काठमाडौं- अमेरिकामा हाल अमेरिकी महादेशको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका चलिरहेकोे छ । १६ टिमको सहभागिता रहेको प्रतियोगितामा हाल समूह चरणका खेलहरु भइरहेका छन् ।
अमेरिकाका १४ शहरमा यो प्रतियोगिता आयोजना भइरहेको छ । अमेरिकाको टेक्सस राज्यस्थित डालस फोर्टवर्थ एरियाको एटीएण्डटी रंगशाला, जर्जिया राज्यको एटलान्टामा रहेको मर्सिडिज बेन्ज रंगशाला, टेक्ससकै अस्टिनमा रहेको क्यू २ रंगशालामा कोपा अमेरिकाका खेलहरु भइरहेका छन् ।
त्यसैगरी, नर्थ क्यारोलाइना राज्यको सार्लटमा रहेको बैंक अफ अमेरिका रंगशाला, न्यूजर्सीमा रहेको इस्ट रुथफोर्डस्थित मेटलाइफ रंगशाला, टेक्ससकै ह्युस्टनमा रहेको एनआरजी रंगशालाले पनि कोपा अमेरिका आयोजना गरिरहेका छन् ।
त्यस्तै, क्यालिफोर्नियाको लस एन्जल्समा रहेको सोफी रंगशाला, क्यालिफोर्नियाकै सान्टाक्लारामा रहेको लिभाइज रंगशाला, एरिजोना राज्यको फिनिक्समा रहेको स्टेट फार्म रंगशाला, नेभादाको पाराडाइजमा रहेको एलिजायन्ट रंगशाला, मिसौरीको क्यान्सास सिटीमा रहेको एरोहेड रंगशाला, क्यान्सास राज्यको क्यान्सास सिटीमा रहेको चिल्ड्रेन मर्सी रंगशालामा पनि कोपा अमेरिकाका खेलहरु भइरहेका छन् ।
त्यस्तै, फ्लोरिडाको मायामीमा रहेको हार्ड रक रंगशाला र फ्लोरिडा राज्यकै ओर्लाण्डोमा रहेको इन्टरको रंगशालामा पनि कोपा अमेरिकाका खेलहरु आयोजना भइरहेका छन् । प्रतियोगितामा समावेश १६ टिमलाई ४ वटा समूहमा विभाजन गरिएको छ ।
यसअनुसार समूह एमा अर्जेन्टिना, क्यानाडा, चिली र पेरु छन् । समूहको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाको तीन खेलमा शत प्रतिशत नतिजासहित ९ अंक छ । त्यसैगरी, दोस्रो स्थानको क्यानाडाले तीनमध्ये एकमा जित, एकमा बराबरी र एक खेलमा हार व्यहोर्दै ४ अंक बटुलेको छ ।
अर्जेन्टिनासँग पराजित भएको क्यानाडाले पेरुलाई पराजित गरेको थियो भने चिलीसँग बराबरी खेलेको थियो । तेस्रो स्थानको चिलीले दुई खेलमा बराबरी र एकमा हार व्यहोर्दै दुई अंक जोडेको छ । अर्जेन्टिनासँग हार र क्यानाडासँग बराबरी खेलेकोे चिलीले पेरुसँग पनि बराबरी खेलेको थियो ।
तीनमध्ये एक खेलमा बराबरी र दुईमा हार व्यहोरेको पेरुको एक अंक छ । यो समूहका सबै खेल सम्पन्न भइसकेका छन् र अर्जेन्टिना तथा क्यानाडा अर्को चरण प्रवेश गरिसकेका छन् ।
समूह बीमा भने भेनेजुएला, इक्वेडोर, मेक्सिको र जमैका छन् । शीर्ष स्थानमा रहेको भेनेजुएलाले तीन खेलमा शत प्रतिशत नतिजा निकाल्दै ९ अंक जोडेको छ । दोस्रो र तेस्रो स्थानका इक्वेडो र मेक्सिकोले समान तीन खेलमा एकमा जित एकमा हार र एक खेल बराबरी खेलेका छन् ।
दुबै टोली अजेन्टिनासँग पराजित भएका थिए भने एकअर्काविरुद्धको खेलमा बराबरी खेलेका थिए । दुबै टिमले जमैकालाई भने पराजित गरेका थिए । जमैका भने सबै खेलमा हार व्यहोर्दै समूहको पुछारमा छ । यो समूहका सबै खेल सकिएका छन् भने भेनेजुएला र इक्वेडोर अर्को चरण प्रवेश गरेका छन् ।
त्यसैगरी, समूह सीमा उरुग्वे, आयोजक अमेरिका, पानामा र बोलिभिया रहेका छन् । समूहको शीर्ष स्थानमा रहेको उरुग्वेले दुई खेलमा दुई जित निकालेको छ । उरुग्वेले पानामा र बोलिभियालाई पराजित गर्दा उसले अमेरिकासँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी नै रहेको छ ।
दोस्रो र तेस्रो स्थानमा रहेका अमेरिका र पानामाले समान दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोर्दै तीन अंक बटुलेका छन् । अमेरिकाले बोलिभियालाई पराजित गरेको थियो भने पानामाले अमेरिकालाई पराजित गरेको थियो । अब अमेरिकाले उरुग्वे र पानामाले बोलिभियासँग एक खेल खेल्न बाँकी छ ।
पानामा र बोलिभियाबीचको खेल इन्टरको रंगशालामा भोलि बिहान पौने ७ बजे शुरु हुनेछ भने अमेरिका र उरुग्वेबीचको खेल सोही समयमा एरोहेड रंगशालामा हुनेछ । समूह चरणमा एक अंक पनि जोड्न असफल बोलिभिया समूहको पुछारमा छ ।
समूह डीमा कोलम्बिया, ब्राजिल, कोस्टा रिका र पाराग्वे रहेका छन् । समूहको शीर्ष स्थानमा रहेको कोलम्बियाले दुईमध्ये दुबै खेलमा जित निकालेको छ । कोलम्बियाले पाराग्वे र कोस्टा रिकालाई पराजित गरेको छ । कोलम्बियाले ब्राजिलसँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । कोलम्बिया र ब्राजिलबीचको खेल नेपाली समयअनुसार बुधबार बिहान पौने ७ बजे लिभाइज रंगशालामा हुनेछ ।
समूहको दोस्रो स्थानमा रहेको ब्राजिलले भने दुईमध्ये एकमा जित र एकमा बराबरी खेलेको छ । ब्राजिलले पाराग्वेलाई पराजित गर्दा कोस्टा रिकासँग भने बराबरी खेलेको छ । समूहको तेस्रो स्थानमा रहेको कोस्टा रिकाले एक खेलमा हार र एकमा बराबरी खेलेकोे छ । कोस्टा रिकाले अब पाराग्वेसँग खेल्न बाँकी छ ।
यो समूहबाट कोलम्बिया अर्को चरणमा प्रवेश गरिसकेको छ । कोस्टा रिका र पाराग्वेबीच नेपाली समयअनुसार बुधबार बिहान पौने ७ बजे क्यू२ रंगशालामा भिडन्त हुनेछ ।
हालसम्मको नतिजाअनुसार क्वार्टरफाइनलमा अर्जेन्टिना र इक्वेडोर तथा भेनेजुएला र क्यानाडाबीच भिडन्त हुने निश्चित भइसकेको छ । अर्जेन्टिना र इक्वेडोरबीचको खेल जुलाई ५ शुक्रबारका दिन बिहान पौने ७ बजे एनआरजी रंगशालामा आयोजना हुनेछ ।
त्यसैगरी, क्यानाडा र भेनेजुएलाबीचको खेल भने जुलाई ६ शुक्रबारका दिन बिहान पौने ७ बजे नै एटीएण्डटी रंगशालामा आयोजना हुनेछ । समूह चरणका खेलहरु सकिएपछि क्वार्टरफाइनल पुग्ने थप टिमको टुंगो लाग्नेछ ।
क्वार्टरफाइनलमा जित हासिल गर्ने ४ टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका विजेताबीच आगामी जुलाई १५ मा बिहान पौने ६ बजे हार्डरक रंगशालामा फाइनल खेल हुनेछ ।
सन् १९१६ देखि आयोजना हुन थालेको कोपा अमेरिकाको सबैभन्दा धेरै उपाधि अर्जेन्टिना र उरुग्वेले समान १५ पटक उचालेका छन् । त्यसपछि ब्राजिलले सबैभन्दा धेरै ९ पटक कोपा अमेरिका जितेको छ ।
त्यस्तै, पाराग्वे, चिली र पेरुले समान दुई पटक कोपा अमेरिका जितेका छन् । बोलिभिया र कोलम्बियाले भने समान एक पटक कोपा अमेरिकाको उपाधि जितेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया