काठमाडौँ- जर्मनीमा जारी युरो कपका समूह चरणका खेलहरु सम्पन्न भएसँगै नक आउट समीकरण पूरा भएको छ । २४ टिमलाई ६ समूहमा बाँडिएको प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टिम तथा समूह चरणमा तेस्रो हुनेमध्ये उत्कृष्ट चार टिम पनि शीर्ष १६ मा परेका छन् ।
यसअनुसार समूह ‘ए’बाट आयोजक जर्मनी र स्विट्जरल्याण्ड अर्को चरण प्रवेश गरेका छन् । जर्मनी समूहको शीर्ष स्थानमा रहँदै नक आउट चरणमा पुगेको हो ।
जर्मनीले तीमध्ये दुई खेलमा जित एकमा बराबरी खेल्दै ७ अंक बटुल्यो । उसले स्कटल्याण्ड र हंगेरीलाई पराजित गर्यो भने स्विट्जरल्याण्डसँग बराबरी खेल्यो । यस समूहमा स्विट्जरल्याण्डले एक खेलमा जित र दुई खेलमा बराबरी खेल्दै ५ अंक बटुल्यो ।
स्विट्जरल्याण्डले हंगेरीलाई पराजित गरेको थियो भने स्कटल्याण्ड र जर्मनीसँग बराबरी खेलेको थियो । समूह ‘ए’मा रहेका हंगेरी र स्कटल्याण्ड भने समूह चरणबाटै घर फर्किए । समूह ‘बी’बाट भने स्पेन र इटाली अर्को चरणमा प्रवेश गरे ।
स्पेनले खेलेका तीन खेलमा शत प्रतिशत नतिजा निकाल्यो । समूहको शीर्ष स्थानमा रहेको स्पेनले इटाली, क्रोएशिया र अल्बानियालाई पराजित गर्यो । इटालीले भने एक खेलमा जित, एकमा बराबरी र एकमा हार व्यहोर्यो ।
इटालीले अल्बानियालाई पराजित गरेको थियो भने क्रोएशियासँग बराबरी खेलेको थियो, स्पेनसँग भने इटालीले हार व्यहोरेको थियो । यस समूहबाट क्रोएशिया र अल्बानिया भने समूह चरणबाटै बाहिरिए ।
समूह ‘सी’बाट भने इङ्ग्ल्याण्ड, डेनमार्क र स्लोभिनिया क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै शीर्ष १६ मा पर्न सफल भए । इङ्ग्ल्याण्डले तीनमध्ये एक खेलमा जित र दुईमा बराबरी खेल्यो ।
इङ्ग्ल्याण्डले सर्बियालाई पराजित गर्यो भने डेनमार्क, स्लोभिनिया र डेनमार्कसँग बराबरी खेल्यो । त्यस्तै, दोस्रो र तेस्रो स्थानमा रहेका डेनमार्क र स्लोभिनियाले तीनमध्ये तीन वटै खेलमा बराबरी खेले । यो समूहबाट सर्बिया भने अर्को चरण पुग्न सकेन ।
समूह डीबाट भने अस्ट्रिया, फ्रान्स र नेदरल्याण्ड्स क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै शीर्ष १६ मा पर्न सफल भए । शीर्ष स्थानको अस्ट्रियाले दुई खेलमा जित र एकमा हार व्यहोर्यो ।
अस्ट्रियाले फ्रान्ससँग हार व्यहोर्यो भने नेदरल्याण्ड्स र पोल्याण्डलाई पराजित गर्यो । फ्रान्सले एक खेलमा जित हासिल गर्दा दुई खेलमा बराबरी खेल्यो । अस्ट्रियालाई पराजित गरेको फ्रान्सले पोल्याण्ड र नेदरल्याण्ड्ससँग भने बराबरी खेलेको थियो ।
त्यसैगरी, तेस्रो स्थानको नेदरल्याण्ड्सले तीनमध्ये एकमा जित एकमा हार र एकमा बराबरी खेल्यो । अस्ट्रियासँग पराजित भएको नेदरल्याण्ड्सले फ्रान्ससँग बराबरी खेल्यो भने पोल्याण्डलाई पराजित गर्यो । यस समूहबाट पोल्याण्ड अर्को समूह पुग्न असफल भयो ।
समूह ‘ई’बाट भने रोमानिया, बेल्जियम र स्लोभाकिया अर्को चरण पुगे । रोमानिया प्रथम, बेल्जियम दोस्रो र स्लोभाकिया तेस्रो हुँदै अर्को चरण प्रवेश गरेका हुन् । तीनवटै टिमले एक खेलमा जित, एकमा बराबरी र एक खेलमा पराजय व्यहोरे । रोमानियाले युक्रेनलाई पराजित गरेको थियो भने बेल्जियमसँग पराजित भएको थियो ।
रोमानियाले स्लोभाकियासँग भने बराबरी खेलेको थियो । रोमानियालाई पराजित गरेको बेल्जियमले स्लोभाकियासँग हार व्यहोरेको थियो भने युक्रेनसँग बराबरी खेलेको थियो । त्यसैगरी, बेल्जियमलाई पराजित गरेर रोमानियासँग बराबरी खेलेको स्लोभाकियाले युक्रेनसँग हार व्यहोरेको थियो । यस समूहको युक्रेन अर्को चरण पुग्न सकेन ।
समूह ‘एफ’बाट भने पोर्चुगल, टर्किए र जर्जिया क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै अर्को चरण पुग्न सफल भए । पोर्चुगल र टर्किएले दुई खेलमा जित र एकमा पराजय व्यहोरे भने जर्जियाले एकमा जित एकमा बराबरी र अर्को खेलमा पराजय व्यहोर्यो ।
पोर्चुगलले चेकिया र टर्किएलाई पराजित गर्यो भने जर्जियासँग हार व्यहोर्यो । पोर्चुगलसँग पराजित भएको टर्किएले चेकिया र जर्जियालाई हारको स्वाद चखायो । उता पोर्चुगललाई पराजित गरेर टर्किएसँग हार व्यहोरेको जर्जियाले चेकियासँग भने बराबरी खेल्यो ।
अब आगामी शनिबारबाट नक आउट चरणका खेलहरु हुँदैछन् । नक आउट चरणको पहिलो खेलमा समूह ‘ए’को दोस्रो स्थानमा रहेको स्विट्जल्याण्डले समूह ‘बी’को दोस्रो स्थानमा रहेको इटालीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली समयअनुसार बेलुकी पौने दश बजे शुरु हुने खेल बर्लिनको ओलम्पियास्टाडियोनमा हुनेछ ।
त्यसैगरी, नक आउटको दोस्रो खेलमा नेपाली समयअनुसार आइतबार सबेरै पौने एक बजे समूह एको शीर्ष स्थानमा रहेको जर्मनीले समूह सीको दोस्रो स्थानमा रहेको डेनमार्कको सामना गर्नेछ ।
यो खेल ड्रटमण्डको सिग्नल इजुना पार्कमा हुनेछ । नक आउट चरणको अर्को खेलमा भने समूह सीको शीर्ष स्थानको इङ्ग्ल्याण्डले समूह ईको तेस्रो स्थानमा रहेको स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । ग्लेजेनकियर्सहानको एरिना औफशाल्कामा आयोजना हुने यो खेल आइतबार बेलुकी पौने १० बजे हुनेछ ।
अर्को खेलमा भने समूह ‘बी’को शीर्ष स्थानमा रहेको स्पेनले समूह ‘एफ’को तेस्रो स्थानमा रहेको जर्जियासँग प्रतिस्पर्धा गर्नेछ । आगामी सोमबार सबेरै पौने १ बजे शुरु हुने यो खेल कोलोनस्थित राइनएनर्जीस्टाडियोनमा आयोजना हुनेछ । नक आउटको पाचौँ खेलमा भने सोमबार बेलुकी पौने १० बजे समूह डीको दोस्रो स्थानमा रहेको फ्रान्सले समूह ‘ई’को दोस्रो स्थानमा रहेको बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खेल डसेलडर्फको मेर्कुर स्पिएल एरिनामा आयोजना हुनेछ । मंगलबार सबेरै पौने १ बजे समूह ‘एफ’को शीर्ष स्थानमा रहेको पोर्चुगल र समूह ‘ई’को तेस्रो स्थानमा रहेको स्लोभिनियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल फ्राङ्कफर्टको डोइच बैंक पार्कमा आयोजना हुनेछ ।
अर्को खेलमा समूह ‘ई’को शीर्ष स्थानमा रहेको रोमानिया र समूह ‘डी’को तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्बीच मंगलबार नै पौने १० बजे खेल हुनेछ । यो खेल म्युनिखमा रहेको आलियान्ज एरिनामा आयोजना हुनेछ ।
राउण्ड अफ १६ को अन्तिम खेल भने समूह ‘डी’को शीर्ष स्थानमा रहेको अस्ट्रिया र समूह ‘एफ’को दोस्रो स्थानमा रहेको टर्किएबीच हुनेछ । बुधबार सबेरै पौने १ बजे शुरु हुने यो खेल लाइपजिगस्थित रेड बुल एरिनामा आयोजना हुनेछ ।
राउण्ड अफ १६ मा जित हात पार्ने टिम क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् भने पराजित टिम घर फर्किनेछन् । यस प्रतियोगिताको क्वार्टरफाइनलका खेलहरु ५ जुलाईबाट शुरु हुनेछन् । क्वार्टरफाइनलका विजेताहरुबीच जुलाई १० बाट सेमिफाइनलका खेलहरु आयोजना हुनेछन् ।
यस प्रतियोगिताको फाइनल भने जुलाई १५ मा हुने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया