मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मण्डलामा तीन दिने नाट्य महोत्सव ‘म्याड फेस्ट– २०२४’ हुने

काठमाडौँ– थापागाउँस्थित मण्डला थिएटरमा तीन दिने नाट्य महोत्सव ‘म्याड फेस्ट– २०२४’ हुने भएको छ ।

‘म्याड फेस्ट’ समूहले बुधवार मण्डलामा पत्रकार सम्मलेन गर्दै सोबारे जानकारी दिएको हो । मण्डला थिएटरका पूर्व विद्यार्थीहरु र मण्डलाकै संयुक्त प्रयासमा उक्त महोत्सव हुन गइरहेको महोत्सवका निर्देशक अनुप न्यौपानेले बताए । महोत्सवको यो पहिलो संस्करण हो ।

असार २१ गतेदेखि २३ गतेसम्म हुने महोत्सवमा मण्डलाकै विद्यार्थीहरुबाट सिर्जना गरिएका ६ वटा नाटकका साथै नाटक तथा अन्य कला सिर्जनाकै सेरोफेरोमा रहेर प्यानल छलफल, कविता, सङ्गीत प्रस्तुति, समाचार नाटक जस्ता विधामा अन्तरक्रियात्मक कार्यक्रमहरु हुने आयोजक टोलीले जनाएको छ ।

महोत्सव मार्फत युवा रङ्गकर्मी, रङ्गप्रेमीहरुबिच सहकार्य, एकता तथा प्रोत्साहन गर्ने, युवा पुस्ताका कलाकारहरुलाई समुदायसँग नजिक बनाएर दिगो सिर्जनाका प्लेटफर्म उपलब्ध गराउने, लेखक, निर्देशक, कलाकार तथा प्राविधिकहरुको व्यावसायिक वृद्धिमा जोड दिने, मौलिकतालाई प्रोत्साहन गर्ने, विविधतालाई सम्बोधन गर्ने लगायतका उद्देश्यहरु महोत्सवले राखेको छ ।

महोत्सवका लागि ‘रेल्वे टु नोव्हेर,’ ‘मिरर,’ ‘सिल्पिनी,’ ‘नुग्धा,’ ‘आगम’ र ‘अंकुरन’ नाटकहरु छनोट भएका छन् । सामाजिक समकालीन मुद्दा र प्रयोगात्मक एबसर्ड नाटकहरुलाई छनोट गरिएको निर्देशक न्यौपानेले सुनाए ।

उनका अनुसार १८ वटा कथाहरुबाट आठ वटा मात्र छनोट गरी १५ दिने प्रडक्सन वर्कशप गरेर छ वटा नाटकलाई अन्तिम चरणका लागि छानिएको हो ।

महोत्सवको यो पहिलो संस्करण भएकोले अहिले मण्डलाकै टिम समावेश भएपनि आगामी संस्करणमा नेपाल भरिका थिएटर र कलाकारहरुसँग पनि जोड्ने महोत्सव टोलीको योजना छ ।

यस्ता खाले महोत्सवले युवा पुस्तामा लागि पहुँच, ज्ञान निर्माण गर्ने, सिर्जनाको अवसर प्रदान गर्ने र सहकार्यको वातावरण तय गर्न सकिन्छ भन्ने आयोजक टोलीको विश्वास छ ।

निर्देशक न्यौपानेले भने, ‘हाम्रो सानो प्रयास र छलफलले हामीले महोत्सव जाने तयारी गरेका छौं । हामीले गर्दै आएको काम र अनुभवहरु नै यसमा हुनेछन् । यसले हामी सबैलाई एकैठाउँमा ल्याउँछ भन्ने हामीलाई आशा छ ।’

दयाहाङ राईको अध्यक्षतामा हुने महोत्सवका लागि मण्डलाले टिकट बिक्री र अनलाइन मार्फत समेत बुकिङ खुल्ला गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?