काठमाडौँ – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत ‘सुपर– ८’ को खेलमा बङ्गलादेशलाई पराजित गर्दै भारतले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा भारतले ५० रनको जित निकालेको हो ।
टस हारेर शुरुमा ब्याटिङ गरेको भारतले २० ओभरमा पाँच विकेट गुमाएर १९६ रन बनाएको थियो । १९७ रनको लक्ष्य पछ्याएको बङ्गलादेश आठ विकेट गुमाएर पुरै २० ओभर खेल्दै १४६ रनमा समेटिएको हो ।
भारतको जितमा हार्दिक पाण्ड्याले अर्धशतक बनाए। २७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा उनले नटआउट ५० रन बनाएका हुन् ।
भारतका लागि ओपनर विराट कोहलीले ३७, कप्तान रोहित शर्माले २३ रन बनाउँदा ऋषभ पन्तले ३६ जोडे । शिवम् दुबेले ३४ रन बनाउँदा सूर्यकुमार यादव भने ६ रनमा समेटिएका थिए।
बङ्गलादेशका लागि तान्जिम हसन सकिब र रिसाद होसैनले समान दुई दुई विकेट हात पारे भने सकिब अह हसनले एक विकेट लिए ।
१९७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बङ्गलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले सर्वाधिक ४० रन बनाए ।
तानजिद हसन २९, रिसाद होसैन २४, महमुदुल्लाह १३, लिटन दास १३ रनमा आउट हुँदा सकिब अल हसनले ११ रन जोडे ।
भारतका लागि कुलदीप यादवले तीन विकेट लिए । जसप्रित बुमराह र अर्शदीप सिंहले दुई–दुई विकेट लिए भने हार्दिक पाण्ड्याले एक विकेट हात पारे ।
भारत र बङ्गलादेश ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन् । सुपर–८’ मा लगातार दोस्रो हारसँगै बङ्गलादेशको सेमिफाइनल सम्भावना कठिन बनेको छ भने दुई खेलमा विजयी भएको भारत चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ । यो समूहका अफगानिस्तान र बङ्गलादेशले भने खाता खोल्न सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया