काठमाडौँ– प्रविधिको विकासले विशाल ब्रह्माण्डलाई केन्द्रमा राखेर गरिने नयाँ खोज र अनुसन्धानलाई सहज बनाइदिएको छ । केही दशकअघिसम्म ब्रह्माण्डका रहस्यमयी गुत्थीहरू सुल्झाउन कष्टकर भएपनि अहिले सूचना र प्रविधिको सहायताले जटिल खोजमा खगोलशास्त्रीहरूलाई ‘भर्याङ’का रूपमा काम गरिरहेको छ ।
विश्वभरका वैज्ञानिकहरू यो भीमकाय ब्रह्माण्डमा भएका नयाँ रहस्यमयी तथ्यहरूको खोजका लागि आफ्नो पूरै जीवन समर्पण गरिरहेका छन् । अहिले विश्वका शक्तिशाली राष्ट्रहरू नै अन्तरिक्ष यात्राको दौडमा निस्किरहेका छन् ।
हामीले दैनिकजसो सुन्दै आएका छौँ, विश्वका शक्तिशाली देशहरूले चन्द्रमा, मङ्गल ग्रह लगायत सौर्यमण्डलका अन्य ग्रहका बारेमा खोज तथा अनुसन्धानलाई जारी राखेका छन् । अन्तरिक्षमा पठाइएका ती यानहरूले ब्रह्माण्डका चाखलाग्दा तस्वीर र सूचनाहरू पृथ्वीमा पठाइरहेका छन् ।
अझ केही दशकयता त अन्तरिक्षको खोजमा शक्तिशाली राष्ट्रहरूको एक किसिमको प्रतिस्पर्धा नै भइरहेको छ ।
हालसम्मको इतिहासमा पृथ्वीबाट पठाइएको भोयजर १ यानले ब्रह्माण्डका अनेक रहस्यमयी तथ्यहरूको पर्दा उघारेको छ ।
अमेरिकाको राष्ट्रिय हवाई एवम् अन्तरिक्ष प्रशासन नासाले ४६ वर्ष ९ महिनाअघि प्रक्षेपण गरेको थियो । रोचक कुरा त के हो भने यो यानले सौर्यमण्डल नै पार गरिसकेको छ ।
कुनै मानव निर्मित यानले पृथ्वीबाट टाढाको दूरी पार गरेको यो पहिलो रेकर्ड हो ।
पृथ्वीबाट प्रक्षेपण गरिएको यो यान हालसम्मको इतिहासमा सबैभन्दा टाढा पुगेको एक मात्र यान हो । यो यान करीब ४७ वर्षदेखि पृथ्वीबाट धेरै पर पुगिसकेको छ । र, यसले पृथ्वीमा सफलताका साथ सूचना पनि पठाइरहेको छ ।
सन् १९७७ सेप्टेम्बर ५ मा अमेरिकाको फ्लोरिडामा रहेका केप कनाभेराल अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको भोयजर १ ले पृथ्वीबाट २४ अर्ब ३९ करोड किलोमिटरको दूरी पार गरेको नासाको भोयजर सम्बन्धी तथ्यांकमा उल्लेख गरिएको छ ।
अझै पनि यो १७ किलोमिटर प्रतिसेकेण्डको गतिमा सौर्यमण्डलबाट बाहिरतर्फ तीव्र गतिमा अघि बढिरहेको छ ।
त्यसो त, भोयजर १ जस्तै सोही वर्षको अगस्ट २० मा नासाले भोयजर २ लाई पनि अन्तरिक्षमा पठाएको थियो । तर, आज हामी यो सामग्रीमा भने भोयजर १ का बारेमा जानकारी दिँदैछौँ ।
खासमा भोयजर १ लाई नासाले वृहस्पति र शनि ग्रहको अध्ययन गर्नका लागि ती ग्रहको नजिकैबाट उड्ने अभियान अन्तर्गत प्रक्षेपण गरेको थियो । यस यानले ती ग्रहको मौसम, चुम्बकीय क्षेत्र, चक्र र उपग्रहहरुको अध्ययन गर्ने उद्देश्य लिइएको थियो ।
यसअनुसार भोयजरले सन् १९७९ मार्च ५ मा वृहस्पति र सन् १९८० नोभेम्बर १२ मा शनि ग्रहको नजिकैबाट उडान भरेको थियो ।
यस अभियान अन्तर्गत भोयजर १ ले वृहस्पति ग्रहको बाहिरी तहमा रहेका पातलो नयाँ चक्र र दुई वटा नयाँ उपग्रह पत्ता लगाएको थियो । त्यसबाहेक यस यानले शनि ग्रहका ५ नयाँ उपग्रह र ‘जी रिङ’ भनिने नयाँ चक्र फेला पारेको थियो ।
त्यसबाहेक यस यानले ती ग्रहका नयाँ तस्बिर पनि पृथ्वीमा पठाएको थियो, जसबाट अन्तरिक्षको अध्ययनमा थप नयाँ आयाम थपेको वैज्ञानिकहरु बताउँछन् । भोयजर १ ले पठाएको तस्बिरबाट सन् १९७३–७४ मा ‘पायोनियर’ यानले पठाएको तथ्यांकको तुलनामा वृहस्पति ग्रहको वायुमण्डल थप अस्थिर हुँदै गएको पाइएको थियो ।
शनि ग्रहनजिकैबाट उडान भर्ने क्रममा भोयजर १ ले यस ग्रहको नयाँ र स्तरीय तस्बिरका साथै शनि र यसका उपग्रहबारे थुप्रै नयाँ जानकारी पठाएको थियो ।
तर, नासाले भोयजरलाई केबल ग्रहको अध्ययन गर्नका लागि मात्र अन्तरिक्षमा पठाएको थिएन । यसलाई अन्तरिक्षमा पठाउनुको अर्को पनि उद्देश्य थियो, त्यो हो– मानव निर्मित सामग्रीलाई सौर्यमण्डलबाहिर प्रक्षेपण गर्नु ।
शनि ग्रह नजिकैबाट उडान भरेपश्चात आफ्नो दोस्रो अभियानअन्तर्गत भोयजर १ ले सौर्यमण्डलको घेराबाहिरको दिशातर्फ पृथ्वीको स्थानमानभन्दा ३५ डिग्री उत्तरमा उडान भरेको थियो । यो नजिकैका अन्य ताराको तुलनामा सूर्यको कक्षको औसत दिशा हो ।
यसरी उडान भरेको निकै लामो समयपछि सन् १९९० को जनवरी १ बाट भोयजर १ ले औपचारिक रुपमा अन्तरतारकीय अभियान थाल्यो । नासाका अनुसार यो अभियानको उद्देश्य सौर्यमण्डलको प्रभावक्षेत्र बाहिरको अन्तरिक्षको अध्ययन र सौर्यमण्डल बाहिर रहेका सम्भावित सभ्यताको खोज गर्नु रहेको थियो ।
आफ्नो अभियानका क्रममा भोयजरले ६७ हजारभन्दा धेरै चित्र पृथ्वीमा पठाएको थियो । सन् १९९० फ्रेबुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन्स डे’ का दिन यसले विशाल अन्तरिक्षमाझ तोरीको गेडाजत्रो देखिने हाम्रो पृथ्वीको चित्र पठाएको थियो । त्यो चित्र अझै पनि ‘पेल ब्लु डट’ का नामबाट प्रख्यात छ ।
सन् १९९८ फेब्रुअरी १७ का दिन पायोनियर १० लाई उछिन्दै भोयजर १ पृथ्वीबाट सबैभन्दा टाढा रहेको मानव निर्मित संरचना बन्न पुग्यो । त्यसबेला यस यानले सूर्यबाट १० अर्ब ३८ करोड ५० लाख किलोमिटरको दूरी तय गरिसकेको थियो ।
अन्ततः अगष्ट २५ सन् २०१२ का दिन यस यानले सौर्यप्रभाव क्षेत्र नाघेर अन्तरतारकीय खगोलक्षेत्रमा प्रवेश गर्न सफल भयो । अझै पनि यस यानमा रहेका ११ मध्ये ४ वटा उपकरण अझै पनि सञ्चालनमा छन् ।
भोयजर १ का उपकरण के के छन् ?
भोयजर १ मा इमेजिङ साइन्स सिस्टम (आईएसएस), अल्ट्राभायोलेट स्पेक्ट्रोमिटर (यूभीएस), इन्फ्रारेड इन्टरफेरोमिटर स्पेक्ट्रोमिटर (आईरिस), प्लानेटरी रेडियो एस्ट्रोनोमी एक्सपेरिमेन्ट (पीआरए), फोटोपोलरीमिटर (पीपीएस), ट्राइएक्सल फ्लक्सगेट म्याग्नेटोमिटर (म्याग), प्लाज्मा स्पेक्ट्रोमिटर (पीएलएस), लो–इनर्जी चार्ज्ड पार्टिकल्स एक्सपेरिमेन्ट (एलईसीपी), प्लाज्मा वेभ्स एक्सपेरिमेन्ट (पीडब्लूएस), कस्मिक रे टेलिस्कोप (सीआरएस) र रेडियो साइन्स सिस्टम (आरएसएस) गरी ११ वटा वैज्ञानिक उपकरण जडान गरिएको छ ।
तीमध्ये सीआरएस, एलईसीपी, म्याग र पीडब्लूएस अझै पनि चालु अवस्थामा छन् ।
यस यानमा जडान गरिएका तीन वटा रेडियोआइसोटोप थर्मोइलेक्ट्रिक जेनेरेटरका माध्यमबाट ऊर्जा प्राप्त गर्छ । उक्त जेनेरेटरमा प्लुटोनियम–२३८ अक्साइड राखिएको छ । समयसँगै क्षय हुँदै जाने भएका कारण यस यानका उपकरण सञ्चालन गर्ने ऊर्जा हरेक वर्ष चार वाटले घटिरहेको बताइन्छ ।
त्यसबाहेक रोचक कुरा त के छ भने यस यानमा जडित तीन वटा कम्युटरको प्रोसेसिङ क्षमता केबल १६ किलोबिट र मेमोरी क्षमता ६९ दशमलब ६३ किलोबाइट मात्र छ ।
सुनौलो रेकर्ड
भोयजर १ मा रहेको सबैभन्दा रोचक कुरा भने त्यसमा जडित सुनौलो रेकर्ड नै हो । खासमा सौर्यमण्डलबाहिर रहेको सम्भावित उन्नत सभ्यता (एलियन) लाई पृथ्वीबारे जानकारी दिनका लागि भोयजरमा राखिएको यो एक किसिमको फोनोग्राफ रेकर्ड हो ।
सौर्यमण्डलबाहिर रहेको कुनै एलियन सभ्यताले भोयजरलाई फेला पारेमा त्यस सभ्यतालाई पृथ्वीको बारेमा जानकारी दिनका लागि यो रेकर्ड त्यहाँ जडान गरिएको हो । यसबारे नासाका वैज्ञानिक कार्ल सगानले भनेका छन्, ‘अन्तरतारकीय अन्तरिक्षमा अन्तरिक्षको खोजी गर्ने कुनै उन्नत सभ्यताले यस रेकर्ड भट्टाएमात्र यस रेकर्डलाई सञ्चालन गर्न सक्नेछ ।’
३० सेन्टिमिटर व्यास भएको तामाबाट निर्मित यो फोनोग्राफ रेकर्डमा निकेल र सुनको जलप लगाइएको छ । यस रेकर्डको बाहिरी पत्रमा आलुमुनियम राखिएको छ भने यसमा युरेनियम २३८ को पनि आवरण पोतिएको छ ।
यस रेकर्डको बाहिरी तहमा कसरी यसलाई सञ्चालन गर्ने भन्ने जानकारी दिइएको छ ।
यस रेकर्डभित्र पृथ्वीको अवस्थिती, गणित र विज्ञानका आधारभूत सिद्धान्त, मानिसको आवाज, तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टर र संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव कर्ट वाइल्डहाइमको सन्देश, अङ्ग्रेजी, हिन्दी, बंगाली, अरबी, फारसी, चिनियाँजस्ता पृथ्वीका विभिन्न ५५ भाषामा अभिव्यक्त गरिने अभिवादनजस्ता सामग्री राखिएको छ ।
त्यसबाहेक यसमा विभिन्न देशका सङ्गीत, गणितका आधारभूत सिद्धान्त, पृथ्वीको अवस्थिती, मानिसहरुका विभिन्न क्रियाकलाप, प्राकृतिक एवम् मानव निर्मित संरचनाजस्ता तस्वीर पनि राखिएको छ ।
भोयजर १ को भविष्य
पृथ्वीबाट सबैभन्दा टाढा रहेको अझै पनि अत्यन्त तीव्र गतिमा अघि बढिरहेको भोयजर १ को ऊर्जा सन् २०३६ सम्म समाप्त हुने अनुमान गरिएको छ । त्यसपछि भोयजर १ ले पृथ्वीमा कुनै सन्देश तथा जानकारी पठाउन सक्नेछैन । तर, यसले अन्तरिक्षको यात्रा भने गरिरहने छ ।
कुनै उन्नत एलियन सभ्यताले भोयजरलाई भेट्टाएको खण्डमा उक्त सभ्यताले यस यानमा रहेको सुनौलो रेकर्डबाट पृथ्वीबारे जानकारी पाउने छ र हाम्रो पृथ्वीबारे उक्त सभ्यताले पृथ्वीको जानकारी पाउने छ ।
यो पनि पढ्नुहोस्: मानव बस्ती बसाल्ने लक्ष्य लिइएको मङ्गल ग्रहबारे रोचक खोज, हालसम्म कति उपलब्धि भयो?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया