मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काभ्रेमा आपत्कालीन विपद् प्रतिकार्यको तयारी थालियो, बनेपामा ‘अस्थायी वेश’

काभ्रेपलाञ्चोक– मनसुन सुरु भएसँगै प्राकृतिक प्रकोप तथा हुनसक्ने विपद्जन्य घटना र अवस्थाको व्यवस्थापन गर्न जिल्लास्थित सुरक्षाकर्मीले आपत्कालीन विपद् प्रतिकार्यको तयारी थालेका छन् । पाँचखालमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटरले उद्धार टोलीका लागि बनेपा नजिकमा ‘अस्थायी वेश’ राखेको छ ।

पनौती नगरपालिका–५ स्थित आइटी पार्कमा निर्माणाधीन सुरक्षण मुद्रण प्रेस भवनमा बसेको टोलीले जिल्लाको मुख्य सहर बनेपा आसपासका स्थानीय तहमा हुने मनसुन तथा विपद्मा उद्धार गर्ने जनाएको हो । उद्धार सामग्रीसहित सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ सशस्त्र प्रहरी टोलीलाई उद्धारमा खटिन तयारी अवस्थामा राखिएको जिल्लास्थित विपद् व्यवस्थापन समितिले जनाएको छ ।

गृह मन्त्रालयको निर्णय अनुसार पाँचखालमा रहेको हेडक्वाटरबाट रेखदेख तथा सञ्चालन हुने गरी उद्धारमा खटिनुपर्दाको अवस्थामा सडक र दूरीका हिसाबले पायक पर्ने स्थानमा छनोट गरी अस्थायी वेश राखिएको समितिले जनाएको छ ।

यसअघि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सशस्त्र प्रहरी टोलीले सुनकोशी नदीमा उद्धारको पूर्वाभ्यास गरेको थियो । संयुक्त पूर्वाभ्यासमा सशस्त्र प्रहरी अधिकृत तथा जवानद्वारा बाढीमा बगेका, डुबेका, पहिरोमा फसेका तथा बाढीमा फसेका व्यक्तिलाई उद्धार गरी अभ्यास गरिएको थियो । साथै उद्धारकर्मी आफैँ बाढीमा फसेर जोगिन सफल भएको प्रदर्शन गरिएको थियो । दुई जिल्ला विपद्को उच्च जोखिममा रहेकाले संयुक्त पूर्वाभ्यास गरिएको जनाइएको छ ।

जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलले सामुदायिक विपद् प्रतिकार्यका लागि काभ्रेपलाञ्चोकको १३ मध्ये १० स्थानीय तहमा ८० सामुदायिक विपद् प्रतिकार्य तालिम दिई जनशक्ति तयार पारेको छ । तालिममा विपद्को परिचय र व्यवस्थापन चक्र, प्रतिकार्यका लागि आवश्यक सामग्री, सीप तथा कला, बाढीपहिरो, डुबान, आगलागीलगायत विपद्का घटनाका दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय स्रोतसाधनको प्रयोग गरी उद्धार गर्ने, आधुनिक उपकरणको प्रयोगलगायत विषयमा जानकारी गराइएको गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?