मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज असार १५ : धान दिवस मनाइदै

काठमाडौँ –  आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै रोपाईं जात्राका रूपमा मनाउने गरिन्छ ।

आजको दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ ।  

कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरूले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । आज २१औँ धान दिवस ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि ’ भन्ने नाराका साथ मनाइँदै छ ।

प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो । हाम्रो सन्दर्भमा धानले आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व राख्दछ । यसर्थ, धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि हो ।

धानमा अन्तर्निहित यिनै विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ ।

यसै सन्दर्भमा यस वर्ष “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ विभिन्न कार्यक्रमहरू सहित मनाउन लागिएको छ ।

जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरूको प्रचार प्रसार गरी तिनको अवलम्बन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरूलाई सचेत र जागरूक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने सन्देश यस वर्षको नाराले दिएको छ ।

यस वर्षको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको उपलक्ष्यमा आषाढ १४ मा नेपाल कृषि अनुसन्धान परिषद् परिसर खुमलटारमा राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने माननीय सदस्यज्यूको प्रमुख आतिथ्यतामा आइआरआरआई र बिआरआरआईका प्रतिनिधिहरू एवं अन्य सरोकारवालाहरूको सहभागितामा धान विशेष अन्तरक्रिया कार्यक्रम (राइस सिम्पोजियम) सञ्चालन हुने तय गरिएको छ ।

आज चितवनको बछौलीमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा रोपाइँ मूल समारोह गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने कार्यक्रम रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?