काठमाडौँ– फिल्म ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको यो फिल्म असार २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
सिनेमाको सार्वजनिक एक युवाले बिहेको लागि गर्ने संघर्षको वरिपरि सिनेमाको कथा घुमेको देखिन्छ । सिनेमाको ट्रेलरले ‘घरज्वाइँ’को कथासार बुझाउन सफल छ । सार्वजनिक ट्रेलरले दर्शकलाई सिनेमाप्रति कौतुहल्ता जगाउन सफल हुने विश्वास निर्देशक अनिल बुढामगरको छ ।
मगर समुदायको संस्कार तथा संस्कृतिमा आधारीत सिनेमालाई विश्वभर छरिएका नेपालीलाई मगर समुदायमा प्रचलित ‘घरज्वाइँ’ प्रथाको बारेमा जान्ने र बुझ्ने अवसर दिने निर्माता जनक घर्ती मगरले बताए । हामीले ५ वर्ष लामो रिसर्च पश्चात सिनेमा निर्माण गरेकाले पनि टेक्निकल पक्षलाई उत्कृष्ट बनाउन सफल भएको निर्माता घर्ती मगरको दाबी छ ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
सिनेमाका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया