काठमाडौँ – आईसीसी टी–२० विश्वकपको ‘सुपर ८’मा वेस्ट इन्डिजले अमेरिकामाथि ९ विकेटको शानदार जित निकालेको छ ।
अमेरिकाले दिएको १२९ रनको लक्ष्य १०.५ ओभरमा भेट्टाएको वेस्ट इन्डिजले मात्र एक विकेट गुमाएर १३० रन जोड्दै ९ विकेटको शानदार जित निकालेको हो ।
वेस्ट इन्डिजका लागि विस्फोटक ब्याटिङ गरेका शाही होपले नटआउट ८२ रन बनाए । ३९ बल खेलेका उनले ८ छक्का र चार चौकाको मद्दतमा ८२ रन बनाए ।
त्यस्तै निकोलास पुरणले नटआउट २७ रन जोड्दा जोनसन चार्ल्स १५ रनमा आउट भएका थिए । अमेरिकाका लागि हरमित सिंहले मात्र एक विकेट लिए ।
टस हारेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले १९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १२८ रन बनाएको थियो ।
विश्वकपको सुपर–८ को समूह–२ मा वेस्ट इन्डिजले पहिलो जित निकालेको हो । पहिलो खेलमा वेस्ट इन्डिज इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।
पहिलो जितसँगै वेस्ट इन्डिज दुई अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ । पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको अमेरिका भने यो हारसँगै दुई खेल खेल्दा अंकबिहीन छ ।
यो समूहको दक्षिण अफ्रिका चार अंकसहित शीर्ष स्थानमा छ । दुई खेल खेलेको इंग्ल्यान्डले एक हारसहित दुई अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया