अङ्ग्रेजी ‘जुन’ महिनालाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले प्राइड मन्थ अर्थात् गर्व र पहिचानको महिनाका रुपमा मनाउँदै आएका छन् ।
सन् १९६९ को जुन २८ मा अमेरिकाको न्यूयोर्क राज्यस्थित स्टोनवाल बारमा प्रहरीले छापा मार्दा समलिङ्गी पुरुषहरू र प्रहरीबीच नै झडप हुँदा उनीहरुबिच नै ठूलो दङ्गा भयो । त्यही घटनालाई लिएर एकसाता प्रदर्शन भयो ।
त्यसमा अधिकारकर्मीहरु मिसिएपछि समलिङ्गीहरुको समानताको माग गर्दै खुल्ला रुपमा जुलुस तथा प्रदर्शन नै भयो । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हकका लागि अभियानहरु औपचारिक रुपमा शुरु भएकाले जुन महिनालाई प्राइड मन्थका रुपमा मनाउन थालिएको छ ।
नेपालमा पनि यो महिनालाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मानिसहरुले प्राइड मन्थका रुपमा मनाउँदै आएको पाइन्छ । खासमा नेपालका यसको औचित्व के छ?, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पछिल्लो गतिविधि, प्रवृत्ति कस्तो छ ?, यहाँभित्र देखिएको चुनौती र अहिले अगाडि बढेका कदमहरु केके छन् ?’ भन्ने जस्ता सेरोफेरोमा रहेर नील हिरा समाजका संस्थापक अध्यक्ष, अभियन्ता, यसै समुदायका पहिलो संविधान सभा सदस्य तथा मायाको पहिचान नेपालका निर्देशक सुनिलबाबु पन्तसँग जोय नेपालकर्मी सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका निम्ति प्राइड मन्थ किन विशेष छ ?
यसमा मेरो धारणा चाहिँ अलिकति फरक छ । १९६९ मा जुन २८ मा न्युवर्कमा स्टोनवाल बारमा भएको घटनासँग यो जोडिएको छ । त्यहाँको बारमा जम्मा भएका मानिसहरुमाथि हरेक दिन पुलिसहरु आएर लुट्ने, कुट्ने र दुःख दिने गर्थे ।
त्यसपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मानिस र पुलिसबिच पाँचदिनसम्म भिडन्त भयो । पछि अमेरिकाभरी समुदायको हकका लागि जुलुस भयो । तबमात्र समुदायका बारेका बोल्ने र आवाजहरु बुलन्द भएर आयो ।
त्यो हिसाबमा जुन महिना ऐतिहासिक रुपमा महत्वपूर्ण पनि हो । त्यसको असर अमेरिका र युरोपमा पर्याे तर बाँकी विश्वमा त्यो घटना भएको थियो रे भनेर पछि मात्र थाहा भयो । अहिले युरोप, अमेरिकाले मनाएपछि उनीहरुकै सिको गरेर जुन महिनामा मनाउने गरिएको पाइन्छ ।
जुन महिनाभरी युरोप र अमेरिकामा असाध्यै राम्रो मौसम हुन्छ । घाम लाग्ने, लामो दिन फूलैफूल फूलेका हुन्छन् । त्यसैले उनीहरुले विभिन्न झाँकी देखाउने, कार्यक्रमहरु गर्ने गर्छन् । तर यहाँ हामीले त्यही खालले कपि गरेर र त्यही बेलामा नै गर्नुपर्छ भन्ने छैन ।
अस्ट्रेलियामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका पर्व भनेर फेब्रुअरी महिनामा मनाउँछन् । साउथ अफ्रिका, ब्राजिल, न्युजिल्याण्ड देशहरुमा उनीहरुले मौसम अनुसार मनाउँछन् । तर नेपाल जस्तो देशमा चाहिँ देखासिकी छ ।
भारतको पनि केही स्थानहरुमा अहिले मनाएका छन्, दिल्लीमा चाहिँ नोभेम्वरमा मनाउँछन् । यसलाई अन्तर्राष्ट्रिय सिको गरेर अहिले नै मनाउनुपर्छ भन्ने मलाई लाग्दैन ।
अहिलेसम्मको अभ्यास हेर्दा यसको प्रभाव कस्तो देखिएको छ ?
हाम्रोमा यही महिनामा मनाऔं भनेर अहिलेसम्म तय भएको छैन । अन्तर्राष्ट्रिय दातृ निकाय, उनीहरुकै फण्डिङ दिने त्यतैको भएपछि सबै संघ–संस्थाहरुले पैसा बाँडेर जुन महिना भरी गरिरहेका हुन्छन् । नेपालगञ्ज, धनगढी जस्ता ठाउँहरुमा अत्यधिक गर्मीको यो मौसममा अलि गाह्रै हुन्छ ।
हाम्रै मौलिक, लोकल चाडपर्व, संस्कृति, परम्परा मिसाएर नेपालमा पनि हाम्रै समुदायका लागि ऐतिहासिक दिनहरु छन्, त्यही अवसरलाई लिएर गर्न सकिन्छ । जस्तो डिसेम्बर २१ पुस ६ गते सर्वोच्चले पहिलोचोटी प्राकृतिक रुपमै महिला र पुरुष भन्दा अलग पहिचान छ भनेर आदेश दिएको दिन हो । त्यस्ता खालका धेरै दिनहरु छन् ।
अहिले हामीले गाइजात्रा पनि मनाउँदै आएका छौं । मायाको पहिचान लगायत थुप्रै संस्थाहरु मिलेर असार १५ गते रोपाइँ जात्रा मनाउँदै छौं । रोपाइँ जात्रामा पहिलादेखि नै पुरुषहरु महिला भनेर रोपाइँ गरिरहेकै हो ।
जुन महिनामा जतिले कार्यक्रहरु गरिहनुभएको छ, देखासिकी भन्दा बुझेर गर्नुभएको भए हुन्थ्यो । गर्व भनेपछि यहीकै मौलिकता र मौसमलाई मिलाएर वा यही समुदायका मुद्दालाई लिएर गरेको भए अझै राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ । अहिले मनाइरहेको पनि नराम्रो त हैन तर यहाँको मौलिकता, सिर्जनशीलता खोइ त भन्ने चाहिँ हो ।
नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संस्थागत रुपमा आएको नै दुई दशकभन्दा लामो समय भइसकेको छ । यो अवधिमा नेपालमा पनि हाम्रै मोलिकतालाई झल्काउने एउटा महिना तय गरेर मनाउँ न त भन्ने कुरामा पहल भएको छैन र ?
यसपालिदेखि अक्टोबर महिनामा दशैंको कोजाग्रत पूर्णिमादेखि दिपावलीसम्म मिलाएर दशैं र तिहारको बीचमा मनाउने भएका छौं । त्यतिबेला हामीले यहीको सिर्जनाहरुलाई जोडेर स्थानीयकरणलाई जोड दिनेछौं । परम्परागतदेखि चलिआएको धामीझाँक्री, लाखे, मारुनी नाचमा लामो जामा लगाएर नाच्ने गरिन्थ्यो, त्यसलाई पनि हामी समेट्नेछौं । यो त पहिलादेखि नै चलिआएकै हो ।
केही खेलकुदजस्ता कार्यक्रमहरु गर्नेछौं । यो मौसम ठिकै पनि होला भन्ने मलाई लाग्छ । यद्यपि जुन २८ लाई भने हामीले ऐतिहासिक रुपमा स्मरण गर्नलाई मनाउँदा हुन्छ । तर जुनैभरी अरुले जेजे गर्यो त्यही गर्नु चाहिँ बुद्धिमता देखिँदैन । अक्टोबर जस्तै मार्चमा पनि सिजन राम्रो हुन्छ । यसरी गरियो भने हामी यही भएकाहरुलाई फाइदा हुन्छ ।
नेपालमा कानुनी रुपमा पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान स्थापित भइसकेको छ । यद्यपि समुदायको पर्व होस् गतिविधिमा प्राय मौलिकता भन्दा पनि बाह्य मुलुककै सिको देखिन्छ । यस्तो देखिनुमा बाध्यता या रहर हो ?
यो बाध्यता हो या रहर ठ्याक्कै के हो म जान्दिन । म संस्थागत रुपमा हुँदा जुन २८ मा एकदिन मनाएपनि महिनाभरी मनाउने गरिएको थिएन । अहिले हाम्रो समुदाय मात्र होइन, सबैको देखासिकी नै हो । अङ्ग्रेजी बोलाई, भाषा त भइहाल्यो, अरु जेजे गरिन्छ, त्यही कुरा हाम्रोमा पनि देखिएको चाहिँ हो ।
आफ्नै देशमा पहिचानमूलक भएर बाँच्न यो समुदाय परिमार्जित हुन जरुरी छ कि छैन ?
परिमार्जित हुनैपर्छ भनेरै त भन्न सक्दिन । तर हामीले मौलिकतालाई जोड दिएको राम्रो हो । हाम्रो इतिहास, संस्कृति छ । यही समुदाय नै अगाडि नआएको समयमा पुरुषहरुले मारुनी नाचेकै थिए, गाईजात्रा मनाइरहेकै थिए। यसमा केटाहरु केटीकै रुपमा आउने हाम्रो कल्चरमै छ । यो कुनै आन्दोलन गरेर आएको होइन । अरु पनि हाम्रै थुप्रै कल्चरल कुराहरु छन् ।
यही गर्दा पनि हुन्छ, अरुको कपी गरिरहनु नै पर्दैन । यही समाजलाई लिएर अगाडि बढ्यौं भने बलियो र स्थायित्व पनि हुन्छ । अमेरिकामा भएका कुरा हामीसँग सान्दर्भिकता नमिल्न पनि सक्छ । भूगोल, राजनीति, कल्चर, स्तरका हिसाबले पनि अमेरिकाभन्दा हाम्राे सबै कुरा फरक छन् ।
सबै उतैको जस्तो नहुन पनि सक्छ । अचेल शब्दहरु पनि उतै(अमेरिका)तिरैको लिन थालिएको छ । उतैको मात्र सबै लिने हो भने यताको समस्याको सम्बोधन कसरी गर्ने ? यसले गर्दा पनि आम मान्छेलाई हाम्रो समुदायलाई बुझ्नमा कन्फ्युजन आएको छ ।
‘प्राइड मन्थ’ भनेर गर्वका रुपमा अक्टोरबर महिनामा मनाउन गइरहेको पर्वमा सबैलाई समेट्न सकिएला कि नसकिएला ?
हाम्रो प्रयास सबैलाई समेटौं भन्ने हो । तर ज–जसले जुनमा मनाउनुहुन्छ, त्यो पनि ठीकै छ । नेपालकै पर्व हो भनेर हामीले मनाउन गइरहेका छौं । सबैलाई जबरजस्ती मनाउनैपर्छ भन्ने कुरा पनि भएन । कसैले अलग्गै गर्नुहुन्छ भने पनि त्यसमा स्वेच्छा त भइ नै हाल्छ ।
‘प्राइड मन्थ’ जुनसुकै महिना र समयमा मनाएपनि यसलाई आफ्नो पहिचानका रुपमा गर्वका रुपमा मनाउन सक्ने यसै समुदायभित्रहरु पनि अझै हुनुहुन्न । कतिपय खुलेर आउनुभएको छैन । यसर्थमा सबै खुलेरै गर्व गरेर पहिचानको उत्सव मनाउने दिन कहिले सम्भव होला ?
यो कुरामा परिवारदेखिको कुरा जोडिन्छ । हरेक परिवारभित्र छोरा र छोरीभन्दा फरक पहिचान लिएर जन्मिएका आफ्नो सन्तानलाई स्वीकारिन्छ कि स्वीकारिन्न भन्ने हुन्छ । केही राजनीतिक र कानुनी अधिकारका कुराहरु आइसकेका छन् । राज्यले दिएका केही कानूनहरुमा नागरिकता, पासपोर्ट, भोट हाल्ने मताधिकार जस्ता कुरा मात्र नभएर रोजगार, जीवकोपार्जनका अवसरहरु यो समुदायले पाउनुपर्याे। यसबाट मूलधारमा आएपछि विभेद आफैं हटेर जान्छ । हुन त हाम्रो समुदाय मात्र नभएर पितृसत्ताविरुद्ध महिलाहरुको लडाइँ पनि जारी नै छ । त्यसैगरी हाम्रो पनि लडाइँ जारी छ । यो लडाइँमा उत्रिएमा हामी सबै गर्वका साथ पहिचान बोकेर आउन सक्छौं ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा पितृसत्ता कतिको देख्नुहुन्छ ?
यहाँ पनि पितृसत्ता छ । समाजमा महिला र पुरुषबिचको पितृसत्तामा लडाइँ छ । यही समाजको हुर्काइ र भोगाइले गर्दा यो समुदायमा त्यही प्रभाव छ । यो समुदायमा अझ दुई थरिका महिलाहरु हुनुहुन्छ । एक थरी महिलाहरु सामुहिक रुपमै तीजको व्रत बस्नुहुन्छ । एकदमै घरेलु, परम्परात महिला भएमा पुरुषहरुले स्वीकार्छ भन्ने पनि उहाँहरुको सोचाइ होला । अर्कोथरी बजारले बनाएको महिलाहरु हुनुहुन्छ । यसमा फेसन, मोडलिङ गर्ने, हाइ हिल, छोटो लुगा लगाउनेहरु देखिन्छ । उहाँहरु समाजमा देखिएको महिला जस्तै देखिनुभयो । त्यस्तै लिङ्ग नै परिवर्तन गरेर ट्रान्स म्यान पुरुष बन्नेहरुको सोचाइमा समाजमा पुरुषै भएर प्रतिस्पर्धा गर्नुपर्छ, एकदमै पितृसत्तावादी, समाजले परिभाषित गरेको जस्तै देखाउन रक्सी, चुरोट खाने अनि बुढी कुट्नेहरु प्रवृत्ति कोहीकोहीमा पाइन्छ ।
यो पितृसत्ताकै धङधङी हो । यो चाहिँ हामी आफैंभित्रको कन्फ्युजन हो । समाजको महिला र पुरुषभन्दा मेरो पहिचान अलग हो भन्ने एकथरी हुनुहुन्छ भने अर्काथरी पितृसत्ताको जुन खालको संरचना थियो, हामी पनि त्यसरी नै जान्छौं भनेर जानुभएको छ । समाजमा अलग पहिचान छ भनेर मान्नुभएकाहरु ‘हामी जस्तो छौं, त्यसरी नै हक र अधिकारका लागि लड्छौं, हामी कपि गर्दैनौं’ भन्नेहरुको जमात बढ्दै छन् । यसमा हाम्रो आफ्नै पनि लडाइँ बाँकी छ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकाहरु परम्परागत संरचनामै जस्तै ठ्याक्कै महिला र पुरुषकै स्वरुपमा आउनुभएकाहरु पनि धेरै हुनुहुन्छ । यस्तो किन भइरहेको छ ?
मलाई लाग्छ, यसमा उहाँहरुकै बुझाइ कारण हो । महिलाको स्वभाव देखिएपछि महिला नै र पुरुषको स्वभावमा पुरुष नै बन्नुपर्छ भन्ने कुरामा एकदमै जोड दिनुभएको देखिन्छ । यसमा पश्चिमाहरुको जेन्डरलाई लिने तरिकाले पनि प्रभाव पारेको छ ।
अहिले बजारले प्रभावित आम महिलाहरुमा पनि शरीर र रुपरङ्गमा नै परिवर्तन आउने सर्जरीहरु गरेको देखिन्छ । यस समुदायमा पनि आमा, दिदीबहिनी जस्तै महिला नै बन्छु भन्नेहरु घरेलु महिला जस्तै बन्छु भन्ने चाहिँ छैन । यसलाई सही या गलत, यही नै भन्ने अवस्था छैन । यो त आफैंमा अपराध होइन, तर बन्ने आवश्यकता चाहिँ किन पर्यो भन्ने प्रश्न चाहिँ छ ।
यो समाजको दृष्टिकोणले गर्दा पनि हुन सक्छ । केहीमा बजारले जे खोजेको छ, त्यस्तै बन्नुपर्ने बाध्यता पनि देखिन्छ । शहरमा आउने अधिकांशमा परिवर्तन चाहिँ अरुका लागि छ । समाजले मलाई यो रुपले हेर्छ, म यही रुपमा भएँ भने समाजले रुचाउँछ वा बिकाउ हुन्छ भन्ने धारणा लिएको देखिन्छ । यो चाहिँ आफैंमा विडम्बना हो जस्तो मलाई लाग्छ । आफ्नो स्वास्थ्य र खुसी केमा हुन्छ भनेर गएदेखि राम्रो हुने हो । मेरो शरीर गलत हो भन्नुमा चाहिँ उहाँहरुको आफ्नै बुझाइ पनि हुन सक्छ । पूर्वीय दर्शन अनुसार म महिला पनि होइन, पुरुष पनि होइन, मेरो हुर्काइ सामान्य छ, मेरो शरीर पनि त्यस्तै छ भनेर सोचिदिएको भए समस्या हुने थिएन । तर उहाँहरुमा चाहिँ म महिला हुँ मेरो शरीर महिलाकै जस्तो भएन वा म पुरुष हुँ मेरो शरीर पुरुषकै जस्तो भएन भन्ने दृष्टिकोण छ ।
यस्तो अवस्थाले त शहर र ग्रामिण भेगमा रहने यही समुदायका मानिसहरुबिच त निकै फरक देखियो नि होइन ?
जो गाउँमा हुनुहुन्छ, उहाँहरुले आफूलाई स्वीकार्नु भएको छ । हिँजडाहरु भनेर चिनिनेहरुले आफूलाई नाच्ने गाउने पेशा नै बनाएर जानुभएको छ । शहरको समाजले सोचेको जस्तो समस्या उहाँहरुलाई कहिल्यै भएन । म चाहिँ जन्मेकै यस्तै हो, म मै हुँ भन्ने खालको पहिचानलाई उहाँहरुले बुझेर पेशा नै लिनुभएको छ । कि महिला कि पुरुष बन्नुपर्छ भन्ने बुझाइले त उहाँहरुलाई अप्ठ्यारो हुन सक्छ ।
यही समुदायका कतिपय व्यक्तिहरुले शहर पसेपछि आफू को हुँ भनेर पहिचान पाएको कुरा सुनाउनुहुन्छ । यसमा उहाँहरुको बुझाइ खासमा के हो ?
शहर पसेपछि उहाँहरुले आफूजस्तै थुप्रै अरु देख्नुहुन्छ । आफू जस्तै अरुको कुरा बुझ्ने र सुन्ने गर्नुहुन्छ । त्यसपछि यही नै आफ्नो र पहिचान भएको उहाँहरुको बुझाइ हुन्छ । यसमा समुदाय भनेको के हो भनेर विभिन्न संस्थाले ‘एल’ भनेको यो, ‘जि’ भनेको यो भनेर अङ्ग्रेजीमा पढाइदिएपछि यो पो खास रहेछ भन्ने उहाँहरुलाई परेको छ ।
भनेपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका बारेमा शहरले बुझाइदिएको भाष्यले त झन पो समस्या खडा गरिदियो त होइन ?
यसले समस्या नै ल्याएको छ । अहिले यहाँ वर्गीय समस्या देखिएको छ । यहीकै धनीमानी अङ्ग्रेजी बोल्नुहुन्छ । ट्रान्स म्यान, ट्रान्स वीमेन, क्वीयर भन्ने शब्द ग्रामिण भेगका वर्गले जान्नुहुन्न । यसले उहाँहरुलाई गाह्रो बनाउँछ । यस्तो अवस्थामा खासमा समुदाय के हो र खास पहिचानका कुरा हामीले गाउँ–गाउँमा पुर्याउन जरुरी छ ।
यही कुरालाई लिएर देशव्यापी रुपमा जान कति चुनौती छ ?
यसलाई कुनै एनजिओ संस्थाले लगेर सम्भव छैन । यसमा राज्य नै लाग्नुपर्छ । राज्यले यहीकै संस्कृति, भौगोलिक हिसाबले यहाँको दर्शनलाई मिलाएर पाठ्यक्रमकै हालेर अगाडि बढाउन सकिन्छ । अहिले पाठ्यक्रममा हालिएको देखिएपनि पढाउने शिक्षक छैन । शिक्षकहरुलाई चाहिने स्रोत सामग्री अभाव छ । तर प्रयास भइहरको छ । यसलाई डोनरहरुलाई दिइयो भने हाम्रो भन्दा पनि उहाँहरुको अनुसार नै गर्नुहन्छ । उहाँहरुले आफ्नै भाषा र कल्चरलाई प्रमोट गर्नुहुन्छ, त्यो खालको चुनौती चाहिँ छ ।
यसको जिम्मा नेपाल सरकारले लिनुपर्छ, ताकि भोलि गएर समस्या नआओस् भन्ने नै हो । सबैमा नआएपनि केहीकेहीमा समस्या आउन सक्छ । सात/आठ कक्षामा पढ्नेहरुले नै थाहा पाएपछि मेरो लिङ्ग नै परिवर्तन गर्नुपर्यो र मलाई हर्मोन चाहियो भनेर भन्ने केसहरु पनि आएका छन् । यसबारे नपढाउँदा बरु मान्छेहरु लुकेर बसेका थिए होलान् तर यसरी ११/१२ वर्षको बच्चाले तुरुन्तै चेन्ज नै हुनुपर्यो भन्ने समस्या थिएन ।
महिला र पुरुषभन्दा फरक भनेको पारलैङ्गिक भन्ने शब्दहरु जानेपछि गुगल गरेपछि महिला र पुरुष बन्ने कसरी खोजी गर्ने, मेरो शरीर नै गलत रहेछ भन्ने भाष्य दिन्छ । यसले पनि समस्या सिर्जना गरेको छ । यसमा गलत शरीर रहेछ भन्ने बित्तिकै मानसिक तनाव पनि आउँछ । समुदायभित्र फरक भएर बस्ने भन्ने र होइन जेन्डर परिवर्तन गरेर भएपनि महिला र पुरुष भएर बस्छु भन्नेहरुबीच पनि डिबेट नै छ । यौन अङ्ग परिवर्तन गर्दैमा महिला र पुरुष बन्छ र भन्ने कुरामा पनि आफैंमा चुनौती छ । यसमा आफैंले आफैंलाई स्वीकार गर्ने हो ।
पछिल्लो समयमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका युवाहरु खुलेरै आउनुभएको छ । आफ्नो क्षेत्रमा स्थापितहरु पनि हुनुहुन्छ । उहाँहरुको बुझाइ कस्तो देख्नुहुन्छ ?
हामी क्वीयर, ‘एलजिबिटी’ हौं भनेर युवाहरु आउनुभएको छ । सोसियल मिडिया र अन्तर्राष्ट्रिय हिसाबको उहाँहरुको भाषा मिल्यो । तर यहाँको लोकलसँगको हिसाबमा भने मिल्दैन । अङ्गेजी नबुझ्ने लोकल वर्गहरुसँग उहाँहरु मिल्नै सक्नुहुन्न ।
कतिपय समाजमा प्रेस्टिज भएकाहरु आउनु भएपनि आफ्नो समुदायका लागि उहाँहरुको योगदान छैन । धेरैलाई आफ्नो प्रेस्टिज नै जाला भन्ने पनि छ । खुलिदिए झन राम्रो हो तर उहाँहरुलाई पनि समाजको डर छ । सफल मान्छेहरु नखुलिदिने, खाली सडकमा उभिनेहरुलाई मिडियादेखि सबैले देख्दा समुदायप्रति हेर्ने धारणा नै गलत भएर गएको छ ।
खुलेर आउनुपर्ने मान्छे हो, तर सुरक्षा, फाइदा सबै हुने भएपछि मात्र देखिन आउँछन् । त्यस्तो चाहिँ अहिले थुप्रै देखियो । त्यत्रो वर्ष नदेखिएको मान्छेहरु सर्वाेच्चले मानेपछि कानूनमै दिएपछि खुलेर आउनेहरु छन् । त्यो खालको स्वार्थ बोकेको समूह पनि छ ।
अब अगाडि बढ्ने बाटाहरु केके छन् ?
यसमा चार/पाँच वटा राजनीतिक समावेशी मुद्दाहरु तथा कार्यक्रमहरु ल्याएका छौं । यसमा चाहिँ करिब तीन/चार सय जनालाई जो राजनीतिमा इच्छुक हुनुहुन्छ वा जो लागिसक्नुभएको छ, उहाँहरुलाई राजनीतिक साक्षरतादेखि तालिमहरु गर्ने, विश्वमा चलेका राजनीतिमा वादहरु जस्तैः साम्यवाद, समाजवाद, पूँजिवाद, राजतन्त्रात्मक व्यवस्था के छ, गणतन्त्रमा के छ, संसदवादी व्यवस्था के हो, राष्टपतिय शासन प्रणाली कस्तो हुन्छ लगायतका कुराहरूबारे बुझाउने भन्ने छ ।
साथै नेपालमा पनि राजनीतिक व्यवस्था, संसदीय प्रणाली र राजनीतिक दलहरुको नेताहरुको भिजन के छ भन्ने कुरामा भनेर नेतृत्व तहमा लैजाने योजना छ । साथै राजनीतिको सदस्यता नै लिइसकेपछि दोस्रो चरणमा निर्वाचन आयोग, यसको प्रक्रिया, संरचना, चुनावको अवधारणा, क्षमता, जिम्मेवारी बारे बुझाउँछौं । यही अनुसार उहाँहरुले आफ्नो रोडम्याप बनाउनुहुन्छ अहिले गाविसमा मात्र अनि दुई/तीन वर्षपछि प्रदेश वा केन्द्रमा उठ्छु वा कसैले म अहिले संघीय संसदमा आउँछु भन्ने अनुसार तयारी गरिदिने, टिकट पाउन सहयोग गरिदिने, टिकट पाएकाहरुलाई निर्वाचन क्याम्पियनहरु गरिदिने, जितिहालेमा जनताको सेवा कसरी गर्ने भन्नेबारे सिकाउने नै हो ।
डेढ महिना अगाडि हामीले केही २२ जना पूर्व सांसद र ४० जना जति साथीहरु बसेर दुई दिन वर्कशप गरेका थियौं । अब यसमा सरकार र दातृ निकायहरुको सहयोग भयो भने पाँच वर्षको कार्यक्रम राम्रोसँग हुने थियो । अर्को विभेदकारी कानुनहरु सबै संशोधन गर्ने भनेर महिला मन्त्रालय र कानून आयोगसँग हामीले काम अगाडि बढाएका छौं । आर्थिक वर्ष शुरु भएपछि महिला मन्त्रालयलाई बजेटसहित यो–यो गर्नु भनेर छलफर गरेर विभेदकारी कानून केके छन्, संशोधन कस्तो गर्नुपर्छ, कसरी गर्ने भनेर पनि काम गर्दैछौं । त्यो भयो भने दुई/तीन वर्षमा विभेदकारी कानून संशोधन गर्न सकिन्छ होला । सरकारी विधियक नै लैजाने कुरा भएको छ ।
नेपाल अधिराज्य भरी भएका न्यायधीशहरुलाई यो विषयमा संविधानमा के छ, यो कसरी मुद्दाहरु हेर्ने, न्याय दिने भन्ने विषयमा बुझाउने खालका कार्यक्रमहरु देशव्यापी रुपमा लैजाने भनेर कुरा भइरहेको छ । यसमा नयाँ आउने न्यायधीशहरुलाई पनि यो समुदायको बारेमा बुझाउने र पढाउने गरी स्रोत साधनहरु जुटाउने कुरा समेत भएको छ । साथै पर्यटन प्रवद्र्धन र आर्थिक क्षेत्रमा यो समुदायका साथीहरुले काम पाओस्, व्यवसाय गरोस् भनेर पर्यटन सम्मेलन गरिसकेका छौं । अब हरेक साल गर्छौं ।
अहिले एसियाली विकास बैंकले नेपाल सरकार खासगरी महिला मन्त्रालयसँग मिलेर आगामी तीन वर्षका लागि ४० करोड रुपैयाँ बजेट लिएर आउने कुरा छ । त्यसमा केही सीपमूलक तालिम छ भने धेरै बिना धितो ब्याज नलाग्ने खालको अथवा सिड मनी दिएर व्यवसाय गर्ने कार्यक्रमको माग गरिरहेका छन् । कोहीकोहीले हर्मोन क्लिनिक खोल्न पाउनुपर्छ भनेर पनि जानुभएको रहेछ । त्यो कार्यक्रम आयो भने तीन वर्षका साना खालका व्यवसाय ल्याउन सकेमा आर्थिक मूलधारमा ल्याउन सक्छौं भन्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया