के–पप भनिने दक्षिण कोरियन पप सङ्गीतले विश्वभर तहल्का पिट्दै आएको छ । खासगरी युवापुस्ता र किशोरकिशोरी के–पप भन्नेबित्तिकै हुरुक्कै हुन्छन् । विश्वव्यापीकरणले गर्दा पनि होला, के–पपले कोरियाली सीमा पार गरेर अमेरिका, युरोप र एसियाली मुलुकमा समेत तहल्का मच्चाएको छ ।
विश्वमा के–पपका सङ्गीत र म्युजिक भिडियो मात्रै होइन यस पछाडिका गायकगायिका र ब्याण्डहरु पनि उत्तिकै रुचाइएका छन् । युवा र किशोरकिशोरीमाझ बीटीएस, ब्लाक पिंक, साई, एफटी आइल्याण्ड, गल्र्स जेनेरेसन, मोमोल्याण्ड सुपरजुनियर, रेड भेल्भेट, ताइएह्युन, जे पार्क, जिमिनजस्ता के–पप ब्याण्ड र कलाकारले पनि विश्वमा उत्तिकै लोकप्रियता कमाएका छन् । के–पपक कारण पनि विश्वका मानिसहरुमाझ दक्षिण कोरिया र कोरियाली जनताप्रति सकारात्मक छवि स्थापित हुन पुगेको छ ।
खासमा भन्दा के–पप कोरियाली पप सङ्गीतको एउटा विधा हो । सङ्गीत प्रस्तुतीको फरक शैली, गायक गायिकाको पहिरन, सौन्दर्यचेत, उनीहरुको जीवनशैलीजस्ता कुराले पनि के–पपको लोकप्रियताले आकाश छोएको विश्लेषण गरिन्छ ।
रक, हिपहप, आर एण्ड बी, इलेक्ट्रोनिक र डान्सजस्ता सङ्गीतका अरु विधालाई पनि समेट्दै कोरियाली शैलीका विशिष्ट सङ्गीत उत्पादन गर्दै आएको के–पप मनोरञ्जन क्षेत्रको प्रभावशाली उद्योगका रुपमा पनि स्थापित भइसकेको छ ।
संयुक्त राष्ट्रसंघको व्यापार एवम् विकास निकायका अनुसार दक्षिण कोरियाले सिर्जनात्मक उद्योगबाट सन् २०२१ मा १२ अर्ब ४० करोड अमेरिकी डलरभन्दा धेरै आम्दानी गरेको थियो ।
कहिलेबाट शुरु भयो के–पप
दोस्रो विश्वयुद्धपछि शुरु भएको कोरियाली युद्धका क्रममा हजारौँ अमेरिकी सैनिक दक्षिणमा तैनाथ थिए । उनै अमेरिकी सैनिकले कोरियामा पहिलो पटक पाश्चात्य सङ्गीत भित्र्याएको बताइन्छ ।
कोरियाली युद्धपछि लामो समयसम्म कोरियामा अधिनायकवादी शासन थियो, जसले गर्दा कोरियाली सङ्गीत विश्वस्तरमा फैलिन पाएको थिएन । तर, दक्षिण कोरियामा ८० को दशकको अन्त्यतिर लोकतन्त्र स्थापित भयो ।
हालै लोकतान्त्रीकरणको प्रक्रियाबाट गुज्रिएको दक्षिण कोरियाले ९० को दशकको शुरुतिर उदारीकरणको अभ्यास थाल्यो । यसबाट कोरियाली मनोरञ्जन क्षेत्र पनि अछुतो रहेन ।
कोरियामा नयाँ नयाँ टेलिभिजन शो, चलचित्र तथा सङ्गीतको उत्पादन हुन थाल्यो । यस्ता टेलिभिजन शो, चलचित्र र सङ्गीतले शुरुमा चीन निर्यात हुन थाले । चाँडै नै चिनियाँहरुमाझ कोरियाली मनोरञ्जन सामग्री लोकप्रिय बन्दै गए ।
९० को दशकको अन्त्यतिर र २००० को शुरुतिर के–पपलाई विश्वभर ख्याति दिलाउन विश्वव्यापीकरणले ठूलो भूमिका खेल्यो । विश्वव्यापीकरणको शुरुवातका बेला कोरियाली सङ्गीत अन्तर्राष्ट्रियस्तरमा निर्यात हुँदै गर्दा यसले देशबाहिर, चीन, जापान, ताइवानसहित अन्य एशियाली मुलुकका सङ्गीत पारखीको मन जित्न पुग्यो ।
शुरुमा के–पपलाई अन्तर्राष्ट्रिय पारखीमाझ स्थापित गर्ने श्रेय भने सेओ ताइजी एण्ड ब्वाइज, एचओटी र सेक्स किसजस्ता पहिलो पुस्ताका कलाकारलाई जाने गरेको छ । धेरैले १९९० को दशकमा स्थापित सेओ ताइजी एण्ड ब्वाइज समूहलाई आधुनिक के–पप संसारभर परिचित गराएको जस दिने गरेका छन् ।
सेओ ताइजी र एचओटीजस्ता ब्याण्डले संसारभर परिचित गराएकोे के–पपले सन् २००० को दशकमा मात्रै अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाउन थालेको हो । सन् २००० को दशकमा बीओए, टीभीएक्सक्यू, बिग ब्याङजस्ता समूहले अन्तर्राष्ट्रियस्तरमै के–पपलाई स्थापित गर्न सफल भएका थिए । २०१० को दशक त अझ के–पपको स्वर्णयुग नै मानिन्छ ।
२०१० मा स्थापित बाङ्तान ब्वाइज (बीटीएस) अझै पनि के–पपको दुनियाँमा उत्कृष्ट ब्याण्ड मानिन्छ । पछि सन् २०१२ मा रिलिज भएको साईको ‘गङ्गनम स्टाइल’ त संसारभर सुपरहिट हुँदै युट्युबमा सबैभन्दा धेरै भ्युज बटुल्न सफलसमेत भयो ।
सन् २०१७ मा बीटीएसले अमेरिकी म्युजिक अवार्ड समारोहमा साङ्गीतिक प्रस्तुति नै दियो । सन् २०२० मा बीटीएसले सार्वजनिक गरेको ‘डाइनामाइट’ तत्कालै विश्वभर हिट हुन पुग्यो ।
युट्युब र स्पोटिफाईजस्ता सङ्गीत सञ्जालमा ट्रेन्ड नै स्थापित गर्न सफल के–पपको प्रभाव साङ्गीतिक क्षेत्रमा मात्रै सीमित भने छैन । विश्वभरका सङ्गीत पारखीको मन जित्न सफल के–पपले अहिले विश्वव्यापी फ्यासन र समग्र मनोरञ्जन क्षेत्रमा पनि गहिरो छाप छोडेको छ ।
सामाजिक सञ्जालमा के–पप सुन्ने पारखी र फ्यानहरुको एकता र उनीहरुको समान मनोरञ्जनचेतको प्रभाव भने हरेक ठाउँमा परेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया