मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली क्रिकेट

विश्वकपमा नेपाली क्रिकेट: दश वर्षमा के पायो, कहाँ चुक्यो?

काठमाडौँ– नेपालले समूहको पुछारमा रहँदै यसपालिको विश्वकप टी २० प्रतियोगिताको अन्त्य गरेको छ । १० वर्षपछि विश्वकप खेल्न अमेरिकी महादेश पुगेको नेपाल विश्वकपमा भाग त लियो । तर, एउटा खेलमा पनि जीत हासिल गर्न सकेन ।

पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग ६ विकेटको हार व्यहोरेको थियो भने श्रीलंकाविरुद्ध नेपालको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । उक्त खेल रद्द भएसँगै नेपालले श्रीलंकासँग एक/एक अङ्क बाँड्यो ।

यस्तोमा प्रतियोगिताको अर्को चरणमा पुग्न नेपालले तेस्रो खेलमा दक्षिण अफ्रिकालाई हराउनैपर्ने बाध्यता थियो । संसारभर छरिएर रहेका नेपाली क्रिकेटका फ्यानहरू पनि यो खेल नेपालले जित्नेमा आशावादी थिए ।

तर, शुरुबाट नै उत्कृष्ट प्रदर्शन गरेको नेपाल दुर्भाग्यवश अन्तिममा एक रनले पराजित भएको थियो । निकै रोचक र अन्तिम बलसम्म पनि जीतको सम्भावना भएकाले फ्यानहरूले स्वभाविक रुपमा जीतको अपेक्षा गरेका थिए । अझ खेलको अन्तिमसम्म पनि नेपालले ९९ प्रतिशत नेपालले जित्ने प्रक्षेपण गरिएका थिए ।

तर, खेलको निर्णायक अन्तिम बलमा नेपालले नमज्जाले विकेट गुमाएपछि सुपर ओभरमा जाने मौकासमेत नेपालले गुमायो ।

त्यस्तै सोमवारको अन्तिम खेलमा पनि नेपाली खेलाडीले ब्याटिङमा सुधार ल्याउन सकेनन् । बलिङ राम्रो गरेपनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा नेपाललाई बङ्गलादेशले २१ रनले सजिलै पराजित गर्‍यो ।

बङ्गलादेशले दिएको १ सय ७ रनको ‘झिनो लक्ष्य’ पछ्याएको नेपाल ८५ रनमै अलआउट भयो । उत्कृष्ट बलिङ गरेको नेपालको ब्याटिङ भने यो आशा गरिएअनुरुपको भएन ।

ब्याटरहरु क्रिजमा टिक्न नसक्दा र ठूलो सट खेल्न खोज्दा लगातार विकेटको पतन हुन पुग्यो ।

यो नतिजासँगै नेपालले समूह डीको पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गर्‍यो । दक्षिण अफ्रिकासँग १ रनको पराजय, बंगलादेशलाई १ सय ६ रनमै रोक्न सक्नु नेपाली टोलीको यस प्रतियोगिताका केही उपलब्धि हुन् ।

लेगस्पिनर सन्दीप लामिछानेले यस प्रतियोगिताबाट आफ्नो टी २० अन्तर्राष्ट्रिय करिअरमा १ सयऔँ विकेट लिन सफल भए । त्यसबाहेक नेपालले यो प्रतियोगितामा खासै ठूलो उपलब्धि भने हासिल गर्न सकेन ।

धेरैले यो प्रतियोगितालाई नेपालले सन् २०१४ मा खेलेको पहिलो विश्वकपसँग तुलना गरेका छन् । सन् २०१४ मा बंगलादेशमा आयोजित टी २० विश्वकप प्रतियोगिता र अहिले अमेरिका तथा वेस्ट इण्डिजमा जारी प्रतियोगितामा धेरै अन्तर छ ।

सन् २०१४ को प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहेको थियो भने यो प्रतियोगितामा २० टिम सहभागी छन् । सन् २०१४ को प्रतियोगितामा नेपाल हङकङ, बंगलादेश र अफगानिस्तानसँगै समूह ‘ए’मा परेको थियो । समूह ‘बी’मा भने नेदरल्याण्ड्स, आयरल्याण्ड, जिम्बाब्वे र संयुक्त अरब इमिरेट्स थिए ।

त्यस प्रतियोगितामा प्रारम्भिक समूहको शीर्ष स्थानमा रहने टोली सुपर १० मा पुग्ने प्रावधान थियो । सन् २०१४ को प्रतियोगितामा ८ वटा टेस्ट राष्ट्रलाई सीधै सुपर १० मा राखिएको थियो ।

यसपालिको प्रतियोगितामा भने समूहको शीर्ष २ टोली सुपर ८ मा जाने प्रावधान छ । कुनै पनि राष्ट्रलाई सीधै सुपर ८ मा जाने प्रावधानको व्यवस्था गरिएको छैन । यसपालि नेपाल परेको समूह ‘डी’बाट दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ मा पुगेका छन् ।

सन् २०१४ को प्रतियोगितामा नेपालले ३ वटा म्याच खेलेको थियो । तीमध्ये नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो भने बंगलादेशसँग पराजित भएको थियो । यस प्रतियोगितामा भने नेपालले ४ वटा म्याच खेल्यो, जसमध्ये तीनमा हार व्यहोर्दा एक खेल वर्षाका कारण रद्द भयो ।

सन् २०१४ को विश्वकपमा नेपालको सबैभन्दा ठूलो स्कोर हङकङविरुद्ध बनाएको थियो । हङकङविरुद्ध नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन जोडेको थियो । यो प्रतियोगितामा नेपालको सबैभन्दा उच्च स्कोर दक्षिण अफ्रिकाविरुद्ध बन्यो । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले केबल ११४ रनमात्र बनाउन सक्यो ।

सन् २०१४ को प्रतियोगितामा नेपालको सबैभन्दा सानो स्कोर बंगलादेशविरुद्ध बनेको थियो । नेपालले त्यस खेलमा बंगलादेशविरुद्ध १२६ रन जोडेको थियो । यो प्रतियोगितामा पनि नेपालको सबैभन्दा कम स्कोर बंगलादेशविरुद्ध नै बन्यो । बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले केबल ८५ रन मात्र बनाउन सक्यो ।

सन् २०१४ को प्रतियोगिता खेलेका एक जना खेलाडी, सोमपाल कामी, मात्र यसपटक पनि राष्ट्रिय टोलीमा समेटिएका थिए । यसपालिको विश्वकप खेल्ने नेपाली टोलीमा सोमपाल कामीसहित कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सन्दीप जोरा, अनिलकुमार साह, आशिफ शेख, गुल्शन झा र कुशल मल्ल पनि अटाएका थिए ।

त्यसैगरी, कमलसिंह ऐरी, अविनाश बोहोरा, करण केसी, सन्दीप लामिछाने, सागर ढकाल र ललित राजवंशी पनि विश्वकप खेल्ने नेपाली टोलीमा समेटिएका थिए ।

सन् २०१४ को विश्वकपको कुरा गर्दा त्यसताका नेपालमा भर्खर भर्खर क्रिकेटको क्रेज भित्रिएको थियो । विश्वकप २०१४ अघि नेपालका थोरै मात्र खेलहरुको प्रत्यक्ष प्रसारण हुने गरेको थियो ।

त्यसबेला कप्तान पारस खड्काले भनेका थिए, ‘हामीलाई समर्थकले इन्टरनेट, सामाजिक सञ्जाल र बल-बाई-बल कमेन्ट्रीमार्फत फलो गरिरहेका हुन्छन्, यसपालि दर्शकहरुलाई प्रत्यक्ष रुपमा केटाहरुको खेल हेर्ने मौका हुनेछ । यसपालि विश्वभरका दर्शकले हाम्रो खेल हेर्नेछन् ।’

त्यसबेला खेलाडीको हौसला बढाउन हजारौँको सङ्ख्यामा नेपालीहरु विश्वकप हेर्न बङ्गलादेश पुगेका थिए भने बङ्गलादेशमै रहेका नेपालीहरु पनि नेपाललाई समर्थन गर्न मैदान पुगेका थिए । यही विश्वकपले नेपाली क्रिकेटलाई विश्वमाझ चिनाएको थियो ।

टिममा शक्ति गौचन, वसन्त रेग्मी, पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसवाकरजस्ता पुराना खेलाडी भएपनि उनीहरुसँग ठूला टिमसँग खेलेको अनुभव थिएन । त्यसअघि कुनै ठूलो टिमलाई प्रशिक्षण गरेको अनुभव नभएका पुबुदु दासानायके नेपालको प्रशिक्षक थिए । उनको प्रशिक्षणमा त्यसबेला एकपछि अर्को सफलता हासिल गर्दै आएको थियो ।

त्यतिबेला नेपाल क्रिकेट सङ्घ क्यानभित्र चरम राजनीति थियो भने अर्कोतिर गतिलो घरेलु संरचना पनि थिएन । खेलाडीहरुको राम्रो आम्दानीको स्रोत त थिएन नै, क्रिकेट खेल्ने गतिलो मैदानको पनि अभाव थियो, साँच्चै भन्दा गतिलो मैदान त अहिले पनि छैन । तैपनि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरीय बनेको छ भने मूलपानी मैदान पनि सञ्चालनमा आएको छ ।

सीमित स्रोत र साधनका बावजुद खेलाडीहरु केबल देशका लागि खेलिरहेका थिए । त्यसबेला कप्तान खड्काले भनेका थिए, ‘हामी हाम्रो देश र समर्थकका लागि खेलिरहेका छौँ । हाम्रो लागि सबैभन्दा ठूलो प्रेरणा हाम्रा दर्शक नै हुन् ।’

‘हामीले पहिलोपटक यो प्रतियोगितामा सहभागी भएर दुई खेल जितेका छौँ, यो आफैँमा ठूलो उपलब्धि हो । अब हाम्रो वास्तविक यात्रा शुरु हुनेछ ।’ खड्काले भनेका थिए, ‘हामीले भविष्यमा राम्रो नतिजा ल्याउनु पर्छ ।’

पारस खड्काले अब हाम्रो वास्तविक यात्रा शुरु हुनेछ भनेको १० वर्ष भएको छ । १० वर्षपछि नेपालले अर्को विश्वकप पनि खेल्न पाएको हो । संयोगवश पूर्वकप्तान पारस अहिले क्यानको सचिव पदमा छन् । यसपटक पनि नेपालले विश्वकपमा पहिलेको तुलनामा तारिफयोग्य खेल देखाउन भने सकेन ।

प्रशिक्षकका रुपमा मोन्टी देसाईले नेपाली क्रिकेटको ‘लिड’ गरेपछि खेलाडीको आत्मबल र खेलमा केही सुधार भएपनि त्यो केबल घरेलु मैदानमा मात्र सुधार भएको देखिन्छ । अन्तर्राष्ट्रिय स्तरका खेलमा नेपालले अझैपनि अथक मेहनत गर्नुपर्ने क्रिकेट विश्लेषकहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?