मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

गर्भावस्थामा शारीरिक सम्बन्ध राख्नु उचित हो कि होइन?

महिलाका लागि गर्भावस्था निकै संवेदनशील समय हो । यस्तो समयमा गर्न हुने गर्न नहुने कामहरुमा गर्भवती निकै सचेत र जानकार रहनुपर्छ । यदि महिलाले गर्भावस्थामा जटिल कामहरु गर्ने, मनलाग्दी खानेकुराहरू खाने गर्न गरेको अवस्थामा शिशुको शारीरिक र मानसिक स्वास्थ्यमा असर पर्ने सम्भावना हुन्छ ।

पहिलो पटक आमा बन्न लागेका गर्भवतीहरुको हकमा त गर्भावस्थाको समयमा के गर्ने र के नगर्ने भन्नेमा झन् धेरै कौतुहलता हुन्छ । के–के खानेकुरा खान हुन्छ, के–के हुँदैन ? कस्ता गतिविधि गर्न हुन्छ कस्ता हुँदैन, कतै यात्रा गर्नुहुन्छ कि हुँदैन? शारीरिक कसरतको काम गर्नुहुन्छ कि हुँदैन लगायतका विषयमा धेरैको चासो हुन्छ ।

अर्को मुख्य दुविधा भनेको गर्भवती भएपश्चात् र सुत्केरी भएलगत्तै शारीरिक सम्बन्ध राख्न हुन्छ कि हुँदैन भन्ने कौतुहलताले पनि गर्भवतीलाई पिरोलिरहेको हुन्छ । यिनै विषय वरिपरि रहेर प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मीना प्रधानसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश: 

गर्भधारण गरेपश्चात् शारीरिक सम्बन्ध बनाउन हुन्छ या हुँदैन ? 

यस्ता कुराहरु दम्पत्तिको बुझाइ र गर्भमा रहेको बच्चाको अवस्थामा भर पर्छ । ठ्याक्कै यति समयमा सम्बन्ध बनाउन हुने नहुने भनेर समय तोक्न मिल्दैन । गर्भमा रहेको बच्चाको साल, नाल तल छ भने शारीरिक सम्बन्ध राख्नु हुँदैन । यदि गर्भमा रहेको बच्चाको अवस्था ठीक भएको अवस्थामा भने गर्भ रहेको शुरुको तीन महिना र अन्तिम नवौं महिना बाहेक बीचका अन्य महिनाहरुमा सम्बन्ध बनाउन मिल्छ ।

गर्भको बच्चालाई असर पर्ने सम्भावना कतिको रहन्छ ?

गर्भवती महिलालाई कुनै पनि समस्या छैन भने गर्भावस्थामा शारीरिक सम्बन्ध बनाउँदा गर्भको बच्चामा पनि कुनै असर हुँदैन । गर्भावस्थाको बेलामा अल्ट्रासाउन्ड गराउँदा बच्चा तथा आमाको स्वास्थ्यमा कुनै समस्या छैन भने सम्बन्ध राख्दा बच्चामा कुनै असर गर्दैन ।

यस्तै सुत्केरी भएपश्चात् पनि कति समयपछि शारीरिक सम्बन्ध राख्नु उचित हुन्छ ?

सुत्केरी अवस्था भनेको संवेदनशील अवस्था हो । यस्तो अवस्थामा स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ । सामान्य नर्मल अवस्थामा सुत्करी भएपश्चात् लगभग दुई हप्तासम्मको अवधि गर्भवतीलाई तङ्ग्रिनका लागि पर्याप्त हुन्छ ।

सामान्यतया दुईदेखि तीन हप्तासम्मको अवधिपश्चात् भने शारीरिक सम्बन्ध बनाउन मिल्छ । अर्को कुरा भनेको डेलिभरीको बेलामा पाठेघर ठूलो भएको हुन्छ । पाठेघरलाई आफ्नो अवस्थामा फर्किन र घाउ निको हुन समय लाग्ने तथा संक्रमण हुने सम्भावना धेरै हुन्छ । यसकारण सजग भने रहनुपर्छ । सुत्केरी भएपछि महिलाको पाठेघर ठूलो हुने, रगत बग्ने, प्रजनन अङ्गमा घाउ हुने भएकाले त्यसमा संक्रमण हुने सम्भावना हुन्छ । त्यसैले सुत्केरी भए लगत्तै शारीरिक सम्बन्ध बनाउनु हुँदैन । लगत्तै सम्बन्ध बनाउँदा घाउ ठूलो हुने पाठेघरमा संक्रमण हुने जस्ता समस्या देखा पर्न सक्छन् ।

यस्तो समयमा यौन सम्बन्ध कायम राख्दा प्रजनन स्वास्थ्यमा केही असर पर्दैन ? साथमा केही सावधानी अपनाउनुपर्छ कि पर्दैन ?

गर्भावस्थामा शारीरिक सम्बन्ध बनाउँदा प्रजनन स्वास्थ्यमा कुनै पनि असर गर्दैन । यो बेला यौन सम्बन्ध राख्दा परिवार नियोजनको केही साधन पनि प्रयोग गर्नु पर्दैन । अनिश्चित गर्भ रहन्छ कि भन्ने चिन्ता पनि हुँदैन ।

गर्भवतीलाई के सुझाव दिन चाहनुहुन्छ ?

यस्तो अवस्थामा सफा रहने र सधैँ नुहाउने, पौष्टिक खाना खाने, हलुका, खुकुलो र आरामदायी कपडा लगाउने, ठूलो हिल भएको जुत्ताचप्पल नलगाउने, तनावयुक्त काम नगर्ने, आराम गर्ने, चिल्लो, पिरो, अमिलो खानेकुराहरु नखाने, धेरै मात्रामा पानी पिउने, हरियो सागसब्जी प्रशस्त खाने, जाँड, रक्सी तथा चुरोट नखाने र सम्भव भएसम्म लामो यात्रा नगर्ने, चिकित्सकको सल्लाह बिना जथाभावी औषधीहरुको सेवन गर्नु हुँदैन । यस्ता कुराहरु फलो गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?