भनिन्छ खाना स्वाद लिई लिई बिस्तारै खानुपर्छ । यसो भन्दै गर्दा यसमा थपिने कुरा हो चपाई चपाई राम्ररी खानुपर्छ । तर धेरैले यो कुरालाई नजरअन्दाज गरिदिन्छन् ।
अझ भनूँ, राम्रोसँग चपाएर खानुपर्छ भन्ने कुरालाई त त्यति ध्यान नै दिँदैनन् । तर पाचन क्रियाको लागि यो धेरै महत्त्वपूर्ण कुरा हो ।
जब हामी पाचन क्रियाको कुरा गर्छौँ, यसको प्रसङ्ग पेटबाट सुरु हुन्छ भनेर बुझ्ने गर्छौँ । तर वास्तवमा खानेकुरा पेटमा नपुग्दै पाचन क्रिया सुरु भएको मानिन्छ ।
जब हामी मुखबाट खाना खान सुरु गर्छौँ, सँगसँगै पाचन क्रिया सुरु हुन्छ । खाना चपाउन सुरु गर्दा मुखमा र्यालसँगै पाचन इन्जाइम निस्केर खाना टुक्राउन सहज गर्ने गर्छ । आउनुहोस् आज राम्ररी चपाएर खाना खानुको फाइदाबारे जानौँ ।
– राम्रोसँग चपाएर खाने गर्दा खाना राम्रोसँग पच्छ र पाचन प्रक्रिया बलियो बन्न पुग्छ। अधिकांश रोग पेटको खराबीका कारण सिर्जना हुने भएकाले बढी चपाएर खाना खाने गर्नाले स्वास्थ्य राम्रो हुँदै जान्छ।
– यसरी खाने गर्दा खाना कम खाइन्छ। किनकि, चपाई–चपाई खाँदा पेट चाँडै अघाउँछ। यसले गर्दा स्वाभाविक रूपमा शरीरको वजन कम हुन जान्छ।
– राम्रोसँग चपाएर खाँदा भोक ढिलो गरी लाग्छ, जसले गर्दा शरीरको वजन बढ्न पाउँदैन। त्यही भएर वजन घटाउन चाहनेले थालमा थोरै खाना लिएर समय लगाएर चपाई–चपाई खाने बानी बसाल्नुपर्छ।
– राम्रोसँग चपाएर खाने गर्नाले खानामा रहेका प्रोटिन, क्याल्सियम, आइरन, भिटामिनलगायत पोषक तत्त्व हाम्रो शरीरमा राम्रोसँग घुल्न पाउँछन्। यसो भयो भने मोटाइँदैन। शरीर स्वस्थ र फिट रहन्छ।
– राम्रोसँग चपाएर खाँदा थोरै खानाबाट पनि शरीरले पर्याप्त पोषक तत्त्व पाउँछ। त्यही भएर खाद्यान्न सङ्कट आउन नदिन पनि हामीले बढी चपाएर खाने बानी बसाल्नुपर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया