मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

के कार्बोहाइड्रेटयुक्त खानाले मोटोपनको समस्या निम्त्याउँछ ?

काठमाडौँ– पछिल्लो समय विलासी जीवनशैली र जङ्क फुडको सेवनले धेरैमा मोटोपनको समस्या बढिरहेको छ । मोटोपन घटाउन जिम जानेदेखि खानपिनमा पनि धेरै ख्याल गरेको पाइन्छ ।

कतिपयले मोटोपन घटाउन भन्दै लामो समयसम्म अन्न नै नखाने गरेको पनि पाइन्छ । चिकित्सकहरूका अनुसार लामो समय अन्न नखाँदा यसले स्वास्थ्यमा असर पार्ने चिकित्सकहरू बताउँछन् । नेपाली समाजमा चामल र आलुको सेवन नगर्दा मोटोपनको समस्या हुँदैन भन्ने मान्यता पनि रहेको पाइन्छ ।

चामल र आलु कार्बोहाइड्रेटको प्रमुख स्रोत हुन् । कार्बोहाइड्रेटले खानेकुराले मोटोपन बढाउँछ भन्ने बुझाइ व्याप्त छ । यसकारण धेरैले आफ्नो खानाबाट धमाधम कार्बोहाइड्रेट कटौती गरिरहेका छन्, जुन भनाइ गलत रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।

मोटोपनबाट छुटकारा पाउन कार्बोहाइड्रेटयुक्त खानेकुरा छाड्न आवश्यक छ कि छैन रु चामल, आलुको सेवन गर्ने नहुने हो या मात्रा मिलाउनुपर्ने हो रु शरीरका लागि कार्बोहाइड्रेट कति जरुरी छ रु कार्बोहाइड्रेटले शरीरमा के काम गर्छ रु लगायतका प्रश्नहरुमा केन्द्रित रहेर पोषणविद् अनुश्री आचार्यसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

कार्बोहाइड्रेटयुक्त खानाले तौल बढ्ने नै हो र ?
कार्बोहाइडेट कार्बन हाइड्रोजन र अक्सिजन मिलेर बनेको पदार्थ हो । यो पोषक तत्वले शरीरमा ऊर्जा प्रदान गर्छ । शरीरको कुल उर्जाको ८० प्रतिशत भाग यसैबाट प्राप्त हुन्छ । त्यसैले कार्बोहाइड्रेट हाम्रो शरीरका लागि अत्यावश्यक छ । सामान्यता एउटा स्वस्थ मानिसको डाइट प्लान गर्दा ५० देखि ६० प्रतिशत कार्बोहाइड्रेट समावेश गरिन्छ ।

चामल, आलु, मकै, केरा आदि यसका स्रोत हुन् । जब हामी यी खानेकुरा खान्छौं, शरीरमा पुगेपछि ग्लुकोजमा रुपान्तरण हुन्छ । ग्लुकोज बोसोको रुपमा संग्रहित हुन्छ । यही बोसो नै ऊर्जाको स्रोत हो । जब हामी शारीरिक वा मानसिक गतिविधि गर्छौं, बोसो उर्जामा रुपान्तरण हुन्छ । यदि हाम्रो शारीरिक गतिविधि भएन भने यो बोसो जमेर बस्छ । कालान्तरमा यही नै मोटोपनको समस्या बन्छ ।

त्यसैले कुनै पनि मानिसको शारीरिक अवस्था र उसले गर्ने कामको आधारमा उनको लागि कति कार्बोहाइड्रेट जरुरी हुन्छ भन्ने निर्धारण गर्न सकिन्छ । त्यसैले मोटोपन भएका व्यक्तिहरुले कार्बोहाइड्रेटको सेवन गर्दै नगर्ने होइन, यसको सेवन पश्चात् निस्क्रिय भएर बस्दा चाहिँ मोटोपन बढ्ने हो । यसकारण कसरत र शारीरिक सक्रियता कायम राख्न आवश्यक हुन्छ ।

कार्बोहाइड्रेट ठ्याक्कै खान छोड्दा के हुन्छ ?
कुनै एक व्यक्तिको लागि ५ प्रतिशत कार्बोहाइड्रेट आवश्यक हुन्छ । तर तपाईंले दुई प्रतिशत मात्र कार्बोहाइड्रेट सेवन गर्नुभयो भने त्यो शरीरको लागि कम हुन सक्छ । शरीरमा विभिन्न समस्याहरू देखिन सक्छ । आहारमा कार्बोहाइड्रेट समावेश नगर्दा डिमेन्सिया, एन्जाइटी, कमजोरी र डिप्रेसन जस्ता समस्या देखिन सक्छ ।

मानव शरीरमा कति कार्बोहाइड्रेट आवश्यक हुन्छ ?
शरीरको लागि सामान्यतया ५० देखि ६० प्रतिशत कार्बोहाइड्रेट आवश्यक हुन्छ । तर शरीरको आवश्यकता अनुसार विभिन्न व्यक्तिमा कार्बोहाइड्रेटको मात्रा फरक पर्न सक्छ । शारीरिक रूपमा गरिने काम जस्तैः भारी बोक्ने व्यक्तिलाई ६० प्रतिशत कार्बोहाइड्रेट आवश्यक पर्छ भने शारीरिक काम नगर्ने अर्थात् दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिलाई ४० प्रतिशत कार्बोहाइड्रेटले नै पुग्छ ।

के चामल, आलु खान छाड्दा मोटोपन वास्तवमै घट्छ ?
हरेक कुराका फाइदा र बेफाइदाहरु हुन्छन् । यस्तै, कार्बोहाइड्रेटकोे पनि फाइदाका साथै केही बेफाइदा पनि छन् । त्यसैले शारीरिक आवश्यकता अनुसार कार्बोहाइड्रेट लिनु जरुरी हुन्छ । कतिपयले मोटाइन्छ भनेर चामल, आलु जस्ता कार्बोहाइड्रेटयुक्त खानेकुरा छोड्ने गर्छन् ।

कसैले चामल खान छाडेर जौ खान्छन् । तर जौमा पनि कार्बोहाइड्रेट हुन्छ ।

यसकारण खान छोड्ने भन्दा पनि मात्रा मिलाएर सेवन गर्नु उत्तम हुन्छ । चामल र आलु खान छोड्दैमा मोटोपना घट्छ भन्ने होइन । कतिपय अवस्थामा मधुमेहको बिरामीले आलु खान छोडेका हुन्छन् । तर दूधजन्य पदार्थ प्रशस्त मात्रामा खाइरहेका हुन्छन् । त्यसैले चामल तथा आलु खान छोड्दैमा मोटोपना कम हुँदैन । कार्बोहाइड्रेटयुक्त खानेकुरा छोड्दा बरु कमजोरी, एन्जाइटी, डिप्रेसन, मुड स्विङ जस्ता असर देखिन्छ ।

कुन–कुन खानेकुराबाट कार्बोहाइड्रेट प्राप्त गर्न सकिन्छ ?
कार्बोहाइड्रेट विशेषगरी दूध, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, जौ, गहुँ, मकै, कोदो, चिनी, आलु, चामल, उखु, चुकन्दर, खजुर र केरा जस्ता अन्न तथा फलफूलमा पाइन्छ । चिनी र गुडमा पनि कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ ।

कार्बोहाइड्रेटले उच्च रक्तचाप र मधुमेहलाई बढवा दिन्छ भन्ने आम बुझाइ छ, के यो सत्य हो ?
दैनिक कार्बोहाइड्रेट कति सेवन गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । तपाईंको शरीरलाई ४० प्रतिशत मात्र कार्बोहाइड्रेट आवश्यक छ । यदि तपाईंले ६० देखि ७० प्रतिशत सेवन गर्नुभयो भने त्यो कार्बोहाइड्रेट ग्लुकोजमा परिवर्तन हुन्छ । सुगर लेबल बढ्छ । यसो हुँदा मधुमेह, उच्च रक्तचाप र मोटोपना जस्ता समस्या देखा पर्न सक्छ । तर सोझै कार्बोहाइड्रेटको सेवनले मोटोपन बढ्ने भन्ने चाहिँ हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?