काठमाडौँ – चलचित्र विकास बोर्डले भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को प्रदर्शन रोकेको छ ।
१३ वर्षपछि गत शुक्रबार अर्थात् असार ७ गतेबाट पुनः प्रदर्शनमा आएको फिल्म विकास बोर्डले एक सातामै रोकेको हो ।
फिल्म पाँच वर्षपछि पुनः प्रदर्शन गर्दा सेन्सर गर्नुपर्ने प्रावधान भए पनि ‘आचार्य’को सेन्सर नगरिएको भेटिएपछि यस्तो कदम चालिएको बोर्डले जनाएको छ । बिहीबारदेखि देशभरका हलबाट फिल्म हटिसकेको छ ।
तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले ‘आचार्य’को प्रदर्शनको विषयमा बोर्डसँग स्पष्टीकरण सोधेको थियो । यसपछि बोर्डको अनुगमन समितिले अनुगमन गर्दा सेन्सर प्रक्रिया पूरा नगरी चलचित्र चलिरहेको भेटिएपछि प्रदर्शन स्थगित गरिएको जनाइएको छ ।
‘आचार्य’का निर्माता रोशन राईले भने चलचित्रलाई सेन्सर गर्न प्रयास गरेको भए पनि कानुनी प्रावधानले गर्दा सम्भव नभएको प्रतिक्रिया दिएका छन् ।
फिल्म गायक आचार्यप्रति श्रद्धाञ्जली स्वरूप पुनः प्रदर्शन गरिएको थियो । प्रशान्त रसाइलीको निर्देशनमा बनेको चलचित्रमा सत्यराज आचार्य, सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायतको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया