मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खानीखोलाका कफी उत्पादक कृषकलाई अनुदान

धुलिखेल काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफी उत्पादक कृषकलाई अनुदान उपलब्ध गराएको छ । ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमअन्तर्गत कृषकलाई अनुदान वितरण गरिएको हो ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत महिलालाई उद्यमशील बनाउन सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । चालु आर्थिक वर्षमा कफी उत्पादक कृषकलाई समूहगत रुपमा रु २१ लाख अनुदान वितरण गरिएको उनले जानकारी दिए ।

अध्यक्ष थिङका अनुसार पालिकाले सामूहिक उत्पादनमा जोड दिँदै कृषक समूह बनाएर १९ समूहलाई अनुदान वितरण गरेको छ । उत्कृष्ट समूहमध्ये कोदाखोरिया कफी उत्पादन सहकारी संस्थाले एक वर्षमा १५ हजार चार सय ३४ केजी कफी उत्पादन गरेको पालिकाले जनाएको छ । उत्पादनका आधारमा उक्त सहकारीले रु चार लाख ६३ हजार ३३ अनुदान लिएको छ । खानीखोलामा वार्षिक ६६ हजार टन कफी उत्पादन हुने गरेको छ ।

कफी खेतीबाट वार्षिक रु चार करोडको आम्दानी लिने गरेको कृषक बताउँछन् । पालिकामा कफी उत्पादनको सम्भावना भएकाले ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ भन्ने नारालाई अघि सारेर प्रतिकेजी रु ३५ का दरले अनुदान दिँदै आएको अध्यक्ष थिङले बताए । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष तीन गुणाले कफी उत्पादनमा वृद्धि भएको छ । गत वर्ष रु सात लाख अनुदान वितरण गरिएको थियो ।

गृहिणी महिलालाई घरमा बसेर पनि आम्दानीको स्रोत पहिल्याउन सहज बनाउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा गृहिणी महिला सीपमूलक तालिम सम्पन्न गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र खानीखोला गाउँपालिकाको साझेदारीमा सञ्चालित महिला सशक्तिकरण कार्यक्रममा साबुन र सरफ बनाउने तालिम दिइएको अध्यक्ष थिङले बताए ।

वडा नं ५ र ६ का महिलालाई लक्षित गरेर साबुन बनाउने तालिम र वडा नं ४ मा अचार बनाउने तालिम आयोजना गरिएको पालिकाले जनाएको छ । जागरण नेपालको आयोजनामा भएको तालिममा वडा नं ५ र ६ का ५० र अचार बनाउने तालिममा २५ जना महिलाको सहभागिता थियो । तालिमले उद्यमशील बनाउनाका साथै आयआर्जनमा वृद्धि गर्ने भएकाले आफूले सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा गाउँपालिका अध्यक्ष थिङले सहभागीलाई आग्रह गरे । 

स्थानीय महिलाको माग र आवश्यकताका आधारमा स्थानीय उत्पादनमार्फत उद्यमशील बनाउने उद्देश्यले तालिम प्रदान गरिएको भन्दै तालिमपश्चात् महिला स्वरोजगार हुनाका साथै स्थानीय उत्पादनमार्फत आत्मनिर्भर बन्ने उनले विश्वास व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले तालिमले खानीखोलाका महिला तथा कृषक समूहमा उत्साह छाएको बताए । स्थानीय उत्पादन र सीपको मूल्याङ्कन गरी सहयोगी निकाय तथा पालिकाको समन्वयमा उत्पादनशील कार्यमा पालिका सधैँ साथमा रहने उनको भनाइ छ ।

समापन कार्यक्रममा सामाजिक विकास संयोजक एवं वडा नं ४ का वडाध्यक्ष निशान मोक्तान र पूर्वाधार विकास संयोजक एवं वडा नं ५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले महिला र युवा जनशक्तिलाई उत्पादनमूलक कार्यमा व्यस्त बनाउन तालिम प्रदान गरिएको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?