मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मौसम

यस वर्ष पहिलेभन्दा बढी पानी पर्ने, विपद् व्यवस्थापनका लागि स‍ंघीय सरकारको मुख ताक्दै स्थानीय तह

काठमाडौँ– ताप्लेजुङमा मनसुन शुरु भएदेखि नै भारी वर्षासँगै बाढी पहिरोबाट क्षति भयो । गत जेठ ३१ गते राति गएको पहिरोले ताप्लेजुङमा एकै परिवारको चार जना सदस्यको मृत्यु भएको छ । यस्तै चार घर बगाएर पाँच जनाको निधन भएको  छ ।

केही दिनअघि मात्रै भएको वर्षाले जिल्लाभरीका २५ घर परिवार बाढी पहिरोले विस्थापित भएका छन् । बाढी पहिरोको उच्च जोखिमले १३ घर र जोखिममा रहेको १२ घर विस्थापित भएको हो ।

बाढी पहिरोकै कारण चार वटा पुल, एउटा माइक्रो हाइड्रो पावर, अलैँचीसहितको बालीमा धेरै क्षति गरेको छ । साथै जिल्लाभरबाट ६१ वडामध्ये ४१ वटा वडामा उच्च जोखिम, १८ मध्यम र दुई न्यून जोखिममा छन् ।

संखुवासभामा गत जेठ ३१ गते आएको अविरल वर्षासँगै गएको पहिरोले तीन घर बगाउनुका साथै दुई दर्जनभन्दा बढी घर विस्थापित हुनपुग्यो । मनसुनजन्य प्रकोपकै कारण दुई जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।

यस्तै गरी बाढीपहिरोले खाँदबारी नगरपालिकाको खानेपानी मुहान र बिजुलीको पोल, तीन वटा पक्की पुलमा क्षति पुगेको छ ।

यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भागमा जेठ २८ गते नै शुरु भएको छ । सामान्य त नेपालमा जुन १३ बाट मनसुन भित्रिने भए पनि यस वर्ष तीन दिन अघि नै शुरु भएको छ । मनसुन अवधिमा मुलुकभर सामान्यतया एक हजार ४३० देखि एक हजार ५३० मिलिलिटर पानी पर्ने सम्भावना हुन्छ ।

विभागकी सूचना अधिकारी तथा मौसमविद् विभूति पोखरेलका अनुसार नेपालमा जेठ १९ गतेदेखि असोज २४ गतेसम्म मनसुन अवधि हो । यो समयमा सरदर ३५ देखि ५५ प्रतिशतसम्म वर्षा हुने सम्भावना रहन्छ ।

बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, सुदुर पश्चिमको भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा सरदर नै वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

मनसुन अन्य भूभागमा पनि क्रमिक रुपमा शुरु हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनमा औसतभन्दा बढी वर्षा हुँदा वर्षेनी बाढी पहिरो, डुबान लगायतको विभिन्न प्राकृतिक प्रकोप हुँदै आएको छ ।

यसले गर्दा पहाडी क्षेत्रमा बाढी र पहिरोले सर्वसाधारणको धनजनको क्षति र विस्थापनसँगै मृत्युको सामना गर्न बाध्य हुनुपर्छ भने तराईको समथर क्षेत्रमा डुबान तथा नदी कटानको समस्या हुँदै आएको पाइन्छ ।

गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरणका अनुसार आर्थिक वर्ष २०७९/०८० मा विपद्बाट ५५ करोड ७२ लाख २९ हजार रुपैयाँ बराबारको क्षति भएको थियो । सो वर्ष विपद्बाट एक हजार १८२ वटा विपद्को घटना भएको थियो ।

यसै गरी गत आर्थिक वर्ष २०८०/०८१ मा विपद्बाट ७८ करोड ९१ लाख तीन हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो । सो वर्ष एक हजार ७५२ वटा विपदजन्य घटना भएको प्राधिरणले जनाएको छ ।

यो वर्ष जोखिमको आंकलन र सरकारको तयारी

यो वर्ष पनि मनसुनजन्य घटनाबाट आउने विपद्बाट सर्वसाधारण नागरिक अछुतो हुने वाला छैन ।  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकको अनुसार यो वर्ष पनि मनसुनजन्य घटनाबाट करीब १८ लाख एक हजार नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।

समितिको बैठकका अनुसार यस वर्ष मनसुनजन्य घटनाबाट ८३ हजार परिवार प्रभावित हुने  र १८ हजार परिवारलाई उद्धार गर्नुपर्ने अनुमान गरिएको छ ।

मनसुनजन्य हुने घटनाको न्यूनीकरण रोकथाम, उद्धार तथा राहतको लागि प्राधिकरणले ‘कमाण्ड पोष्ट’ को पनि निर्माण गरिसकेको छ । सो ‘कमाण्ड पोष्ट’ले जोखिम न्यूनीकरण गर्नको लागि गर्नुपर्ने कार्यको पनि निर्धारण गरिएको छ ।

न्यूनीकरण कम गर्नको लागि सञ्चार माध्यमबाट सम्भावित जोखिमबारे सूचना जारी गर्ने, सम्बन्धित निकायलाई जानकारी गराउने, अन्तरनिकाय वा सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यक्रम रहेको छ । यस्तै गरी, जनताको गुनासोहरुको सम्बोधन गर्ने, पोष्टको नियमित बैठक बस्ने, खोज तथा उद्धार सामग्रीहरुको विवरणलाई अद्यावधिक गर्नेलगायतको कार्य निर्धारण गरिएको छ ।

तर पनि यी कार्यले मनसुनजन्य जोखिमलाई कम गर्ने आशा खासै लिन सक्ने अवस्था छैन ।

प्रकोपसँग लड्न संघीय सरकारको मुख ताक्दै स्थानीय तह

प्राकृतिक प्रकोपबाट अधिकांश स्थानीय तहको बस्ती तथा घरहरु जोखिममा रहे पनि बजेट अभावको लागि कुनै पनि कार्यक्रम सञ्चालन गर्न नसकेकोमा स्थानीय तह दुखेसो पोख्छन् । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा मात्रै बाढी पहिरोबाट करिब ३०० घरधूरी जोखिममा रहेका छन् ।

तर पनि बजेट अभावले सो जोखिमलाई टुलुटुलु हेर्ने बाहेक अन्य कुनै विकल्प नै नभएको गाउँपालिकाका प्रवक्ता जीतमान तामाङले जोय नेपाललाई बताए ।

उनले भने, ‘वडा नम्बर ३ को करिब ४ वटा बस्तीका ३०० घरधुरी बाढी पहिरोको जोखिममा छ । तर गाउँपालिकासँग जोखिम नियन्त्रणको लागि बजेट छैन । सम्बन्धित निकायमा पटक–पटक गुहार गर्दा पनि कुनै सुनुवाई हुन सकेको छैन ।’

उनका अनुसार गाउँपालिकाले अति जोखिम बस्तीलाई लक्षित गरी सुरक्षित आवास निर्माण गर्दै आएको छ । तीन काठे भवनको लागि गाउँपालिकाले तीन लाख रुपैयाँ बजेट विनियोजन गरी निर्माण गर्दै आएको उनले सुनाए ।

उनका अनुसार पहिरोबाट गत वर्ष मात्रै दुई वटा घर बगाएर लगाएको थियो । ‘अस्ति भर्खरै मात्रै स्थानीयको दुई वटा भैँसी पहिरोले बगाएर मर्‍यो, सडक अवरुद्ध भयो,’ उनले भने ।

बाढी पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना सञ्चालन गर्नुपर्ने भएकोले गाउँपालिकासँग पर्याप्त बजेट नभएको उनको गुनासो छ । रोकथामको लागि गाउँपालिकाले संघीय सरकारको मुख ताकेर बस्नु परेको उनको भनाइ छ ।

सप्तरीको रुपनी गाउँपालिकामा पनि पालिका क्षेत्रमा आउने बाढीले बर्षेनी जग्गा कटानीसँगै घर बगाउँदै आएको छ । तर गाउँपालिकासँग पर्याप्त स्रोत तथा साधन नभएकाले रोकथामको लागि बाँध बाध्नेबाहेक अन्य कुनै कार्यक्रम सञ्चालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले बताए ।

उनका अनुसार गाउँपालिकाको वडा नम्बर  १, २, ५ र ६ का बस्तीहरु नदी कटानको बढी जोखिममा रहेका छन् ।

गाउँपालिकामा असारदेखि भदौँ मसान्तसम्म वर्षेनी सो समस्या भोग्नु परेको उनको भनाइ छ । समस्या समाधानको लागि गाउँपालिकाले मात्रै नसक्ने भएकाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आए पनि कुनै सुनुवाई नभएको उनको गुनासो छ ।

उता रौतहटको दुर्गा भगवती गाउँपालिकाको करिब ५० हेक्टर जग्गालाई वर्षेनी नदी कटानले बगाएर लैजान्छ । नदि कटानकै कारणले कतिपय स्थानीय घरबार बिहीन हुन लागिसकेका छन् । तर पनि गाउँपालिका तथा संघीय सरकारबाट नदी कटानको समस्या रोकथामको लागि कुनै पनि कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।

गाउँपालिका अध्यक्ष शम्भुकुमार सिंहका अनुसार गाउँपालिकाले मात्रै सोको लागि आवश्यक बजेट विनियोजन गर्न नसकेकोले वर्षेनी समस्या भोग्दै आउनु परेको हो । उनका अनुसार गाउँपालिकालाई पूर्वमा बागमति नदी, उत्तर र दक्षिणमा धापखोला र उत्तरमा धोबीखोलाले घेरेको छ ।

मुलुकभरका स्थानीय तहमध्ये सबैभन्दा पीडित गाउँपालिका भएकाले संघीय सरकारका विभिन्न मन्त्री तथा सरोकारवाला निकायलाई भेटेर सहयोगको लागि अनुरोध गर्दै आए पनि कुनै सुनुवाई नभएकोमा उनले दुखेसो पोखे ।

उनका अनुसार नदिले गाउँपालिकाको एक सय मिटरभन्दा माथिसम्मको जग्गालाई कटानी गर्दै बगाएर लगेको छ । 

सो जग्गाको संरक्षणको लागि गाउँपालिमा बाँध निर्माण गर्न जरुरी रहेको उनको भनाइ छ । तर गाउँपालिकालाई चारैतिरबाट खोला तथा नदीले घेरेकोले गर्दा सबैतिर बाँध निर्माण गर्नुपर्न र त्यसको लागि अन्य निकायको मुख ताक्नुपर्ने उनको भनाइ छ ।

नदी कटानले जग्गा मात्रै नभइ घर नै बगाएर लैजाने, घरमा माटो बगाउने समस्यासमेत भएको उनले सुनाए ।

जोखिमलाई कम गर्नको लागि गाउँपालिकाले स्थानीय विद्यार्थी तथा युवालाई नदीमा डुङ्गा चलाउनको तालिम दिएको उनले बताए । गाउँपालिकाले नदिमा काठमा डुङ्गा निर्माण गरेर राखेको र आवश्यकता अनुसार स्थानीयले प्रयोग गर्न सकिने उनको भनाइ छ ।

यसले क्षतिलाई तुलनात्मक रुपमा कम गर्न सक्ने उनको विश्वास छ । उनका अनुसार गाउँपालिकामा वडा नम्बर ५ मा तीन वडा नम्बर ४ मा दुई सय गरी पालिकाभरी करिब एक हजार दुई सय घरधुरी नदी कटानको जोखिममा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?