पाँचथर – मुहान क्षेत्रका बासिन्दाले संरचना निर्माण गर्न र पानी लैजान नदिएपछि पाँचथरको सिदिन–याङनाम खानेपानी योजना संकटमा परेको छ । फालेलुङ गाउँपालिका–६ र ७ को सीमामा अवस्थित प्युरेखोलामा मुहान थापेर सञ्चालन गर्न लागिएको योजनाको मुहानको विवादले समस्यामा परेको हो ।
मुहान प्रयोग गर्ने विषयमा लामो समयदेखि संवाद हुँदै आए पनि स्थानीयवासी अझैसम्म मुहान प्रयोग हुन दिने पक्षमा छैनन् । यही खोलामा मुहान थापेर खानेपानी र सिँचाइका योजना सञ्चालनमा रहेको, पानीका मुहान क्रमशः सुकिरहेको अवस्थामा यहाँ मुहान दिए निकट भविष्यमै आफूहरूको जीविकोपार्जन सङ्कटमा पर्ने स्थानीयवासीको भनाइ छ । जसकारण करिब ९१ प्रतिशत भौतिक प्रगति गरेको योजना अघि बढ्न सकेको छैन ।
जिल्लाको फिदिम नगरपालिका वडा नं १० र फालेलुङ गाउँपालिका वडा नं ८ का सुक्खा प्रभावित क्षेत्रका एक हजार दुई सय ११ परिवारका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामबाट योजना निर्माण भइरहेको छ । विसं २०७९ असार २३ गते ठेक्का सम्झौता भई निर्माण थालिएपछि नै फालेलुङ गाउँपालिका–७ ले अनुमति र जानकारी नलिई योजना निर्माण सुरु भएको भन्दै निर्माणकार्य रोक्न पत्राचार गरेको थियो । जिल्ला समन्वय समितिको अगुवाइमा भएको छलफलपछि निर्माण सुरु भएको थियो ।
विसं २०८० असोज १३ गते फालेलुङ वडा नं ६ को कार्यालयले समेत निर्माणकार्य रोक्न भनेपछि मुहान क्षेत्रमा काम ठप्प भएको थियो । यद्यपि उपभोक्ता समिति र निर्माण कम्पनीले वितरण क्षेत्रमा निर्माणकार्य धमाधम सम्पन्न गरेका थिए । मुहानको विवाद समाधान गर्न गत वैशाख १३ र जेठ २० गते सर्वपक्षीय बैठक बसे पनि समाधान निस्कन नसकेको फालेलुङ–८ का वडाध्यक्ष श्रीहाङ केरुङले बताए । सर्वपक्षीय बैठकले समाधान निकाल्न नसकेपछि गत जेठ २६ गतेबाट मुहान क्षेत्रमा संरचना निर्माण थालिएकामा जेठ ३१ गते स्थानीयवासीले अवरोध गरेपछि निर्माण रोकिएको वडाध्यक्ष केरुङले बताए ।
चालु आवमा योजनाका लागि छुट्टिएको बजेट निकासा गराउनुपर्ने, समयमा निर्माणकार्य रोकिएपछि प्राप्त भएको बजेट फिर्ता हुने र भविष्यमा बजेट प्राप्त गर्ने सम्भवना कम भएको फिदिम नगरपालिका–१० का वडाध्यक्ष ओमराज थाम्सुहाङको भनाइ छ । बजेट फ्रिज भएपछि यो योजनाको भविष्य अन्योलमा पर्छ, उनले भने, दुई वडाको खानेपानीको समस्या समाधानका लागि उक्त योजनाको मुहानभन्दा अर्को उपयुक्त विकल्प पनि छैन ।
मुहान क्षेत्रका बासिन्दाले खानेपानी नदिए आफ्नो क्षेत्रबाट सञ्चालन भएको सडक, विद्युत्, इन्टरनेटलगायत सेवासमेत अवरुद्ध पार्ने योजनाको लाभान्वित क्षेत्रका बासिन्दाले चेतावनी दिएका छन् । उपभोक्ताको भेलाले समस्या समाधान नभए यही असार ९ गतेबाट मुहान क्षेत्र फालेलुङ गाउँपालिका वडा नं ७, ६ लगायतमा प्रवाह हुने विद्युत्सहित सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको उपभोक्ता समितिका सचिव भुवन जबेगूले बताए ।
मुहान क्षेत्रका बासिन्दाले भने आफूहरूसँग समन्वय नै नगरी योजना निर्माण थालिएकाले खानेपानी दिन नसकिने बताउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय पाँचथरमा केही समयअघि भएको सर्वपक्षीय छलफलमा मुहान क्षेत्रका बासिन्दा प्रकाश केरुङले भने, त्यही मुहानबाट सिँचाइको व्यवस्था गर्नुका साथै जीविकोपार्जनको माध्यम अलैँची बनाएका छौँ । योजनाले अर्को उपयुक्त मुहान खोज्नु ठिक हुन्छ ।
पटक–पटक भएका छलफल स्थानीयवासी मुहान दिन तयार देखिएका छैनन् । यता उपभोक्ताले भने सुक्खायाममा मुहानमा हुने पानीको एकतिहाइ पानी दिन आग्रह गरिरहेका छन् । वर्षायाममा भने पानी प्रशस्तै हुने हुनाले मुहान क्षेत्रमा कुनै प्रभाव नपर्ने उपभोक्ताको तर्क छ ।
यस योजनामा अहिलेसम्म ९१ प्रतिशत भौतिक प्रगति र ८३ प्रतिशत वित्तीय प्रगति भएको छ । विसं २०७९ असार २३ मा अञ्जना–पराजुली–पाथीभरा जेभीले ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी रु १३ करोड ६० लाख ९१ हजार छ सय ८६ लागतमा योजनाको ठेक्का लिएको थियो । मुहानको विवाद र निर्माणकार्यमा अवरोध हुँदा आयोजनाको भविष्य नै संकटमा पर्ने निर्माण कम्पनीका प्रतिनिधि लोकेन्द्र राजभण्डारीले बताए ।
योजनाले एक हजार दुई सय ११ घरका पाँच हजार आठ सय तीन जनसंख््या लाभाविन्वत हुनेछन् । योजनामा ७२ दशमलव २३ किलोमिटर पाइपलाइन, ११ वटा मुख्य पानी भण्डारण ट्यांकी, २३ वटा बिपीटी, ४५ वटा भल्भ च्याम्बर, ८० वटा ब्लक तथा पाइप सपोर्ट पोस्ट, फिल्टर ट्यांकीलगायत संरचना छन् । योजनाको निर्माणकार्य गरेवापत हालसम्म रु ११ करोड ३६ लाख १४ हजार आठ सय ५३ रकम आफूलाई भुक्तानीसमेत भइसकेको निर्माण कम्पनीले जनाएको छ ।
योजनाको सबै पानी भण्डारण ट्यांकी, उपभोक्ता समितिको भवन, पानी प्रशोधनशाला निर्माण भइसकेकोे छ । पाइपलाइन तथा वितरण लाइनको अधिकांश निर्माणकार्य सकिएको छ भने एक हजार दुई सय ११ घरमध्ये एक हजार ३२ घरमा धारा जडान सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया