काठमाडौँ– २० औँ शताब्दीको शुरुवातसम्म मानव सभ्यताका लागि हावामा चराजसरी उड्न पाए के हुन्थ्यो होला भन्ने मानिसको चासो केवल परिकल्पनामा मात्र सीमित थियो ।
हिन्दु कथाहरुमा पुष्पक विमानदेखि युनानी किंवदन्तीमा एकारस र डेडालसको कथा र चङ्गा उडाउने चिनियाँ प्रचलनसम्म मानव सभ्यताका लागि हवाई उडान एउटा जटिल कौतुहलताझैँ थियो ।
१८ औं शताब्दीमा फ्रान्समा हाइड्रोजन ग्यासले भरिएको बेलुनको विकास र १९ औं शताब्दीमा इंग्ल्याण्ड र जर्मनीमा प्रारम्भिक ग्लाइडर प्रयोगबाट मानव सभ्यताले आकाशमा उड्दा कस्तो महसूस हुन्छ भन्ने स्वाद चाखिसकेको थियो ।
तर, नवीन वैज्ञानिक प्रविधिको विकासबाट आकाशमा उड्ने मानव सपना साकार पार्ने श्रेय चाहिँ पक्कै पनि अमेरिकी अन्वेषक राइट दाजुभाइलाई नै जान्छ । जसले इन्जिन प्रविधि र एरोडायनामिक्स समीकरणको व्यवहारिक प्रयोगबाट आधुनिक हवाइजहाजको विकास गरे ।
अझ महत्त्वपूर्ण कुरा भनेको त राइट दाजुभाइले संसारलाई हेर्ने हाम्रो तरिकामा नै आमूल परिवर्तन ल्याइदिए । हवाइजहाजको विकासले एकातर्फ यात्रा समयमा छोटिएको छ भने अर्कोतर्फ निकट रुपमा अन्तरसम्बन्धित विश्व व्यवस्थाको विकास हुन पुगेको छ ।
यसबाट विश्व अर्थतन्त्र, सूचना संवाहन, साँस्कृतिक आदान प्रदानजस्ता प्रक्रियाले पनि गति लिएको छ ।
को थिए राइट दाजुभाइ ?
विल्बर र ओर्भिल मिल्टन राइट (राइट दाजुभाइ) का बुवा इसाई पादरी थिए । भनिन्छ, कामको कारणले मिल्टन प्रायः घरबाहिर नै रहन्थे । उनले सन् १८७८ मा एक दिन आफ्ना छोराहरुका लागि रबर ब्यान्डबाट चल्ने एउटा खेलौना हेलिकप्टर ल्याइदिएका थिए । त्यही खेलौनाबाट प्रभावित भएर राइट दाजुभाइले जहाज निर्माणको सोच बनाएको बताइन्छ ।
सन् १८८४ मा आफ्नी आमा गुमाएपछि दाजुभाइमध्येका कान्छा ओर्भिलले स्कूल छाडेर मुद्रण व्यवसाय सिक्न थाले । मुद्रणको काम सिकेको ओर्भिलले पछि आफ्नै पसल खोलेर व्यवसाय गर्न शुरु गरे । जहाँ उनीहरुले साइकल मर्मतदेखि लिएर आफैले साइकलको डिजाइन बनाएर बेच्ने काम गरे ।
सन् १८९२ मा दाजुभाइले आफ्नै साइकल वर्कसप शुरु गरे । त्यहीँबाट शुरु भयो उनको हवाइजहाज निर्माणको काम ।
उनीहरुले आफ्नो व्यवसायकै क्रममा यसअघि नै निर्माण भइसकेका उड्ने मेशिनहरुको अध्ययन तथा अनुसन्धान गरे । उनीहरुले हवाइजहाजका धेरै डिजाइनहरु पनि तयार पारेका थिए । तर, प्रारम्भमा उनीहरु सफल भने हुन सकेनन् ।
यसैबीच राइट दाजुभाइले विभिन्न यान्त्रिक परियोजना तथा वैज्ञानिक अनुसन्धानमा समेत काम गर्ने मौका पाए । यस्तै दाजुभाइले जर्मन पाइलट ओटो लिलिएनथलले गरेको अनुसन्धानका बारेमा पनि व्यापक अध्ययन गरे ।
ओटो लिलिएनथल एकप्रकारको ह्याङ्ग ग्लाइडिङमा नियन्त्रित उडान भर्ने पहिलो जर्मन इन्जिनियर थिए । जब १८९६ मा ग्लाइडर दुर्घटनामै परी उनको मृत्यु भयो, उनीहरुले ग्लाइडर उडान सहित थप खोज तथा प्रयोग गर्ने निर्णय लिए ।
यस्तै उनीहरुले जहाँजलाई हावामा उड्नको लागि जहाजमा पखेटाको पनि डिजाइन राख्नुपर्ने आवश्यकता महसुस गरे । र उनीहरुले फरक फरक लम्बाई र आकारका पखेटाहरु पनि निर्माण गरे ।
यसैको फलस्वरुप सन् १९०३ उनीहरुले आफ्नो महत्वपूर्ण योजनाअनुसार पखेटा र प्रोपेलरहरू भएको हवाईजहाज निर्माण गर्न सफल भए । जसमा हवाईजहाजको आवागमनलाई मार्गदर्शन वा नियन्त्रण गर्नको लागि पाइलटले प्रयोग गर्ने स्टेयर र यसलाई चलाउनको लागि इन्जिनको समेत प्रयोग गरिएको थियो ।
जसमा उडानको पहिलो प्रयास गरिएको थियो । १७ डिसेम्बर, सन् १९०३ मा नर्थ क्यारोलाइनाको किटी हकको एक पहाडमा गरिएको राइट फ्लायर नाम दिइएको वायुको तुलनामा बढी तौल भएको विमानले गरेको यो पहिलो उडान नै मानिन्छ । जुन करिब १२ सेकेण्डसम्म आकाशमा उड्न सफल भएको थियो ।
धेरै मानिसहरु राइट दाजुभाइले १७ डिसेम्वर १९०३ मा उत्तरी क्यारोलिनाको किटी हकमा गरेको यहीँ हवाई उडानलाई पहिलो हवाई उडान भन्ने कुरामा सहमत छन् । केही मिडिया पनि उनीहरुको आविष्कारको आलोचनामा उभिए ।
मिडिया त परको कुरा त्यसबेलाका उडान विशेषज्ञहरुले पनि उनीहरुको कुरामा विश्वास गरेनन् । त्यसपछि विल्बर युरोप गए ।
जहाँ उनले सर्वसाधारणलाई सम्झाउन र हवाईजहाज बेच्न सफल भए । फ्रान्समा विल्बरले धेरै सार्वजनिक उडानहरु भरे । जसमा उनले विभिन्न मुलुकका सरकारी कर्मचारी, पत्रकार र राजनितिज्ञहरुलाई समेत सहभागी गराए । सन् १९०९ मा बहिनी क्याथरीनसहित आफ्नो भाइसँग उडान भरेका राइट दाजुभाइले अमेरिका फर्कनुभन्दा पहिले युरोपमै जहाज बेचिदिए ।
भनिन्छ, राइट दाजुभाइले आफ्ना सहकर्मी र सहयोगी अनुसन्धानकर्ताहरुलाई पनि जहाज निर्माण श्रेय दिने गरेको र जीवनभर घनिष्ठ सम्बन्ध कायम राख्थे ।
परिणामहरूले भरिएको छोटो जीवन, अटल बुद्धि, अटल स्वभाव, ठूलो आत्मनिर्भरता र ठूलो नम्रताका सही कुरालाई स्पष्ट हेरे दृढतापूर्वक त्यसको अनुसरण गर्ने विल्बरको टाइफाइड ज्वरोका कारण १९१२ मे ३० का दिन निधन भयो ।
ओर्भिलले भने आफ्नो जीवनको अन्तिम तीन दशकहरू एयरोनटिक्स–सम्बन्धित बोर्ड र समितिहरूमा सेवा गरे । ओर्भिल र विल्भरले सम्पूर्ण जीवन अविवाहित नै बिताए । विल्भरको निधन भएको करीब ३ दशकपछि जनवरी ३०, १९४८ मा, हृदयघातबाट ओर्भिलको पनि निधन भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया