काठमाडौँ– एउटा क्यानभासमा रङ्गले पोत्नु मात्र कला सिर्जना हुन सक्छ र? जब रङले पोतिरहँदा त्यसमा कुनै दृश्य, कुनै विषय आँखाले देख्ने र बुझिने आकारहरु स्पष्ट आउँदैनन् भने त्यसलाई कसरी कला मान्ने?
यस्तो विचार १९ औँ शताब्दीको मध्यसम्म विश्वभर नै व्याप्त थियो । जतिबेला केही चित्रकारले आफ्ना सिर्जनामा अनेक अर्थ खोज्न सकिने अमूर्त सिर्जना क्यानभासमा उतारेका थिए ।
१९ औं शताब्दीको उत्तरार्धमा चित्रकलाले एउटा नौलो सिर्जनाको बाटो तय गरेको थियो । भौतिक वा ठोस वास्तविकताभन्दा अलग विचार, धारणा, संवेदना, भावना र तिनका सिद्धान्तहरू रङकै शब्दमा पनि आउन सक्छन् भन्ने वाद लिएर २० औं शताब्दीको शुरुमै आकारविहीन कलाको जन्म भयो ।
जुन कलालाई अमूर्त कलाको रुपमा मानियो र यसको सिर्जनाको अभ्यास विश्वभर फैलिन थाल्यो ।
पछिल्लो समय नेपालमा पनि सामाजिक, आर्थिक तथा राजनीतिक पक्षहरुमा आएको परिवर्तनको स्वरुपले कला क्षेत्रमा ठूलो प्रभाव पारेको देखिन्छ । जस कारण कलामा प्रविधिको उच्चतम प्रयोगसँगै यसमा वाद, शैली र अवधारणाहरु निर्माण भएका छन् ।
सिर्जनामा भएको स्वतन्त्रताले विशेषत: अवधारणागत कलाले निकै फड्को मारेको देखिन्छ । नेपालमा पनि पछिल्लो समय भएका विभिन्न प्रदर्शनीमा युवापुस्तामा अवधारणागत कलाहरु निकै अवलोकन गर्न पाइन्छ ।
अमूर्त कलामा भने युवापुस्ताको न्यून उपस्थिति देखिन्छ । नेपालमा प्रजातन्त्रको उदयपछि फड्को मारेको कलाको आधुनिक फड्को, सिर्जनामा भएको स्वतन्त्रताले जन्माएको पश्चिमा शैलीको अमूर्त कलाले कलाकार स्वयंको मनको भावनालाई अभिव्यक्त गर्ने काम गर्यो ।
जसले कलामा यथार्थताको संसार जताउने कुनै स्वरुप, आकार र अर्थभन्दा बेग्लै दुनियाँको शयर गराउँछ । ती अमूर्त कलाको धारमा हिँडेका उर्मिला उपाध्याय गर्ग, लक्ष्मण श्रेष्ठ, गेहेन्द्रमान अमात्य, लैनसिंह वाङ्देल, उत्तम नेपाली, कृष्ण मानन्धर, पुरन खड्का जस्ता नेपाली कलाकारहरुले बनाएको कलाको अमूर्त कलाको बाटोलाई युवापुस्ताका कलाकारहरुले पछ्याउने काम गरेनन् ।
किन यस्तो भयो त भन्ने कारण खोज्दा यसमा कला साधनाकै अभावले युवापुस्ता न्यून देखिएको कलाकारहरुको मत छ ।
के हो अमूर्त कला
विश्वभर अमूर्त कला ‘अब्स्ट्रयाक्ट आर्ट’को रुपमा चिनिन्छ । ल्याटिन शब्दबाट आएको यो शब्दले अलग गरिएको, आधारभूत विचार भौतिक, वा ठोस, वास्तविकताबाट अलग भएको कुरालाई जनाउँछ । यसमा विचारहरूको प्रयोग र अर्थ रङहरुभित्र नै खोजिन्छ, जसमा वास्तविक जीवनका भावहरु र कलाका आकारहरुमा देखिँदैन ।
यसको अर्थ यसले वास्तविकतालाई चित्रित रूपमा प्रतिनिधित्व गर्दैन । यसको विपरीत अमूर्त अवधारणाहरू अमूर्त नै छन्, प्रत्यक्ष संवेदी धारणाको दायराभन्दा नितान्त बाहिर अवस्थित छन् भन्ने पक्षलाई यसले जोड दिन्छ । जुन प्रत्यक्ष रूपमा अनुभव गर्न सकिँदैन । यद्यपि यसले वास्तविकताको धरातलमा पुर्याउँछ भन्ने अमूर्त कलाका मान्यतालाई सर्जकहरुले स्थापित गरेका छन् ।
प्रेम, मनका भावना, स्वतन्त्रता, न्याय र ज्ञान सबै अमूर्त अवधारणाका उदाहरण हुन् भन्ने मान्यतालाई अझै यसले जोडि दिन्छ । यसमा रङको जबर्जस्त उपस्थिति, त्यसैमा बनेका लाइनहरु र केही रुप नभएका आकारहरु हुन्छन् ।
अमूर्त आकारको कुनै ठ्याक्कै यही हो भन्ने पहिचान र यही नै हो भन्ने तोकिएको विषयवस्तु हुँदैन । यो कुनै आकार, दृश्य, यथार्थताको ठिक उल्टो हो ।
ठ्याक्कै कलाको भाव, विषयवस्तुको पहिचानका लागि यसले कला हेर्ने दर्शक अर्थात् भावकलाई नै छोडिदिन्छ ।
त्यस अर्थमा कलाकारले जुन मनोभावनाले अमूर्त चित्र बनाउँछन्, त्यही भावार्थ हेर्ने दर्शकमा फरक हुन सक्छ । अमूर्त कला त्यो कला हो, जसले दृश्य वास्तविकताको सही चित्रण प्रतिनिधित्व गर्ने प्रयास गर्दैन बरु यसको प्रभाव प्राप्त गर्न आकार, रंग, रूप र इशारा चिन्हहरू प्रयोग गरेर दर्शकहरुमा मानसिक रुपमा सोचनीय बनाउँछ ।
यो कलाले प्रायः नैतिक आयामहरु बोकेको देखिन्छ, जसमा क्रम, शुद्धता, सरलता र आध्यात्मिकता जस्ता गुणहरू बढी हाबी हुन्छन् ।
खासमा आकार र वस्तु प्रस्ट नभएपनि यसका प्रयुक्त रङहरुमा अर्थहरुको गहनता हुन्छ । बाहिर सौन्दर्यलाई खोज्दाखोज्दै वा दृश्यहरुमा फरक रुप पहिलाउँदै जाँदा रङहरु चलाउने क्रममा नै अमूर्त फर्ममा पुगेको देखिन्छ ।
जसमा वस्तुहरुमा प्रयुक्त रङहरु र तिनको मात्राले अमूर्त कलाको रुपमा लिएको देखिन्छ । यसलाई सिर्जना गर्न र बुझ्न समेत गहनता चाहिन्छ । यो बाहिरी संसारबाट सामान्य विषय वा वस्तुहरूबाट नितान्त भिन्न छ ।
कलाकारले कलालाई बुझ्ने जिम्मा दर्शकलाई नै छोडिदिने भएकोले यसले मानव मस्तिष्कलाई नै चलायमान बनाएर थेरापीको काम गर्न सक्छ भनेर कलाकार तथा समीक्षक मुकेश मल्लले ‘नेपाली अमूर्त कला’ शीर्षक लेख मार्फत आफ्नो धारणा राखेका छन् । उक्त लेख केही वर्षअघि नागरिक दैनिकमा प्रकाशित भएको थियो ।
उनका अनुसार अर्ध–अमूर्त कला, अमूर्त कला र पूर्ण–अमूर्त कला गरी विश्वमा अमूर्त कला तीन धारमा सिर्जना हुँदै आएका छन् । जस अनुसार मूर्त कला अमूर्त फर्ममा आउँदा बेरुप र असीमित अर्थ बोकेर आउँछ ।
अर्को कलामा कलाकारको मनोभाव, विचार, समय, परिस्थिति कलामा आएको देखिन्छ भने रङकै माध्यमहरुमा कलाकारले उत्तजेना, आक्रोस, रिस, आवेक समेट्दा त्यसमा केही अर्ध आकृति वा वस्तुको निर्माण भएको देखिन्छ ।
कलाकारले दर्शकलाई कलाको सौन्दर्य र भावलाई महसूस गरी आत्मसात गर्न छोडिदिएको हुन्छ । जब हेर्नेले कुनै भाव र वस्तु नभेटपछि यसलाई मनपरी कलाको संज्ञा समेत दिने गरेको मल्लले उल्लेख गरेका छन् ।
अमूर्त कलाको विकास
१९ औं शताब्दीको शुरुवाती काल नै अमूर्त कलाको महत्वपूर्ण आधारस्तम्भ थियो । अमूर्त कलाको विकासमा योगदान गर्ने तीनवटा कला आन्दोलनहरू रोमान्टिकवाद, प्रभाववाद र अभिव्यक्तिवादले अमूर्त कलाको स्वरुपमा टेवा पु¥याउने काम गर्यो ।
जोन कन्स्टेबल, जेएम डब्ल्यू टर्नर, क्यामिल कोरोट र तिनीहरूबाट बार्बिजोन स्कूलको प्लेन एयर पेन्टिङ जारी राख्ने प्रभाववादीहरू चित्रहरूमा वस्तुनिष्ठ चासो र भाव अभिव्यक्त रहेको थियो । जेम्स म्याकनिल ह्विसलरले आफ्नो चित्रकला ‘नोक्टर्न इन ब्ल्याक एन्ड गोल्डस् द फलिङ रकेट(१८७२)’ मा वस्तुहरूको चित्रण भन्दा दृश्य संवेदनालाई बढी जोड दिए ।
विशेषत अभिव्यक्तिवादी चित्रकारहरूले पेन्ट सतहको बोल्ड प्रयोग, रेखाचित्र विकृति, अतिशयोक्ति र तीव्र रङका बारेमा अन्वेषण गरे । अभिव्यक्तिवादी चित्रकारहरूले भावनात्मक रूपमा सिर्जना गरेका चित्रहरूमा समकालीन अनुभवहरूको प्रतिक्रिया र धारणाहरू थिए । जुन चित्रहरुले व्यक्तित्वको मनोवैज्ञानिक अवस्थाहरूको चित्रण, विषयवस्तुमा जोड दिने कुरामा ठूलो परिवर्तन ल्याउने काम गर्यो ।
एडवर्ड मुन्च र जेम्स एन्सर जस्ता कलाकारहरूका कलाहरुले २० औं शताब्दीमा अमूर्तताको कला प्रारम्भका लागि अझ सहायता पुर्याउने काम गर्यो । कला इतिहासहरुलाई हेर्दा कलाकारहरूको लागि कलात्मक स्वतन्त्रता १९ औं शताब्दीमा उन्नत रह्यो ।
अभिव्यक्तिवादहरुबाट यसमा खेलिने रङहरुले बिस्तारै दृश्यात्मक भन्दा पनि विचार भावलाई प्रश्रय दिने काम गरेको देखिन्छ । सन् १९१० तिरै अमूर्त कलाको स्वरुप नै देखा परेको पाइन्छ । रसियन चित्रकार भ्यासिली क्यान्डीन्स्कीले संगीत जस्तै दृश्य कलाले पनि भावनालाई समेट्न सक्छ भन्ने ध्येयले उनले १९११ मा आफ्नो पहिलो अमूर्त कला कार्य सिर्जना गरे ।
उनैले पश्चिमा कलामा अमूर्ततालाई भित्राउने काम गरेको इतिहास पाइन्छ । यसरी हेर्दा १९ औं शताब्दीमा अमूर्त कलामा देखिएको प्रभाव र परिणामा कलाकारहरूलाई दिइएको स्वतन्त्रता नै थियो ।
नेपालमा अमूर्त कला
नेपालमा अमूर्त कलाको स्वरुप १० को दशकमा नै भित्रिएको पाइन्छ । वि.सं.२०११ सालतिर गेहेन्द्रमान अमात्यले गरेको चित्रकला प्रदर्शनीमा यस किसिमको कलाको स्वरुप देखिएको कलाकार तथा कला समीक्षकहरुले बताउँदै आएका छन् ।
यसपछि २०१६ सालतिर उर्मिला उपाध्याय गर्गको एकल चित्रकला प्रदर्शनीमा प्रिन्ट मेकिङ अमूर्त कलाकाहरु समावेश गरिएको समीक्षक मल्लले लेखेका छन् । युरोप अध्ययनमा पुगेका वाङ्देल, उपाध्याय गर्ग, श्रेष्ठ लगायत कलाकारले यसमा गहन साधना र अध्ययन गरे । लगत्तै वाङ्देल र श्रेष्ठले अमूर्त एकल कला प्रदर्शनी गरे ।
यसपछि नेपालमा पनि अमूर्त कला सिर्जनाको छुट्टै धार स्थापित भएको देखिन्छ ।
अमूर्त कलाबारे के भन्छन् सर्जक?
अमूर्तकला सिर्जनामा अहिलेसम्म पनि अग्रज कलाकार मानन्धरदेखि लिएर केके कर्माचार्य, विजय थापा, किरण मानन्धर, जीवन राजोपाध्याय, मुकेश मल्ल, सुनिल रञ्जित, सागर मानन्धर सम्मका कलाकारहरु छन् । कलाकार राजोपाध्याय अमूर्त कलालाई विचारको रङ भन्न रुचाउँछन् ।
जसरी सङ्गीतका विभिन्न धुनले कानलाई आनन्द दिने काम गर्छ, रङहरुको सौन्दर्यले पनि आँखा र मनलाई आनन्द दिलाउन सक्ने हुनुपर्छ ।
उनी भन्छन्, ‘अमूर्त कलामा कलरहरुसँग खेलेर कलाकार आफैं आनन्दित भएर रमाएपछि बल्ल कला हेर्ने दर्शकलाई रमाउन दिने हो ।’
पछिल्लो समय प्रविधिबाट परिर्वतन छिटो–छिटो देखिएपनि अमूर्त कलाको स्वरुप भने त्यति नदिएको उनको अनुभव छ । उनका अनुसार अमूर्त कला, कलाकार स्वयंका लागि पनि साधना हो । लामो समयको साधनाविना यो विधाको सिर्जना गर्न सम्भव छैन ।
अहिले साधना र कला प्राज्ञिकताकै अभावमा अमूर्त कला सिर्जनामा केही सुस्तता आएको हो कि भन्ने उनलाई लागेको छ ।
उनकै विचारमा सहमत छन्, अर्का अमूर्त (अरुपण) चित्र सिर्जना गर्ने कलाकार तथा कला समीक्षक रमेश खनाल । अमूर्तकला सिर्जनामा युवा पुस्ताले आँटै नगरेको उनले सुनाए । कलामा रङको सन्तुलन, संयोजन, प्रयोग र अर्थ अमूर्त चित्र सिर्जनाले सिकाउने भएकोले यो विधा निकै जरुरी रहेको उनको भनाइ छ ।
कला भन्ने बित्तिकै दृश्य वा फिगर नै हो भन्ने अझै आम मानिसको बुझाइ रहेको धारणा राख्दै उनले अमूर्त कलालाई मानसिक थेरापीका रुपमा समेत प्रयोगमा ल्याउने गरी सिर्जना हुनुपर्ने सुनाए ।
यस विधाका चित्रकलाले मानिसको दुःख, रोदन, हर्ष, उत्साह सबैखाले मनोभावनालाई समेट्ने भएकाले युवा पुस्तामा यस्ता खाले कला सिर्जनामा प्रोत्साहन ल्याउन पाठ्यक्रमसँगै अभ्यासमा पनि अनिवार्य गर्नुपर्ने उनको भनाइ छ ।
यसले कलाकार मात्र नभएर हेर्ने दर्शकमा समेत परिवर्तन ल्याउन सक्ने राजोपाध्याय र खनाल दुवैको मत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया