मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजदेखि काभ्रेपलाञ्चोकको पनौतीमा हिले जात्रा सुरु

काभ्रेपलाञ्चोक  – काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको हिले जात्रा आजदेखि सुरु हुँदै छ । जात्राको परम्पराअनुसार आज साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रुपमा दुईवटा बाँस तेर्स्याइने र देवगण ‘दुइचा न्याकेगू’हरु सुस्तरी तरेपछि जात्रा सुरु भएको मानिन्छ । 

आज राति १० बजे भद्रकालीको रथ तानिने छ भने रातभरी गैंडू पूजा ‘होम गर्ने’ पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल मनाइने हिलेजात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने यहाँको चलन हो । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिन्छ । 

जात्रा सकिएको दिन पनौतीमा हावाहुरी चल्ने तथा वर्षा सुरु हुने मान्यता रहिआएको स्थानीय वृद्ध विकुनारायण ताम्राकारले बताए। किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टीका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या भएपछि ललितपुरको बुङ्मतिबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको विश्वास गरिँदैआएको स्थानीय तुयुकाजी ताम्राकार बताउछन् । तीन दिनसम्म मनाइने यो यहाँको ठूलो जात्रा हो ।  

जात्रा मनाउने क्रममा चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठ मन्दिरमा धुमधामहित पूजाअर्चना गरिन्छ । साथै, ईन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबिरजात्रा गरी नगरपरिक्रमा गराइन्छ । सोही दिन साँझ भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिन्छ । जात्राको तेस्रो अर्थात् पूर्णिमाको दिन बिहानै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका रथको भागदौड गराउने र रथ भेटिँदा एकापसमा जुधाउने काम गरिन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिइन्छ । 

पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुप धारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यका रुपमा अबीरजात्रा गरी रथ जुधाइने गरिन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका ईन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रम्हायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् । 

धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनिकसम्बन्ध प्रस्तुतिका रुपमा लिइएको हो । युवायुवती रथ जुधाउन तछाडमछाड गर्छन् । इन्द्रेश्वर मन्दिरका पुजारी रमेश जङगमका अनुसार रथ जुधाईमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिले पहिले झिसमिसे अगावै रथ जुधाइने गरिन्थ्यो । 

विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो । तर, पछिल्ला केही वर्षदेखि देवतारुपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिएको छ । स्थानीयले मुख्य पर्वका रुपमा मनाउँदै आएका कारण जात्राको अन्तिम दिन नगरपालिकाले सार्वजनिक बिदासमेत दिने गरेको छ । जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य ‘आचाजू’हरु सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने विश्वास गरिन्छ । 

कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्ने भएकाले जात्रालाई निरन्तरता दिइएको विश्वास गरिँदै आइएको छ । जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । यसपछि यी सामग्रीको बिक्री सुरु हुने विश्वास रहिआएको छ । स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारका साथ भोज गर्छन् । भोजका लागि प्रत्येक घरमा बलिदिने प्रथा अझै कायम छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?