मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सङ्गीत सिक्न काठमाडौँ आएका करण, जो एकाएक सेलिब्रेटी बने

काठमाडौँ– नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई यतिबेला भ्याइनभ्याइ छ । हिजोसम्म उनको जीवन सामान्य बितिरहेको थियो । नेपाल आइडलमा सहभागी भएपछि उनको भाग्य एकाएक फेरिएको छ ।

खासमा करण नेपाल आइडलको मञ्चमा माइक समाउने अनुभव लिन मात्र गएका थिए । प्रतिस्पर्धामा सहभागी हुन जाँदा नेपाल आइडल हुन्छु भन्ने पनि लागेको थिएन उनलाई । तर, पहिलो प्रस्तुतिबाट नै उनले धेरै दर्शकको मन जितिसकेका थिए ।

आफ्नो जादुमयी स्वरले उनले निर्णायकको पनि खुबै ध्यान खिचेका थिए । नेपाल आइडलको पहिलो खुड्किलोदेखि अहिलेसम्म आउँदा उनको जीवनमा धेरै थोक फेरिएको छ ।

बर्दियाको अति सामान्य परिवारमा जन्मिएका करण इन्डियन आइडलमा सहभागी हुने चाहना बोकेर काठमाडौँ छिरेका थिए । गाउँकै विद्यालयमा कक्षा १२ सम्मको अध्ययन पूरा गरी उनी गीत ज्ञान र सीप सिक्नका लागि काठमाडौँ छिरेका थिए ।

तर, उनको लागि काठमाडौँको बसाइँ सोचेजस्तै सहज र सरल थिएन ।

बुवासँगै काठमाडौँ छिरेका करणलाई शुरुका दिन केही सहज भयो तर बुवा गाउँ फर्केको दुई दिनमा खानका लागि चामल पनि नभएको सुनाउँछन् । कोठामा खानको लागि चामल नभएपछि करणका साथी रोहितले आमासँग कुरा मिलाएर केही दिन आफैँसँगै राखेका थिए ।

दाङमा भएको अडिसनमा रोहित र करणको भेट भएको थियो । काठमाडौँमा बस्दै आएका रोहितले म्युजिक सिक्नका लागि काठमाडौँ बोलाए । सोही अनुरुप कक्षा १२ को परीक्षा सक्ने बित्तिकै करण काठमाडौँ हानिए ।

काठमाडौँमा आएको केही दिनमा करण गार्मेन्ट कम्पनीमा काम गर्न थाले । काठमाडौँमा जीवन बाँच्ने सङ्घर्षका बावजूद जसोतसो एक हजार रुपैयाँ जोरजाम गरी गीत सिक्न संगीतकार कृष्ण केसी समक्ष पुगे ।

उनी गीत सिक्दै गार्मेन्टमा काम गर्दै आएका थिए । गीत सिक्नका लागि केही पैसा जम्मा गरेर नपुगेपछि रकम ऋण गरेर गितार किनेको उनी स्मरण गर्छन् ।

गीत सिक्नै क्रममा नै उनले नेपालको आइडलको यात्रा तय गरेका थिए ।

नेपाल आइडलको बारेमा कुनै ज्ञान नभएका करणलाई सङ्गीतका गुरु केसीले नै त्यसबारेमा जानकारी दिएका थिए । तर आफूले कुनै मेहनत नगरेकोले आइडलमा जान सक्दैन कि भन्ने करणलाई नलागेको होइन । संगीतकार केसीले माइक समात्ने अनुभव लिनको लागि भएपनि जान अनुरोध गरेपछि प्रतियोगितामा सहभागी भएका थिए ।

नेपाल आइडलको स्टेजमा पहिलोपटक करण हातमा पञ्जा, खुट्टामा चप्पल लगाएर शिव परियारको ‘संगी’ बोलको गीत गाउन स्टेज पुगेका थिए । गीत सुनेर आइडलका जजले उनलाई कार्ड मात्रै दिएनन् । अर्को राउण्डको लागि सिधै प्रवेशको लागि गोल्डेन माइक पनि दिए ।

त्यसपछि उनले ‘आज मन उडेर भाग्छ,’ ‘अल्झेल्छ क्यारे पछयौरी’, ‘सालको पात टपरी’, ‘के लत बस्यो मलाई’ लगायतको गीत गाएर जजसँगै दर्शकको मन जिते । करणको गायन मात्रै नभई उनको ‘इनोसेन्ट’ गायकी जनताले उत्तिकै रुचाए ।

त्यसैले पनि दर्शकले उनलाई भारी मत दिएर उनलाई ‘नेपाल आइडल सिजन ५’ को उपाधि दिलाए ।

आइडल जित्नु कल्पनाभन्दा बाहिर– करण

नेपाल आइडलको सिजन आइडल जित्नु कल्पनाभन्दा बाहिरको कुरो थियो । हरेक राउण्डमा बाहिरिने हो कि भन्ने डर उनीमा थियो । तर त्यो डरमा मात्रै सीमित भयो ।

यति मात्रै होइन, ग्राण्ड फाइनलमा पनि चौथो हुने आशामा थिए करण । तर कार्यक्रमका ‘होस्ट’ रीमा विश्वकर्माले चौथो र तेस्रोका नाम लिइसकेपछि आफू दोस्रो भएको महसूस गरेका थिए । जब रीमाले टाइटल आइडलमा करणको नाम लिइन् ।

त्यतिबेला आफू अलमलमा परेको उनी सुनाउँछन् ।

‘फिल्ममा मेन हिरो इन्ट्री लास्ट हुन्छ भन्ने कुरा मेरो जीवनमा पनि लागू भयो,’ उनले अन्तर्वार्ताका क्रममा भने, ‘मलाई पनि दर्शकले अन्तिममा धेरै भोट दिएर जिताउनुभयो ।’

आफूले आँखा चिम्लेर गाएर दर्शकलाई तीर हान्ने गरेको उनले सुनाए । भन्छन्, ‘आँखा चिम्लेर गाइदिन्छु । दर्शकको मनमा तीर गाड्दिन्छु । हामीले गाएको गीत दर्शकको र स्रोताले फिल गर्न सकोस् भन्ने बुझेको छु ।’

करण परियारले नेपाल आइडलमा गाएकामध्ये अधिकांश नेपाली सिने क्षेत्रका गीत थिए । उनले गाएका हरेक गीतलाई दर्शकले उत्तिकै रुचाए ।

अन्यभन्दा पनि आफूलाई नेपाली फिल्मका गीत गाउन सहज हुने उनी सुनाउँछन् । तर पनि केही दिन अघि मात्रै आइडलका जज न्ह्यु बज्राचार्यको गीत रेकर्ड गराएका छन् । जुन फिल्मी क्षेत्रभन्दा बाहिरको थियो ।

उसो त गीत गाउनका लागि करणलाई धेरै अफरसमेत आइसकेको छ । अब सेड्युल बनाएर गीत गाउने उनले सुनाए ।

इन्डियन आइडलमा जाने मोह

करण खासमा इन्डियन आइडलमा जाने तयारीका साथ काठमाडौँमा म्युजिक सिक्न आएका थिए । आफू बर्दियाबासी भए पनि नेपाल आइडलकोबारेमा जानकारी नै नभएकाले पनि इन्डिया जाने सोच बनाएको उनी सुनाउँछन् ।

आफूले बाल्यकालमा नेपाली गीत कमै मात्रै सुन्ने उनी सुनाउँछन् । आफू चौधरी बस्ती नजिकै हुर्किएको र भारतीय सिमानामा रहेकाले सानैदेखि हिन्दी गीत धेरै सुने । त्यसैले पनि उनमा इन्डियन आइडलको मोह बस्यो ।

‘करण परियार’ पहिचानलाई चिनाउनकै लागि भए पनि इन्डियन आइडलमा जाने सोच उनको थियो । तर करणको पहिचान नेपाल आइडलले नै दियो । सोही अनुरुप इन्डिया जाने सोच हटाएको उनी सुनाउँछन् ।

भन्छन्, ‘करणलाई चिनाउनको लागि इन्डियन आइडियलमा जान लागेको थिए । तर मलाई नेपाल आइडलले दिइसक्यो अब किन जानु पर्‍यो करण यही नै हो ।’

उनलाई नेपाल आइडलले पहिचान मात्रै दिएन । उनले छोटो समयमा नाम, काम, प्लेटफर्म, क्यामेरा फेस गर्न सिके ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?