भारतको दार्जिलिङमा जन्मिएका बुद्धिमान मोक्तानले वि.सं. २०१३ सालमा तामाङ वंशावली ‘जिक्तेन तामछ्योई’ लेखे । तामाङ समुदायका लागि यो पहिलो कृति थियो । मोक्तानलाई तामाङ समुदायकै पहिलो लेखक पनि मानिन्छ । तामाङ साहित्यको इतिहासमा त्यसपछि उदाएका सन्तवीर लामा लगायत कैयन् लेखक जन्मिएका छन् ।
तिनै लेखकहरुमध्ये ५० को दशकमा लेखनमा उदाएका अर्का स्रष्टा हुन्, रवीन्द्र तामाङ । ३७ वर्ष निजामती सेवामा बिताएका उनले लेखन तथा अनुसन्धानलाई समेत सँगसँगै अगाडि बढाए । २०५४ सालमा ‘तामाङ रिमठिम’ प्रकाशन गरेका उनले ‘तिमाल जात्रा(२०५५),’ ‘ग्याबकहरुको पुख्र्यौली थलोः चोथाङ(२०५५),’ ‘तामाङ चाड, पर्व र पूजाहरु(२०५६),’ ‘तामाङ जातिको ऐतिहासिक रुपरेखा(२०५८),’ ‘तामाङ थरहरु(२०६२)’ लगायत दर्जन हारहारीमा पुस्तकहरु प्रकाशन गरेका छन् ।
हालसम्म पनि तामाङ समुदाय, जाति, संस्कृति लगायत विविध आयामहरुमा अध्ययन, अनुसन्धान तथा लेखन कार्यमा सक्रिय रहेका उनै सर्जक रवीन्द्र तामाङसँग तामाङ समुदायको लेखनको शुरुवात, अहिलेको अवस्था र अबको लेखनका सम्बन्धमा जोय नेपालका लागि सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:
अहिले तामाङ समुदायमा लेखनको स्थिति के छ ?
तामाङ समुदायको लेखन भन्नाले तामाङ जातिको इतिहास, संस्कृति, पहिचानको लेखनको क्रम पुस्तकका रुपमा पछिल्लो चरणमा धेरै प्रकाशनमा आएको देखिँदैन । पत्रकारितामा पनि एउटै मात्र पत्रिका मातृभाषाको ‘तामाङ डाजाङ’ बाँकी छ । यसरी हेदौ लेखन र पत्रकारिता दुवैको अवस्था नाजुक नै छ भन्दा होला ।
समुदायका लागि लेखनको महत्व कति छ ?
लेखनको महत्व अवश्य पनि धेरै छ । किनभने तामाङ समुदाय, जाति, इतिहास के छ , उनीहरु नेपालमा कहिले प्रवेश गरे, उनीहरुको स्थिति के छ, संस्कृति र यसका भित्री दर्शन, मुल्य, मान्यता के छन्, यसका विशेषताहरु के छ, इतिहासमा उनीहरु पछि पर्नुका कारणहरु के–के छन् त भन्ने लगायतका थुप्रै विषयहरु लेखनमा उजागर गर्न सकिन्छ, तर ती सबै बाहिर आएका छैनन् । हामीसँग लेखनमा विषयहरु पर्याप्त हुँदाहुँदै पनि राजनीतिक मुभमेन्टहरुका कारण पनि पछि परेका छौं र पढेलेखेकाहरु कम छन् । शिक्षाको अवस्थामा निकै कम भएकै कारणले आउनुपर्ने सबैकुराहरु अझै आउन सकेका छैनन् ।
तपाईं आफैं तीन दशकभन्दा लामो समयदेखि लेखन र अनुसन्धानमा आवद्ध हुनुहुन्छ । शुरुवात र हालसम्मको लेखनको इतिहासलाई कसरी हेर्नुहुन्छ ?
तामाङ लेखनको इतिहास हेर्दा प्रजातन्त्र प्राप्तिपछि मात्र देखिन्छ । वि.सं. २००७ सालको परिवर्तनका लागि नेपालभन्दा बाहिर दार्जिलिङ, सिक्किम, आसाम, कलकत्ता लगायतका ठाउँमा बसेका थुप्रै जनजातिहरुले राणा शासन हटाउन योगदान गरेका थिए । त्यसमा पनि शन्तवीर लामा, बुद्धिमान मोक्तान र द्वितीय विश्वयुद्ध सकाएर फर्केर आएकाहरु पनि थिए । राणा शासनको अन्त्यपछि उनीहरुमा एक किसिमको बौद्धिक र नैतिक चेतना छायो । त्यतिबेला उनीहरुको सामिप्यता राजनीतिक कर्मीहरुसँग भयो । उनीहरुलाई हामी शोषित र पीडामा परेका रहेछौं र हाम्रो संस्कृतिमा मौलिकता छ भन्ने भयो ।
यही स्वरुपमा २०१३ सालतिर दार्जिलिङका लेखक बुद्धिमान मोक्तानले ‘जिक्तेन तामछ्योई’ भन्ने तामाङ भाषाको पहिलो पुस्तक प्रकाशन गर्नुभयो । उहाँको भेटघाट र सम्बन्ध शन्तवीर लामा पाख्रिनसँग भयो । उहाँले पनि सूर्यविक्रम ज्ञवाली, बालकृष्ण सम लगायत व्यक्तिहरुसँग संलग्न भएर राणा शासनको क्रान्ति गर्नुभएको थियो । क्रान्तिपछि २०१५/०१६ सालतिर उहाँलाई इलामको बडाहाकिम बनाइएको थियो । त्यतिबेला तिम्रो आफ्नो धर्म, संस्कृतिबारे पुस्तक निकाल भनेर अलिकति प्रोत्साहन गरेकाले उहाँले ‘ताम्बा काइतेन ह्वाई रिमठिम: तामाङका पुर्ख्यौली रीतिथिति र गीत’ पुस्तक निकाल्नुभयो । यो दुई वटा पुस्तक सर्वप्रथम दार्जिलिङबाट नै प्रकाशनमा आएको थियो । पहिलो पुस्तक ‘जिक्तेन तामछ्योई’मा सबै कुरा धर्म, विशेषगरी संस्कारका कुराहरु बढी र समाजका कुराहरु अलिअलि थिए ।
ती सबै कुराहरु मातृभाषामा रहेको कारणले त्यति लोकप्रिय भएन । पछि शन्तवीर लामाले चाहिँ मोडिफाई गरी तामाङ गीतहरु पनि संकलन गरेर नेपाली अनुवाद सहित धर्म, संस्कृति, गीत, मनोरञ्जन, समाजका सबै कुराहरु नेपाली र तामाङ भाषामा ल्याउनुभयो । त्यो किताब त्यतिबेला दार्जिलिङमा व्याप्त भयो । पछि उहाँ बडाहाकिम भएर इलाम र झापामा आफ्नो कार्यकाल सकिएपछि २०२५ सालतिर ज्ञानेश्वर टंगालमा राणाहरुले दिएको घरमा आएर उहाँ परिवारसहित बस्नुभयो ।
पछि उहाँको सम्पर्क रत्न पुस्तकसँग भयो । २०२५ सालतिर ‘ताम्बा काइतेन ह्वाई रिमठिम’ पहिलोपटक संस्करण आएपछि यति बिक्यो कि अहिले २२, २४ र २५ भन्दा बढी संस्करणहरु आइसकेका छन् । यसले पनि के प्रमाणित गर्छ भने हाम्रो संस्कृति, इतिहास, धर्मका विषयवस्तुहरु हामीलाई आवश्यकता छ भन्ने देखाउँछ । यस मानेमा केही किताबहरु आए तर त्यति धेरै आउन सकेन । यो किताबको लोकप्रियतालाई अरुले कभर गर्न सकेको छैन । जसरी नेपाली इतिहासमा भानुभक्तको रामायण छ, यसको पनि तामाङ समुदायमा उत्तिकै महत्व छ ।
पञ्चायतकाल र प्रजातन्त्र पुनर्बहालीपछि लेखनको अवस्था कस्तो रह्यो ?
बुद्धिमान मोक्तान, शन्तवीर लामा लगायतका व्यक्तिहरु राणा कालमा ‘हामी शोषित थियौं’ भनेर प्रजातन्त्रमा लागेका सेनानीहरु हुनुहुन्थ्यो । उहाँहरुले शुरु गर्नुभएको पुस्तक प्रकाशनको सन्दर्भ पञ्चायत कालमा त्यति फस्टाउन सकेन । त्यतिबेला सेन्सर सिस्टम र अन्य कारणहरुले प्रकाशन हुन सकेन । तैपनि उहाँकै चेला काभ्रे दाप्चाका झ्याम्याङ लामाले २०२२ सालमा ‘तामाङ डम्फाला काइतेन’ र २०३८ सालमा ‘रुइछेन च्याप्के ताम्बा काइतेन ह्वाई’ गीति पुस्तकहरु निकाल्नुभएको थियो । यही कालखण्डमा डाक्टर गणेश योञ्जन, चन्द्रध्वज लामाहरु आउनुभयो । त्यतिधेरै किताबहरु नआएपनि पञ्चायत कालमा साना–साना पर्चाहरु थुप्रै आएको देखिन्छ । जब पञ्चायत काल ढलेर प्रजातन्त्रको पुनर्थास्पना भएपछि आफ्नो पहिचान के हो भन्ने सबै जना खुल्ला रुपमा आउने क्रममा परशुराम तामाङ, सिताराम तामाङ, अमृत योञ्जन, प्रताप बल तामाङ लगायत म आफैं पनि देखा परेँ । यी सबै लेखकहरुले इतिहास, भाषा, संस्कृति, पहिचान लगायत थुप्रै किताबहरु निकाल्नुभयो । तर किताबहरु मातृभाषामा चाहिँ आएनन् । यो समयमा तामाङको मुद्दा आयो तर भाषा आएन । त्यसले पनि एउटा उचाइ दिएर तामाङ समुदायलाई सुसूचित बनाउने काम गर्याे । यसले हामी आदिवासी जनजाति हौं हामीलाई आरक्षित रुपमा राज्यले केही दिनुपछि भन्ने आवाज प्रत्यक्ष र अप्रत्यक्ष रुपमा उठान गर्यो । पछि केही राजनीति र आफ्नै जनजाति संगठनतिर लाग्नुभयो । यसपछि पुस्तक लेखन क्रम कम भयो ।
पछिल्लो ठ्याक्कै कुन समयदेखि लेखनमा सुस्तता आउन थाल्यो ?
२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन व्यवस्था आफ्नो हातमा लिएपछि र २०६२/०६३ को जनआन्दोलनपछि लेखनमा झन कमी आयो । त्यही अवधि र पछि जति लेखिएको थियो, त्यहीबाट हामीले केही उपलब्धि प्राप्त गर्यौं । २०६२/०६३ को जनआन्दोलनपछि जनजातिहरुले आ–आफ्नो पहिचान र राज्यका कुरा उठाए । उठाएका कुराहरु नपाएपछि मान्छेहरुमा लेखनमा समेत नैराश्यता छायो । बौद्धिक लेखनमा समेत यो समयदेखि ह्रास हुँदै आएको देखिन्छ ।
अहिले नयाँ पुस्तामा लेखनको अवस्था कस्तो देखिन्छ ?
अहिले नयाँ पुस्तामामा मातृभाषा लेखन आएको देखिन्छ । नेपाल अधिराज्यको संविधान २०४७ मा मातृभाषामा शिक्षाको प्रावधान र मातृभाषामा शिक्षालाई पहिलोपटक अन्तरिम संविधान २०६३ ले संवैधानिक मान्यता दिएपछि किताब लेखनको परम्परा एकातिर र अर्कोतिर साहित्यिक परम्परा पनि शुरुवात भएको छ । अहिले मातृभाषा नै उपन्यास, कथा, लोककथा, कविता, गजल, अनुवाद तथा गोष्टीहरु भएको पाइन्छ । यसमा महाकाव्य बाहेक सबै विधाहरु अगाडि देखिएको छ ।
यसमा मुख्य चुनौती के देखियो ?
व्यक्तिगत रुपमा लगानी गरेर यसमा सम्भव नहुने देखिएको छ । राज्यबाट आर्थिक सपोर्टहरु प्राप्त नभएपछि यसलाई निरन्तरता दिनलाई सकिरहेको छैन । राज्यले पनि यसलाई मान्यता दिन नसकिरहेको अवस्थामा मातृभाषा लेखन पछिल्लो अवस्थामा अझै सुस्ताएको देखिन्छ । यसमा राज्य तथा समाजको कुरा एकातिर र भाषाका कुरा पनि आफ्नै ठाउँमा छन् ।
हामी आफैं पनि हाम्रो लेखन कसले पढ्ने, यो लेखेर, जानेर वा यसको उपलब्धि के हुन्छ भन्ने अवस्था छ । अरु लेखनसँग दाँजेर हेर्दा व्यावसायिक रुपमा अगाडि बढ्न सकिएको छैन । पुस्तकमा हुनुपर्ने प्राज्ञिकता नहुँदा पनि हामी क्रमश ओझेल पर्दै गएको देखिन्छ । भर्खरै पनि बागमती प्रदेशमा सरकारी कामकाजी रुपमा नेवारीसँगै तामाङ मातृभाषाको मान्यता दिएकाले लेखनका लागि टर्निङ पोइन्ट होला कि भन्ने आशा छ । यसमा प्रत्येक स्थानीय तहले तामाङ शिक्षामा अनिवार्य गरेमा लिपि र पाठ्यपुस्तकको संख्या वृद्धि हुनेछ तर पुस्तक लेखनकै हिसाबमा नयाँ पुस्ताले लिए भने केही परिवर्तन होला । होइन भने राम्रै होला भन्ने वातावरण पनि देखिँदैन ।
तपाईंकै अनुभवमा समुदायबाट लेखक जन्मनुपर्छ पर्छ कि पर्दैन ?
समुदायलाई उठाउन समुदायबाट लेखक जन्मन एकदमै जरुरी छ । हाम्रो संस्कृति, पहिचान र आवाजहरुलाई पुस्तकमा उठाउन सकियो भने हाम्रो कुरा जुगजुगसम्म रहन्छ । पत्रकारिताबाट नै लेखनमा ल्याउन र आउन सकिन्छ । यसबाट नै हाम्रो स्रोत, प्रमाणहरु कहाँ छन्, कसरी ल्याउने, कसरी उठाउनुपर्छ भन्ने कुराहरु पत्रकारिताकै फर्माटमा आउँदा पुस्तक लेखनमा जान सकिन्छ । हामीले लेखकमा रुपान्तरण गर्न सक्यौँ भने राम्रो सम्भावना छ । तर अबको पुस्तक लेखन परिचयात्मकभन्दा प्रमाणका आधारमा विश्लेषणात्मक आउन जरुरी छ । हाम्रो समुदाय मात्र नभएर गैर समुदाय र विदेशी अध्यताहरुका लागि पनि यो आवश्यक छ ।
अहिलेको तामाङ समुदायको लेखनमा खासमा के छुटिरहेको छ ?
तामाङ समुदायको अहिलेको लेखनमा प्रमाणहरु छुटिरहेका छन् । अमृत योञ्जन, परशुराम तामाङ लगायतका लेखकहरुले पूर्व स्रोतका प्रमाणहरुलाई लिएर लेख्नुभएको छ । अहिले लेखकहरुले प्रमाणभन्दा पनि भावनाका कुराहरु लेखिदिनुभएको छ । प्रमाणका आधारमा नलेखिदिँदा पुस्तकमा हुनुपर्ने वजन कम भएको छ । त्यसैले हामीले प्रमाण र तथ्य खोजेर नै लेख्न जरुरी छ । विदेशी अध्यतादेखि अनुसन्धान गर्नेे लेखक, संस्थाहरुले समेत आधिकारिक स्रोत खोज्ने भएकोले यसमा राम्रो भविष्य देखिन्छ । अहिले जनजाति र पहिचानका पुस्तकहरु मात्र नभएर फिल्महरुको पनि उत्तिकै चासो देखिन्छ । ‘यिनिहरु भित्र के छन् त ?’ भन्ने चासो गैर समुदायलाई उत्तिकै भएकोले हामीले हाम्रा पुस्तकहरुमा ती कुराहरु ल्याउन सक्नुपर्छ ।
यो समयमा युवाहरुलाई मातृभाषी लेखनमा कसरी समेट्न सकिएला ?
हरेक समुदायका युवा पुस्ता मात्र नभएर सबै मानिसहरुले आफ्नो स्वःपहिचान र स्वःइतिहासका कुराहरु अनुभव गर्न जरुरी छ । हामीले आफ्नो निमित्त पनि हामी के हौं, हाम्रो जाति के हो, हाम्रो संस्कृति के छ, यसका वैज्ञानिक कारणहरु के रहेछन्, यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर मध्यनजर राखेर अध्ययनकै लागि थेसिसकै रुपमा एउटा पुस्तक जन्माइदिने हो भने मातृभाषा लेखनको भविश्य राम्रो देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया