काठमाडौँ– भित्तामा कुँदिएको आमा र बालकको मूर्ति । कसैलाई हेर्दै गरेका ती बालकलाई आमाले प्रेमपूर्वक हेरिरहेकी छिन् । उक्त कलामा आमा र छोराको प्रेमलाई नजिकबाट नियाल्न सकिन्छ ।
झट्ट हेर्दा यो कला दृश्य कैद गरी भित्तामा टपक्क टाँसिएको जस्तो देखिन्छ । तर, यो भित्तामा टाँसिएको नभई ढुङ्गामा कुँदिएको हो । यो दृश्य कालिगढले ढुङ्गामा कुँदेर बनाएका हुन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको यो मूर्ति केही समयअघि मात्रै बनाइएको हो । गाउँपालिकाको आन्तरिक स्रोतमा निर्मित यो मूर्तिमा करीब १० जना कालिगढले एक वर्ष पसिना बगाएका छन् ।
सो मूर्ति गाउँपालिकाको वडा नम्बर २ र ४ को सिमानामा पर्ने ऐना पहरामा बनाएको हो । आमा र छोरासँगै गाउँपालिकाले हात्ती र जलपरीको मूर्ति बनाइएको छ । कालिगढले सोही क्षेत्रमा भएको ढुङ्गालाई विभिन्न औजारले कोपेर मूर्ति बनाएको कालिगढ बताउँछन् ।
कालिगढ विजय गुरुङले सो क्षेत्रमा तीन वटा मूर्ति निर्माण गर्नका लागि १० जनालाई करीब एक वर्ष समय लागेको स्मरण गर्छन् । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकासँग सम्झौता गरी मूर्ति निर्माण कार्य शुरु गरेको एक वर्षमा सम्पन्न भएको हो ।
मूर्ति निर्माण गर्नको लागि ६ जनाले निरन्तर कार्य गर्नुका साथै बाँकी ४ जनाले आवश्यकता अनुसार अनुगमन र सहयोग गरेका थिए ।
गुरुङ भन्छन्, ‘हामी काम गर्ने १० जना जति थियौँ । त्यसमध्ये ६ जनाले निरन्तर काम गरेका थियौँ । स्पेशल हेर्ने पाँच जना थियौँ ।’
आफूहरुले एक वर्षको अवधिमा दैनिक ८ देखि १० घण्टासम्म काम गरेको उनले सुनाए । सो अवधिमा फाइबरबाट जलपरी निर्माण गर्नुका साथै ढुङ्गाबाट कुँदेर मूर्ति निर्माण गरेको उनको भनाइ छ ।
मूर्ति निर्माण गर्नको लागि गाउँपालिकाले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष प्रेमबहादुर गुरुङका अनुसार पर्यटकलाई आमा र बच्चाको माया देखाउन, जनावर हात्तीको मूर्ति र जनावर बनाइएको छ ।
इच्छाशक्तिले ढुङ्गामा मूर्ति
लामो समयदेखि ढुङ्गामा मूर्ति बनाउँदै आएका विजय गुरुङ इच्छा शक्तिबाट मात्रै ढुङ्गालाई कोपेर मूर्ति बनाउन सक्ने बताउँछन् ।
उनी भन्छन्, ‘ढुङ्गा कुँदेर मूर्ति बनाउने काम आफैँमा कठिन कुरा हो ।’
अझ सो क्षेत्रको ढुङ्गा एकदम साह्रो भएकाले आफूहरुलाई समस्या भएको उनले जोय नेपाललाई सुनाए । ‘यहाँको ढुंगा मूर्ति बन्ने अवस्थाको भन्दा पनि गाह्रो छ,’ उनले भने, ‘तर यसलाई जसरी पनि गर्ने भन्ने इच्छाशक्तिले साह्रो ढुङ्गामा पनि मूर्ति बनायौँ ।’
ढुङ्गा धेरै नै साह्रो भएकाले आफूहरुले बजारमा पाइने महङ्गो सामान प्रयोग गरी दुःख पूर्ण रुपमा मूर्ति निर्माण सफल भएकोमा उनले खुसी साटे । तर ढुङ्गा साह्रो भएकाले चोइटिने समस्या धेरै भएको उनको भनाइ छ ।
उनले भने, ‘ढुङ्गा काट्दै जाँदा पत्र निस्किने भएकाले अड्याउनका लागि कंक्रिट पनि प्रयोग गर्नुपर्ने भयो । फिनिसिङमा कंक्रिट नै प्रयोग भयो ।’
मूर्तिलाई नजिकबाट नियालेर हेर्दा कंक्रिट पनि देखिने उनले सुनाए । उनले थपे, ‘अन्तिममा कंक्रिट देखिए पनि संरचना त्यही भएको ढुङ्गाको नै हो ।’
रहरले कालिगढ
करिब ४० दशक टेकेका कालिगढ विजय गुरुङले आफ्नो २५ औँ बसन्त सोही पेशामा बिताए । सामान्य कृषि परिवारका उनी साथीहरुको लहलहै र रहरले कालिगढ बन्न पुगेको स्मरण गर्छन् ।
आँबूखैरेनीको वडा नम्बर ३ मा बस्ने उनी ऐनापहरामा दैनिक दुई किलोमिटर हिँडेर पुग्छन् । आफ्नो पुर्ख्यौली सोही स्थानमा भए पनि पेशा अन्य नै भएको उनको भनाइ छ ।
साथीहरुको सङ्गतले १५ वर्षदेखि सो पेशामा आवद्ध भएको उनी सुनाउँछन् ।
‘करिब १५ वर्षदेखिको उमेरदेखि मूर्तिको काम सिकेको हुँ । साथीहरुको सङ्गत भयो,’ उनले भने, ‘यही काम गर्ने इच्छासँगै साथी सङ्गत पनि भएकाले मूर्तिको काम गर्न थालेको हुँ ।’
आफूले मूर्तिकलाको कामसँगै आफैँ फाइन्टआर्ट र टेलियोग्राफीको काम गर्ने उनले सुनाए ।
उनका अनुसार चित्र बनाउने, क्यान्भास निर्माण, कलर निर्माण गर्नेलाई फाइन्ट आर्ट र साइन बोर्ड लेख्ने, कपडामा लेख्नेलाई टेलियोग्राफ भनिन्छ ।
पर्यटकीय गन्तव्यका लागि ढुङ्गाको पहरामा मूर्ति
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरा क्षेत्र पालिकाको पर्यटकीय गन्तव्य भएकाले थप व्यवस्थित गर्नको लागि सो कलाकृत निर्माण गरिएको हो ।
‘त्यसैले गाउँपालिकाको आन्तरिक स्रोतबाटै ढुङ्गाको आकर्षक सिँढी, पहरामा मूर्ति बनाउन लगाइएको हो,’ उनले भने, ‘हात्ती जस्तै आकृति भएका ढुङ्गामा हात्ती बनाइएको छ ।’
सो कला निर्माण गर्नको लागि गाउँपालिकाले चितवन तथा विभिन्न जिल्लाबाट कालिगढ ल्याएको उनले सुनाए । तर गाउँपालिकाले स्थानीय कालिगढसँग समन्वय गरेको उनले बताए ।
सो क्षेत्र पृथ्वी राजमार्गसँग जोडिएकोले अधिकांश सो कलाकृति हेर्न आउने गरेको उनले सुनाए । सो कला निर्माण गरेपछि गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा समेत वृद्धि भएको उनले बताए ।
पहिले जङ्गल र पहरा भएको क्षेत्रमा सो कला निर्माण भएपछि जिल्लामा आउने अधिकांश पर्यटक ऐनापहरामा जाने गरेको उनको अनुभव छ । गाउँपालिकाले ऐनापहरालाई पर्यटकीय हबको रुपमा विकास गर्नुका साथै आन्तरिक राजस्व सङ्कलन गर्ने उद्देश्य पनि लिएको अध्यक्ष चुमान बताउँछन् ।
सोही अनुसार आगामी असार १ गतेबाट न्यूनतम शुल्कसहित टिकटको व्यवस्थासमेत गर्ने उनको योजना छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि झरनामा प्राकृतिक पौडीको लागि पोखरी निर्माण गर्ने योजना गाउँपालिकाको छ ।
‘मेसिनरी र ठोस सामग्रीको लासँग बजेट विनियोजन गरेको छ । हालसम्म ९० लाख भुक्तानी भइसकेको छ,’ उनले भने, ‘नपुगेको रकम पुन विनियोजन गर्नेछौँ ।’
गाउँपालिकाको आन्तरिक स्रोतबाट निर्माण गरिएकाले मितव्ययिता रुपमा बजेट विनियोजन गरेको उनले सुनाए ।
सो क्षेत्रमा ढुङ्गाको सिँढी, सिमेन्टको प्रयोगबाट रिलिङ बनाइएको छ । पुल निर्माण गर्ने, झरना हेर्ने स्थान, जीपलाइन बनाउने लगायतको योजना बनाइएको उनले सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया