मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राजधानीमा गुञ्जियो नौमतीका नौ राग

काठमाडौँ– जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार नौमती बाजाको रागहरु गुञ्जिए । १२ जना कलाकारहरुद्वारा नगरा, बटुवा ताल राग, डाँडै ताल राग, दुलाहा पर्साइ, जन्ती पर्साइँ, डाँफे ताल राग र दुलही रुवाउने ताल रागहरुको प्रस्तुति भइरहँदा माहोल नै सङ्गीतमय बन्यो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, सङ्गीत विभागको आयोजनामा कलाकारहरुले नौमती बाजामा आधारित नौमतीका रागहरु प्रस्तुत गरेका थिए । नौमतीका रागहरु सुनेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा लगायत उपस्थिति मन्मुग्ध भए ।

मन्त्री तामाङले कलामा उत्कृष्ठ कला सङ्गीत कलालाई मानिदै आए पनि सबै कलाको आफ्नै विशिष्टता र उत्तिकै महत्व रहेको बताए । उनले नेपाली सङ्गीतमा मौलिक पञ्चे बाजा र नौमती बाजाको विशिष्ट महत्व र योगदान रहेको सुनाउँदै यसको संरक्षणमा सरकार र सरोकारवालाहरुले ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।

प्रतिष्ठानकी कुलपति शर्माले प्रतिष्ठानले नेपालका कुना कन्दरा रहेका लोक संस्कृति र कलाको संरक्षणका लागि विभिन्न कार्यहरु गर्र्दै आइरहेको जानकारी गराउँदै त्यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा समेत निरन्तरता दिने बताइन् ।

प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख कर्ण गौतमले परियारका अनुसार समुदायमा प्रचलित नौमती बाजाका ३६ राग प्रचलनमा रहेको र ती रागहरु शुभ कार्य र शोक कार्यमा बजाइने गरेको बताए । कार्यक्रममा ती मध्ये विवाह कार्यमा बजाइने नौ राग प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा कलाकारहरुले नौमती बाजामा सोरठीमा आधारित नचरी भाका, तारु भाका र झलकमान गन्दर्भको बाला जोबन भाका प्रस्तुत भएको थियो ।

वाद्यवादनमा कमल परियार, मनबहादुर दर्जी, तीलबहादुर दर्जी, दिलबहादुर दर्जी, लालबहादुर दर्जी, नवीन परियार, सागर परियार, सुवास परियार, मदन परियार लगातको समूहले नौमती बाजा प्रस्तुति दिएका थिए ।

उक्त अवसरमा राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१ का विजेताहरुलाई सम्मान सहित पुरस्कृत समेत गरिएको थियो । विश्व सङ्गीत दिवसका दिन विजेता घोषित भएका सात प्रदेशका सात जना विजेताहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरुमा कोशी प्रदेशबाट तेज राई, मधेश प्रदेशबाट लिलाराज दाहाल, बागमती प्रदेशबाट सृजना अर्याल, गण्डकीबाट बाबुराम श्रेष्ठ, लुम्बिनीबाट बसन्तकुमार आचार्य, कर्णालीबाट रामकुमार शाही र सुदुरपश्चिमबाट धीरजनाथ थिए । सबैलार्ई नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?