मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाको भरमा

काठमाडौं– कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाको भरमा हुने गरेको छ ।

सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था यथावत छ ।

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष अहिलेसम्म देशभर ९ दशमलव ८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । गत वर्ष असार १५ गतेसम्म करिब ८ दशमलव ७५ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष मनसुन छिटो भित्रिए पनि ढिलो सक्रिय हुँदा धान रोपाइँ सन्तोषजनक नरहेको बताए ।

मन्त्रालयको तथ्याङ्कअनुसार कोशी प्रदेशमा असार १२ गते सम्ममा धान रोपाइँ ५ दशमलव ६ प्रतिशत भएको छ । सो प्रदेशमा गत वर्ष असार १० गतेसम्म ६ दशमलव ५ प्रतिशत धान रोपाइँ भएको थियो ।

पूर्वी क्षेत्रमा ढिलो गरी धान रोप्ने गरिन्छ । मधेस प्रदेशमा भने गत वर्ष र यस वर्ष बराबर नै रोपाइँ भएको पाइएको छ । सो प्रदेशमा यस वर्ष २ दशमलव ५ प्रतिशत मात्रै धान रोपाइँ भएको तथ्याङ्क छ । गत वर्ष सोही अवधिमा २ दशमलव ५ प्रतिशत नै रोपाइँ भएको थियो ।

यसैगरी बागमती प्रदेशमा यस वर्ष ५ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा १८ दशमलव ३ प्रतिशत रोपाइँ भएको थियो । गण्डकी प्रदेशमा गत वर्ष यही समयमा ६ दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८ दशमलव ३ प्रतिशत रोपाइँ भएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा यस वर्ष अघिल्लो वर्षको तुलनामा कम रोपाइँ भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा १० दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८ दशमलव ८ प्रतिशत रोपाइँ भएको छ ।

कर्णाली प्रदेशमा गत वर्ष २२ दशमलव ६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष २३ दशमलव ९ प्रशित रोपाइँ भएको छ ।

सुदूरपश्चिममा गत वर्ष २२ दशमलव ६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष हालसम्म २५ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिममा अन्य प्रदेशभन्दा चाँडो रोपाइँ सुरु हुने भएकाले अन्य प्रदेशको तुलनामा बढी रोपाइँ भएको सूचना अधिकृत जोशीको भनाइ छ ।

सूचना अधिकृत जोशीका अनुसार साउन महिनाको अन्तिमसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न हुने प्रक्षेपण गरिएको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०–८१ को जेठ मसान्तसम्ममा ८८ करोड ६५ लाख बराबरको धानको बीउ आयात गरिएको छ । सो अवधिमा करिब ११ अर्ब ५५ करोडको धान आयात गरिएको छ । सो अवधिमा आठ अर्ब ६९ करोड बराबरको चामल तथा नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ ।

जलस्रोत तथा सिँचाइ विभागको तथ्याङ्कअनुसार करिब २५ लाख ३० हजार हेक्टर सिँचाइ योग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी सिँचाइको संरचना निर्माण गरिएको छ । तर करिब एक तिहाइ भूमिमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुन सकेको विभागद्वारा २०८० चैतमा प्रकाशित ‘जलस्रोत तथा सिँचाइ वार्षिक पुस्तिका’मा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?