्यक्तिलाई पनि जतिखेरै निद्रा लाग्न सक्छ । विशेष गरी यो समस्या मस्तिष्कमा पानी जमेको बच्चामा देखिन्छ ।

मस्तिष्क रोग भएका व्यक्ति, रोगका कारण धेरै औषधी खानुपर्ने अवस्था भएका, हर्मोनल परिवर्तन, शरीरमा पानीको कमी डिहाइड्रेसन, निद्रासम्बन्धी रोग, पक्षघात, पार्किन्सन्स रोग, अत्याधिक मदिरा तथा नशालु पदार्थ सेवन, टाउकोमा लागेको चोट पनि यसको कारक हुनसक्छ ।

कस्ता व्यक्तिहरुमा यसको जोखिम उच्च हुन्छ ?
केही प्रकारको मस्तिष्कका क्यान्सर जस्तो ब्रोनियोफेरिन्जयोमाबाट पीडित बच्चामा हाइपरसोम्निया हुने जोखिम उच्च हुन्छ । यो ट्युमर निद्राको नियमित गर्न मद्दत गर्ने मस्तिष्क संरचना हाइपोथलेमस नजिक विकसित हुन्छ । कहिलेकाहीँ हाइपरसोम्निया कुनै कारणवश सिर्जना हुन्छ । यदि अनावश्यक रुपमा निद्रा लागिरह्यो र बेलैमा नियन्त्रण भएन भने कालान्तरमा मधुमेह हुने, रगतमा संक्रमण, डिप्रेसनको सिकार हुने, मोटोपना बढ्ने समस्या देखिन सक्छ ।

यो समस्या कसरी सिर्जित हुन्छ ?
हाम्रो दिमागमा पाइनल ग्रन्थि हुन्छ, जसले दिन र रात छुट्याउँछ । र यसले रातमा निद्रा लगाउने काम गर्छ । कुनै कारणवश त्यसमा अवरोध आएमा जतिखेरै निद्रा लाग्न सक्छ । त्यस्तै, कलेजोमा हेपाटिक इसेफालोप्याथीको समस्या हुँदा पनि बढी निद्रा लाग्छ । यसको कारण भनेको यो समस्याले कलेजोबाट उत्पादन भई शरीरमा विषाक्त फैलाउँछ । जुन दिमागसम्म पुगेर निद्राको चक्र बिग्रिन्छ ।

यस्तो समस्या हुँदा के–कस्ता लक्षण देखिन्छन् ?
बिहान उठेपछि निद्रा नपुगे जस्तो हुनु, टाउको दुख्नु र चिडचिडापन बढ्नु पनि यो रोगको लक्षण हो । त्यस्तै रातमा निद्रा राम्रोसँग परेपनि दिनमा पनि निद्रा लागेर हैरान हुने समस्या पनि कतिपयमा देखिन्छ । साथै हरेक समय थकान अनुभव हुनु, भोक नलाग्नु र कुनै पनि काम गर्ने जाँगर नहुनु वा मन नलाग्नु अझ निद्राबाट ब्युँझिन असहज हुनु तथा उठेपछि भ्रमित अनुभव गर्नु पनि यो रोगका लक्षण हुन् ।

यो रोगको पहिचान कसरी गर्ने ?
ब्लड काउन्ट, हर्मोन र अन्य जाँचबाट यो रोगको परीक्षण गरिन्छ । अर्को भनेको ईईजी परीक्षण गरिन्छ । जसबाट दिमागको अवस्था हेरी निद्रा कतिको अस्वाभाविक भनेर पत्ता लाग्छ ।

यसको उपचार पद्वति कस्तो छ ?
यो विभिन्न थरीका स्वास्थ्य समस्याका कारण लाग्ने हुँदा यसको लक्षणअनुसारको रोग पत्ता लगाई उपचार गरिन्छ । यससँगै सुताइको अवस्थालाई पनि परिवर्तन गर्नुपर्ने हुन्छ । यसका लागि दिनको निर्धारित समयमा निद्रा कम लगाउन शारीरिक गतिविधिले सक्रियता बढाउने र जीवनशैलीमा ध्यान दिनुपर्छ । जसमा शारीरिक व्यायाम, कफी पिउने, हाइड्रेट राख्न पर्याप्त पानी पिउने र सम्भव भए निद्रा लाग्दा नुहाउन सकिन्छ । हाइपरसोम्नियाको लागि केही औषधी पनि सिफारिस हुनसक्छ ।

यसबाट कसरी बच्न सकिन्छ ?
राति सुत्नुअघि धेरै भारी खानेकुरा नखाने, हल्का खाना खाएर सुत्ने, मद्यपान र धुम्रपानबाट टाढै बस्ने, सत्ने समय र उठ्ने समयको रुटिन बनाउने, तौललाई नियन्त्रणमा राख्ने, पौष्टिक चीजहरूको सेवनमा जोड दिने, शाान्त वातावरणमा सुत्ने गर्ने, सकेसम्म हरेक दिन सक्रिय रहने, स्लिपिङ ट्याबलेटको सेवन नगर्ने गर्नुभयो भने तपार्इं यस्तो समस्याबाट टाढै रहनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?