काठमाडौँ– यतिबेला काठमाडौँका कला ग्यालरीहरु कला सिर्जनाले भरिएका छन् । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, बबरमहलस्थित नेपाल कला परिषद, सिद्धार्थ आर्ट ग्यालरी, लाजिम्पाटस्थित ताक्पा, अरुपण, पाटन चाकुपाटस्थित क्लासिक आर्ट ग्यालरी, एम क्युब, सानेपास्थित कलाशाला जस्ता आर्ट ग्यालरीहरुमा नियमित रुपमा कला प्रदर्शनीहरु भइरहेका छन् ।
कला प्रदर्शनी ग्यालरी भित्रै मात्र होइन उपत्यकाका शहर रङ्गाउने धुनमा अहिले महानगरहरु नै लागिपरेका छन् । महानगरका भित्ताहरु पनि अहिले कला सिर्जनाहरुले रङ्गिएका छन् । यिनै विविध खाले र विभिन्न स्थाहरुमा भएका कला प्रदर्शनीहरुमा सहभागी हुने कलाकारहरुको भिड बाग्लै देखिन्छ ।
कला प्रदर्शनीको अवलोकन गर्ने र कलासँगै तस्वीर खिचाउने कलाकारदेखि कलाप्रेमीको माहोल अझ जबर्जस्त देखिन्छ । यो प्रवृत्ति उपत्यका मात्र नभएर बाहिर पनि फैलिएको छ । अहिले ललितकला प्रतिष्ठानले नै कला प्रदर्शनीलाई समुदायसँग जोड्ने उद्देश्यले प्रादेशिक प्रदर्शनीकै थालनी गरिसकेको छ ।
सातै प्रदेशहरुमा कला प्रदर्शनी गरेर प्रतिष्ठानले छनोट भएका कलाकृतिहरुलाई सङ्कन गरी केन्द्रमै ल्याएर ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ नै गरिसकेको छ ।
सातै प्रदेशमा कला हब बनाउने तिव्र जोस लिएर प्रतिष्ठान अगाडि बढिरहेको छ भने ग्यालरीहरु र कलाकारहरु कला प्रदर्शनीको होडबाजीमा लागेका छन् ।
‘कला सिर्जना र कला प्रदर्शनीको यो माहोलले खासमा ललितकलालाई कुन बाटोमा पुर्याउँला ? कला प्रदर्शनीमा कलाको तस्वीर लिनेको भिडसँगै कलाको गहिराइमा पुर्याउने तत्वहरु समावेश भएका छन् कि छैनन् ?’ कला प्रदर्शनीको अर्थ सिधै बिक्रेतासम्म पुर्याउनु हो कि सिर्जनाको समीक्षा पनि हुनु हो ?’
यी प्रश्नहरु अहिलेका कला प्रदर्शनी र कला सर्जकहरुमाथि उठिरहेको प्रस्ट देखिन्छ । एक हप्ते वा एक महिने कला प्रदर्शनी हुनु, प्रदर्शनी भयो है भन्ने सन्देश दिनु, यो कला यति मूल्यमा यति वटा बिक्री भयो है भन्ने हिसाबले प्रदर्शनीको सन्देश प्रवाह भइरहेको छ ।
जुन प्रवृत्ति तीन चार दशकदेखि अगाडि बढिरहेको स्वयं कला समीक्षकहरु सुनाउँछन् । कला सिर्जना र कला प्रदर्शनीहरुमा कला समीक्षाको पाटोलाई ललितकला क्षेत्रले छुटाइरहेको कला समीक्षक तथा कलाकार मुकेश मल्लको बुझाइ छ ।
पाँच दशकभन्दा लामो उनको कला सिर्जना र लेखनको अनुभवले भन्छ, ‘ललितकला क्षेत्रको सिर्जनाले हालसम्ममा जति फड्को मार्यो, जति कलाकारहरु जन्मायो, त्यही अनुपातमा कला लेखकहरु जन्माउन सकेन । यसले गर्दा ललितकला कला सिर्जनामा हुनुपर्ने खास समीक्षा हुनै पाएन ।’
ललितकला सिर्जना समाजको ऐना हो र हुनुपर्छ भन्ने सवालमा स्वयं कला सर्जक र कलाप्रेमीहरु बेला–बेलामा हुने बहसहरुमा सहमति जनाउँछन् । समाजको ऐना नै बन्न स्वयं कला सर्जकहरुले समकालीन समाजसँग कति निकटता राखेका छन् र समकालीन मुद्दामा उनीहरु कति सचेत छन् त ?
यी प्रश्नहरु कला सिर्जनाका सर्जकहरुमाथि उठ्न सक्छ । जसरी साहित्य र सङ्गीत सिर्जनामा समाजका आयामहरु समेटिएका छन् र त्यसमाथि समालोचनात्मक दृष्टिकोणबाट समीक्षा भइरहेका छन्, त्यसरी नै यही प्रवृत्ति ललितकला फाँटमा अगाडि बढिरहेको छ कि छैन ?
ललितकला सिर्जनामा आम मानिसका सङ्घर्ष, पीडा र समकालीन समयको सम्बोधन भएको छ कि छैन ? परम्परागत धारका कला र कलाकारहरु कहाँ छन् ? सिर्जनाको क्षेत्रमा दौडिरहेका कलाकारहरुको सिर्जनात्मक शैली कहाँ पुग्यो र त्यसले समाजमा कस्तो प्रभाव छोड्यो ?
उनीहरुको सिर्जना परिमार्जित भयो कि भएन ? भन्ने विषयको बहसलाई ओझेल पारेको हो कि भन्ने पक्षमा स्वयं कलाकारहरुले निर्मम रुपमा आफैंमाथि समीक्षा गर्नुपर्ने बेला आएको देखिन्छ ।
‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर ललितकला प्रतिष्ठानले गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी’मा समाजलाई प्रतिनिधित्व गर्ने र रुपान्तरण नै गर्ने खालका कलाकृतिहरु समावेश भयो कि भएन भन्ने सवालमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीसँग भएको कुराकानीमा उनले भनेका थिए, ‘हाम्रा कलाकार र कलाकृतिहरु भोकले जन्माइरहेको छ । हामी धेरैजसो थाङ्का, पौभा, मिथिला या अन्य कलाहरु बेचेर भात खाइरहेका छौं ।’
उनकै भनाइ अनुसार हाम्रो चित्र बिक्री हुन्छ कि हुँदैन भन्ने मानसिकताले कलाकारहरुले सिर्जना गरिरहेका छन् । यसले गर्दा सिर्जना भित्री दिलबाट आइरहेको छैन । बिक्रीका लागि कला बनाउनु कलाकारहरुको अहिलेको बाध्यता छ ।
यही भनाइलाई आधार मानेर भन्दा अहिलेका लतिककला सिर्जना र प्रदर्शनी समाज उन्मूख भन्दा पनि बजार उन्मूख छ । जसले कला सिर्जनाको बजार मूल्य त खोज्छ तर सिर्जनाकै खास मूल्य के छ र कहाँ पुर्याउन भन्ने सवालमा चासो राखेको छैन ।
फलस्वरुप कला क्षेत्रले प्रदर्शनीको समीक्षा भन्दा पनि माहोलबारे हल्लीखल्लीमै समय खर्च गरिरहेको छ, अर्थात् ललितकलाकर्मीहरु कलाको निर्मम समीक्षा भन्दा पनि प्रचार चाहन्छन् । यो प्रवृत्तिलाई नजिकैबाट नियालिरहेका छन्, अर्का कला समीक्षक तथा कलाकार तीर्थ निरौला ।
उनको बुझाइमा कला प्रदर्शनीको आफ्नै महिमा छ । कला प्रदर्शनी केवल कलाकृतिहरु ग्यालरीका भित्ताहरुमा झण्डिएको देखाउनु मात्र होइन । कला र कलाकार स्वयंको चिनारी दिने आधार नै कला प्रदर्शनी हो ।
‘कला प्रदर्शनी भनेको कुनै हेर्न आउने मान्छेहरुलाई देखाउन सामान पसलमा बेच्न राखिएको जस्तो होइन,’ उनी भन्छन्, ‘कलाकृति कस्तो छ, कलाकार कसरी परिमार्जित भएर आएको छ, कलाले समय र समाज बोकेको छ कि छैन, यसले कस्तो मूल्य र मान्यता बोकेर आएको छ भन्ने कुराको पनि अर्थ राख्छ ।’ यो हिसाबले कला प्रदर्शनीहरुको समीक्षा हुन छोडेको उनी सुनाउँछन् ।
कलाकारका लागि प्रदर्शनीमा कतिवटा कलाकृतिहरु समावेश गरियो र कति मूल्यमा बिक्री गर्न सकियो भन्ने सवालले कला क्षेत्रको उन्नति नहुने उनको ठम्याइँ छ । मल्ल र निरौला दुवैका अनुसार कला प्रदर्शनीसँगै कला छलफल, बहस तथा लेखनलाई समेत सँगसँगै लैजानु आजको तत्काल आवश्यकता हो ।
कला लेखन र दस्तावेजीकरणलाई हेर्दा यसको लामो इतिहास भेटिन्छ । कला सिर्जनाको महिमालाई माथि उठाउन कला लेखन र दस्तावेजीकरणको ठूलो भूमिका छ । प्राचीन कालदेखि नै विभिन्न पुस्तक, शिलालेख तथा विभिन्न शास्त्रहरुमा उल्लेख गरिएका प्रतिमाशास्त्रहरु नै कलाका लिखित दस्तावेजहरु हुन् ।
मेसोपोटामियन सभ्यतामा थालनी भएको लेखन पद्धतिमा चित्रात्मक लेखन पद्धतिमा कलाको दस्तावेजीकरण भयो ।
पछि इजिप्ट, ग्रिक, सिन्धुघाँटी, रोमन लगायतका सभ्यतामा लेखाइका साथसाथै साहित्य, दर्शन, सौन्दर्य जस्ता शास्त्रहरुसँगै कला सिर्जनाबारे लेख्न थालियो । ग्रिकबाट भने कला लेखनलाई व्यवस्थित रुपमा अगाडि बढाउने काम भयो ।
नेपालमा वि.सं. १९५८ सालमा गोर्खापत्रको प्रकाशनपछि नै अन्य विषयमा समाचार सामग्री प्रकाशनकै क्रममा कला लेखनको पनि शुरुवात भएको हुन सक्छ भन्ने कला लेखक तथा समीक्षकहरुले मत राखेको पाइन्छ ।
सन् २००८/२००९ सालमा संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले ‘कलाकार’ नामक त्रैमासिक पत्रिका प्रकाशन गरेका थिए ।
यसले कला गतिविधि र साहित्यिक गतिविधिहरुलाई नै प्राथमिकता दिएको पाइन्छ । २०१६–२०१७ सालतिर गोर्खापत्रमा नारायणबहादुर सिंहले कलाबारे लेख्न शुरु गरे । कला लेखनमा हालसम्म कला समीक्षकको उदाहरण लिँदा सिंहकै नाम अग्रपङ्क्तिमा आउँछ ।
सिंहले ‘नेपाली चित्रकार,’ ‘कला एक अनुभूति एक चिन्तन’ जस्ता कला सन्दर्भमा लेखिएका पुस्तकहरु समेत प्रकाशन गरे ।
सिंहको समयपछि कलाकारहरु कति जन्मिए र त्यसका बारेमा समीक्षा गर्ने समीक्षकहरु कति आए भन्ने कुराको लेखाजोखा नहुँदा कला लेखनमा निकै सुस्तता छाएको मल्ल सुनाउँछन् । यस्तो हुनुमा कला संस्था र कलाकाहरुले लेखकहरुले बेवास्ता गरिरहेको छ भन्ने उनलाई लाग्छ ।
अहिलेको प्रदर्शनीहरु सिर्जनामा कला, कलाकार, कला लेखकको सम्बोधन र सम्मान हुनुपर्नेमा ठीक उल्टो दिशातिर गइरहेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘कला प्रदर्शनीमा साहित्यमा जस्तै कुनै प्रदर्शनी वा कलाका बारेमा भन्न सक्ने एकजना समीक्षक अनिवार्य चाहिने हो । कुन कला कस्तो छ, कुन शैलीमा गरेको छ भन्ने जस्ता कुरा समीक्षकले नै दर्शकलाई बुझाउन सक्छ ।’
कला प्रदर्शनीमा कुनै राजनीतिक दलका नेताकार्यकर्तालाई बोलाएर उनीहरुले के भने भन्दा पनि कलाका गुणस्तरका पक्षमा बोल्न सक्ने समीक्षक चाहिने उनको मत छ । प्रदर्शनीमा कसरी गर्ने भन्ने यसमा सिस्टम नै हुनुपर्ने उनको बुझाइ छ । उनका अनुसार लेखनलाई जति प्राथमिकतामा राख्यो त्यति कला र कलाकारको विषयमा बढी भन्दा बढी समीक्षा हुन्छ ।
यसबाट कला सिर्जनामा गुणात्मक रुपमा परिमार्जन आउन सक्छ । प्रदर्शनी यति जनाले अवलोकन गरे, यति कलाकृतिहरु बिक्री भए भन्ने हिसाबले जाने प्रवृत्तिमा उनी सन्तोषजनक छैनन् । उनी अझै थप्छन्, ‘कला सिर्जनामा कलाकाहरुले नयाँ–नयाँ शैली र अवधारणाहरु लिएर आइरहेका छन् ।
ती आएका चीजहरुमा समीक्षा गर्ने समीक्षक खोइ त ? उही हामी दुई/चार जना लेख्नेहरु पनि आफ्नै रहरले लेखिरहेका छौं । यसमा कसैको प्रोत्साहन छैन ।’
कला ग्यालरी स्थापना हुनु र प्रदर्शनीको माहोल बढ्नु कला क्षेत्रका लागि सुखद पक्ष हो । कला र कला प्रदर्शनीको आयाम र पहुँचलाई विस्तार गर्नु समीक्षाको पाटो अझै महत्वपूर्ण हुन्छ । नेपालमै पनि कला प्रदर्शनीको इतिहास लामै देखिन्छ ।
समीक्षक मल्लकै नागरिक दैनिकबाट प्रकाशित ‘इन्टरनेटसम्म आइपुग्दाको कला प्रदर्शनी’ शीर्षक लेखमा अहिलेसम्म प्राप्त अभिलेख अनुसार, चन्द्रमान सिंह मास्केले सन् १९२९ मै एकल कला प्रदर्शनी गरेको भन्ने भनाइ पाइएको उनले उल्लेख गरेका छन् ।
त्यसपछि सन् १९५४ तेजबहादुर चित्रकारले सन् १९५५ तिर गेहेन्द्रमान अमात्य र सन् १९५९ मा उर्मिला उपाध्यायको एकल कला प्रदर्शनी गरेको देखिन्छ । त्यसपछि लैनसिंह बाङदेल, उत्तम नेपाली, कलाकार उपाध्याय र विजय थापाले गरेको एकल चित्रकला प्रदर्शनहरुको नेपाली कला क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरेका छन् ।
यही कालबाट नै नेपालमा कला प्रदर्शनीहरुको लहड भित्रियो । त्यो कालखण्डदेखि आजसम्म आइपुग्दा कति कला प्रदर्शनीहरु भए र कतिजना कलाकारहरु जन्मिए भन्ने एकिनका साथ भन्ने अध्ययन तथा अनुसन्धान भएको देखिँदैन ।
ग्यालरी, सार्वजनिक स्थान हुँदै कला प्रदर्शनीहरुले भर्चुअल माध्यमको लय समातिसकेको छ । जहाँ कलाका विविध आयामहरु आएका छन् । यी सबै कुराहरुमा मिहीन समीक्षा हुनुपर्ने मल्लको तर्क छ । बजार र बिक्रेताको मात्र बाटो समाएर हाम्रो कला सिर्जना माथि उठ्न नसक्ने उनी ठोकुवा गर्छन् ।
विश्वचर्चित चित्र ‘मोनालिसा’, कलाकार पिकासो र उनको कलाको चर्चा त्यसै चुलिएको होइन । यसमा कला समीक्षाको ठूलो हिस्सा समेत रहेको उनी सुनाउँछन् ।
कलाकारहरु सिर्जनामात्र संकुचित भएर आत्मरतीमा रमाउने प्रवृत्ति रहेको निरौलाको बुझाइ छ । उनका अनुसार प्रदर्शनी भयो र प्रदर्शनीका बारे कसैले टिपोट गरे राम्रो लेखिदिनु समीक्षा हुन सक्दैन । तर अहिलेको परिपाटी त्यस्तै भइरहेको छ ।
‘कला क्षेत्रका सर्जकले अहिले प्रचार खोजिरहेको छ कि कला समीक्षा ?’ यो पक्षमा कलाकार स्वयं सचेत हुनुपर्ने समय भएको उनको मत छ । कला र कलाकारको मूल्याङ्नले नै कला क्षेत्रले फराकिलो बाटो बनाउँदै अन्तर्राष्ट्रिय यात्रा तय गर्न सक्छ भन्ने कुरामा मल्ल र निरौला दुवै विश्वस्त छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया