काठमाडौँ– डाक्टर दिलबहादुर थोकर तामाङको दृष्टिमा सेतो एप्रोन, स्टेथोस्कोप र समाज उही समानान्तर रेखामा छन् ।
किनकि यी तिनै चीजहरुसँगै लिएर उनी डाक्टरी पेसामा दौडिरहेका छन् । पेसागत रुपमा एप्रोन, स्टेथोस्कोपप्रति उनको जति प्रेम छ, त्यो भन्दा बढी समाजप्रति छ । सेतो एप्रोन पहिरिएर गलामा स्टेथोस्कोप भिरी राजधानीका अस्पतालहरुमा होइन, उनी दूरदराजका भुइँमान्छेका घर–आँगनहरुमा आपत्तविपत्तमा पुगिरहेका छन् ।
उनको अन्तरमनले भन्छ, ‘मलाई भुइँमान्छेहरूको डाक्टर बन्नु छ । मलाई मेरो चिकित्सा पेसालाई नै समाजसेवामा बदल्नु छ र अस्पतालसम्मको पहुँचमा आइ नपुगेकाहरुलाई जीवन दिनु छ ।’
डाक्टर दिलबहादुर थोकर ८/९ वर्षदेखि चिकित्सा पेसासँगै समाजसेवाको बाटोमा उत्तिकै सक्रिय छन् । चाहे त्यो महाभूकम्प होस् या पछिल्लो कोरोना महामारीमा उनले गाम्रिण बस्ती–बस्तीमा पुगेर स्वास्थ्य सेवा दिए ।
स्वास्थ्य सेवा त उनको पहिलो कर्म भयो, त्यसका साथै–साथै उनले कैयौं भोकाहरुको पेट भरिदिएका छन् भने चिसो सिरेटोमा सयौंको आङ ढाकिदिएका छन् । उनी जहाँ पुग्छन्, त्यहाँ रोगीलाई औषधि उपचार सामग्री सँगै खाद्यान्न, लत्ताकपडा जस्ता अति आवश्यक चीजबिजहरु पनि बोकेर पुग्छन् ।
पेसाले डाक्टर नै भएपनि समाजसेवा उनका लागि सपना र जिम्मेवारी दुवै हुन् ।
उनी शिक्षा, स्वास्थ्य सेवा क्षेत्रमा निरन्तर छन् । विभिन्न दुर्घटनाका कारण अभिभावक गुमाएका बालबालिकाहरु, आर्थिक रुपमा विपन्न परिवारका लागि उनले बिमा गरिदिने तथा विभिन सीपमूलक तालिम दिएर जीविकोपार्जनको बाटो देखाइरहेका छन् ।
वृद्धवृद्धादेखि समकालीन युवाको मानसिक स्वास्थ्यमा समेत उनी सचेत छन् ।
वि.सं. २०४५ सालमा धुलिखेल, काभ्रेमा बुवा रघुबहादुर तामाङ र आमा कान्छीमाया तामाङको चार छोराहरुमध्ये जेठो छोराका रुपमा जन्मिएका उनले प्राथमिक तहको शिक्षा कुत्तल गाउँ र माध्यमिक तह धुलिखेलबाट पूरा गरेका हुन् ।
माध्यमिक तहको शिक्षा पूरा भएपछि उनले काठमाडौं विश्वविद्यालयको प्यारामेडिक्स हेल्थ असिसटेन्ट डिप्लोमा कोर्समा भर्ना भएर अध्ययन गर्ने अवसर पाए । गाउँमै शिक्षक बन्छु भन्ने सामान्य लक्ष्य बोकेका उनले हेल्थ असिसटेन्ट अध्ययनसँगै डाक्टर बन्ने सपना देखेका थिए ।
उनले चीनबाट सन् २०१६ मा चीनको जुझाउ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस पूरा गरेका हुन् । त्यसपछि नेपाल मेडिकल काउन्सिल (एनएमसी) परीक्षा उत्तीर्ण गरेपछि सन् २०१७ मा धुलिखेल अस्पतालमा मेडिकल अफिसरको रूपमा उनले सेवा गर्न थालनी गरेका थिए ।
डाक्टर दिलबहादुरको अहिलेको यात्रामा उनकी आमा कान्छीमायाका सपना र पदछापहरु जोडिएका छन् । उनको पछिल्लो गतिविधिमा उनी आफैंको भन्दा पनि आमाका बढ्ता सपनाहरु बोकेर हिँडिरहेका छन् । आम आमाहरुकै जस्तै उनकी आमाको पनि सपना थियो, ‘छोरोले पढेर धेरै नाम कमाओस्, उन्नति, प्रगति गरोस् र छोरो साँच्चिकै गाउँकै पहिलो डाक्टर बनेर आफ्नो आँखै अगाडि उभियोस् ।’
छोराको डाक्टर बन्ने सपना पूरा गर्नका लागि उनले पसिनाको लगानी गरेकी थिइन् । कहिले साग, कहिले घरको बाख्रा, कुखुरा बेचेर जम्मा गरेको पैसाले नै छोरोको डाक्टर बनाउने सपनामा उनी सारथि बनेर उभिएकी थिइन् ।
धेरेधोर आफ्नै पसिनाको कमाइ र केही ऋणधन गरेरै उनले छोरोलाई चीनमा डाक्टर पढ्न पठाइन् । दुर्भाग्यबस छोराले एमबीबीएस अध्ययन पूरा गरी डाक्टरको प्रमाणपत्र लिनुभन्दा एक महिना अगावै कान्छीमायाले संसार छोडिन् । मोटरसाइकल दुर्घटनामा परेर २०७२ साल चैत्र महिनामा उनको निधन भएको थियो ।
आफ्नो सपना पूरा गरी डाक्टरको प्रमाणपत्र लिएर आमालाई देखाउने सपना पूरा हुनै लाग्दा आमाको अचानक महाप्रस्थानको खबरले दिलबहादुरमाथि ठूलो बज्रपात पर्याे । जतिबेला उनी चिकित्सा अध्ययनकै इन्टर्नशिपको क्रममा थिए ।
‘म डाक्टर बन्न लागेँ भनेर निकै उत्साहित त थिएँ नै आमालाई सर्प्राइज दिने तयारीमा पनि थिएँ,’ उनले स्मरण गरे, ‘कान्छोभाइले जति सक्दो तुरुन्त घर फर्कन भनेपछि घर फर्केँ । त्यतिबेला आमा बितिसक्नुभएछ । त्यसपछि खुब रोएँ ।’
आमाको मृत्युमा केही दिन शोकमा परेपनि आमाकै सपनाकै लागि भएपनि उनले उठ्ने अठोट गरे ।
आमाको निधनपछि उनले डाक्टरको सपनासँगै समाजसेवालाई पनि जोडे । त्यही सपनालाई पूरा गर्न आमाको काजकिरियाकर्म सकेलगत्तै चीन फर्के । त्यतिबेला पनि आमाले खाइ/नखाइ सहकारीमा जम्मा गरेको ५०/६० हजार रुपैयाँ खर्च बोकेर उनी एक महिना बाँकी रहेको अध्ययन पूरा गर्न चीन फर्केका थिए ।
चीनबाट फर्केलगत्तै उनले चिकित्सा पेसासँगै समाज सेवालाई समेत अगाडि बढाए । आमाकै नामबाट ‘कान्छीमाया तामाङ’ फाउण्डेशन मार्फत उनले २०७३ सालबाट नै कार्य थालनी गरेका थिए । संस्थालाई औपचारिक रुपम भने उनले २०७८ सालमा दर्ता गरेका हुन् ।
फाउण्डेशन मार्फत नै उनले काभ्रे धुलिखेलमा ‘कान्छी माया तामाङ मेमोरियल सामुदायिक अस्पताल,’ ‘बाँसघारी लाइभ केयर क्लिनिक,’ ‘बोधी ध्यान केन्द्र,’ ‘महिला तालिम केन्द्र’ र ‘अर्गानिक कृषि फार्म’ संचालन गरेका छन् ।
आफ्नै भवन निर्माण गरी यसलाई दियो रुपमा सञ्चानल गर्ने समेत उनको अबको योजना छ । फाउण्डेशनले अहिले १५ जना भन्दा बढी महिला तथा बालबालिकाहरुलाई सहयोग गर्दै आएको छ ।
हाल उनी झण्डै डेढ वर्षदेखि सुनापाती गाउँपालिका २, गाल्पा रामेछापस्थित ‘कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पताल’मा स्वास्थ्य सेवासँगै समाज सेवाको कामलाई निरन्तरता दिइरहेका छन् । डाक्टर भएपछि उनले ३ वर्ष सम्म नुवाकोट जिल्लाका दुर्गम गाउँमा ‘सुकुमान मेमोरियल पोलिक्लिनिक’बाट जनतालाई सेवा प्रदान गरे ।
त्यहाँ उनले स्वास्थ्य सेवासँगै स्वास्थ्य जनचेतनालाई आम जनता समक्ष पुर्याउने काम गरे । अन्ध विश्वास र परम्परागत मान्यतामा अडिग रहेका कैयौं परिवारहरुलाई स्वास्थ्य दिएर उनले थुप्रै बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धाहरुलाई नयाँ जीवन दिए ।
त्यतिबेला कैयौं बिरामीहरुलाई औषधिउपचारसँगै बाटो खर्च समेत दिएर पठाएको क्षणहरु उनी स्मरण गर्छन् । उनले काभ्रेस्थित मण्डनदेउपुर नगर अस्पतालमा पनि करिब डेढ वर्ष जति सेवा गरे ।
अहिले रामेछापस्थित ‘कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पताल’ लाई अझै फराकिलो बनाउने योजनाकै लागि उनको प्रयास जारी छ । समुदायमा नै राम्रो अस्पताल सहित नर्सिङ कलेजको स्थापना हुन सकेमा आर्थिक स्थिति कमजोर भएकाहरुलाई निकै सहज हुने उनी सुनाउँछन् ।
‘बिरामी हुँदा मन्थलीसम्म पुग्न गाडी खर्च समेत नभएकाहरुलाई पाँच बेडसहितको अस्पताल र मेडिकल सुविधाहरु बढाउने हाम्रो योजना छ । यसले आर्थिक स्थिति कमजोर हुनेहरुलाई निकै राहत हुनेछ,’ उनले भने । विशेषत त्यहाँ जेष्ट नागरिकहरुका लागि अस्पताल निर्माण गर्ने योजनामा उनी लागेका छन् ।
फाउण्डेसन मार्फत नै उनले देशभरी खाद्य सामग्री, लत्ताकपडाहरु वितरणको कार्यलाई निरन्तरता दिइरहेका छन् । उनका अनुसार फाउण्डेशनले आफ्नो चिकित्सा खर्च तिर्न नसक्ने नेपाली नागरिकहरुलाई सेवा प्रदान गर्ने गरेको छ ।
फाउण्डेशनले सडक दुर्घटनाबाट घाइते भएका, लडेर चोटपटक लागेका, मुटुको शल्यक्रिया गर्न नसक्ने विपन्न नागरिकहरूलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।
२०८० सालको जाजरकोट भुकम्पमा पनि उनी पीडितहरुको लागि दुइ पटक राहत सामग्री र स्वास्थ्य शिविर लिएर त्यहाँ पुगेका थिए ।
उनले काभ्रे, हुम्ला, बैतडी, रामेछाप, सर्लाही लगायत जिल्लाहरुमा न्यानो कपडा कपडासहित खाद्यान्न सामग्री पुर्याएका छन्। फाउन्डेसनले दलित, असहाय, गरिब जेहेन्दार तथा अनाथ बालबालिकाहरुलाई पढाउने र सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने काम गरिरहेको छ ।
तामाङ समुदायबाट चिकित्सा क्षेत्रमा क्रियाशिल रहेका तामाङ चिकित्सकहरुलाई एकैठाउँमा ल्याउने ध्येयले स्थापना गरेको ‘तामाङ चिकित्सक समाज नेपाल’का उनी संस्थापक अध्यक्ष समेत हुन् ।
ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर लिएर पुग्ने उनले कैयौं आमाहरुमा आफ्नै आमाको छवि देख्छन् । आफ्नी आमालाई त उनले सेवा गर्न पाएनन्, तर ती तमाम आमाहरुलाई पुर्याएकाे सेवाबाट उनकी दीवंगत आमाको आत्मा खुसी छ होला भन्ने उनी सोच्छन् ।
भन्छन्, ‘मेरी एक जना आमा नभए पनि मैले हजार आमाहरुमा उहाँलाई देखिरहेको छु । मेरो आमाको जस्तै दुःख, पीडा अरु आमाले सहन नपरोस् भन्ने मलाई लाग्छ । एकल आमाहरुलाई सीपमूलक तालिम दिने र ध्यान केन्द्रको व्यवस्था समेत हामीले गरेका छौं ।’
आमाप्रति एउटा सन्तानले पूरा गर्नुपर्ने दायित्वभन्दा माथि उठेर उनी हजार आमाका सन्तान बनिरहेका छन् । जब जब उनी अभाव परेका आमाहरु देख्छन्, तब आफ्नै आमालाई सम्झन्छन् ।
विद्यालयको शुल्क तिर्न नसकेका, एकजोर कपडाका लागि सहारा खोजिरहेका बालबालिकाहरुबाट उनी आफ्ना सङ्घर्ष दिनहरु स्मरण गर्छन् । अभावमा बाँचेकाहरुलाई अहिले बाँच्ने सहारा दिन सके भोलि उसले अरुलाई पनि उभ्याउन सक्छ भन्ने दृढ विश्वास उनकाे छ ।
उनको अबको लक्ष्य नै सीपमूलक जनशक्ति तयार गर्नु हो । बालगृहमै रहेका बालबालिकाहरुलाई समेत सक्षम बनाएर सेवा क्षेत्रका लागि सक्षम जनशक्तिका रुपमा उभ्याउन सके देशलाई नै राम्रो हुने उनको भनाइ छ ।
पूर्ण सुविधा सम्पन्न सामुदायिक अस्पताल, विद्यालय र अनाथालयहरु सञ्चालमा ल्याउन सेकमा प्रत्येक मानिसहरुलाई पहुँचमा पुर्याउन सकिन्छ भन्ने सोचले उनी लागिपरेका छन् ।
बागलुङ र काभ्रको महाभारत गाउँपालिकामा सरुवा रोगबाट संक्रमित बिरामी, जेष्ठ नागरिक, ५ वर्ष मुनिका बालबालिका, सुत्केरी महिला तथा घाइतेहरुको निःशूल्क सेवा, २ वटा एम्बुलेन्स उपलब्ध गराउने, डोल्पा, बाग्लुङ र तराई क्षेत्रका दुर्गम गाउँ बस्तीहरूमा समेत स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने, तराई क्षेत्रमा शिविर सञ्चालन गर्दा कुष्ठरोगीहरूको पहिचान गर्न आइडिया नेपाल नामक एनजीओसँग सहकार्यलाई निरन्तरता दिने, आगामी १० वर्षभित्र फाउण्डेशनले एउटा सामुदायिक अस्पताल, एउटा विद्यालय र एउटा अनाथालय सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
विशेष गरी रौतहटको चन्द्रपुर नगरपालिकामा बालगृह सञ्चालनको योजनामा समेत उनी लागिपरेका छन् ।
उनको अबको मुख्य योजना थप चिकित्सा अध्ययनलाई अगाडि बढाउनु छ । ‘एमडी’ अध्ययन नै अबको उनको प्रमुख प्राथमिकता हो ।
स्वास्थ्य र समाजसेवासँगै ‘एमडी’ अध्ययनको तयारीमा उनी जुटेका छन् । उनको पेसा, समाजसेवामा उनकी श्रीमती अर्निशा लामाले समेत उनलाई सहायता दिएकी छिन् । तराई, पहाड तथा हिमालका आम मानिसको पहुँचमा आफ्नो सेवा विस्तार गर्ने उनको सपना छ, तर आर्थिक रुपमा जोहो छैन । सपना पूरा हुन पहिला देख्नुपर्छ भन्ने मान्यतामा उनी छन् ।
उनी भन्छन्, ‘आमा बितेपछि पनि मसँग एक रुपैयाँ पनि थिएन । सपना देखेपछि त्यसमा इमान्दार भएर लागेमा पूरा हुन्छ भन्ने चाहिँ मलाई लाग्छ । कामचाहिँ निरन्तर गर्दै जाने हो ।’ त्यसमा इमान्दारीका साथै उत्तिकै धैर्यता र लगाव राख्नुपर्ने उनको मत छ ।
उनको यही कर्मलाई सम्मान गर्दै उनलाई गन्तव्य नेपालद्वारा ‘कोरोना डिफेन्स अवार्ड–२०२०’, स्वास्थ्य हेरचाह र समाजिक सेवा गरेबापत ‘एसिया अवार्ड–२०२१’, ‘तामाङ समाज सम्मान’ र काभ्रेस्थित रोशी गाउँपालिकाले उनलाई सम्मान गरेको छ ।
फाउण्डेसन मार्फत आमाकै नामबाट उनले गरेका कैयन् कामहरुमा उनले आमाको श्रद्धा र ममतालाई बोकी हिँडेका छन् र हिँडिरहन्छु भन्ने उनको प्रण छ । उनको सेवाभावमा फाउण्डेसनसँगै आमा जुगजुगसम्म बाँचिरहोस् भन्ने उनको सपना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया