गर्भावस्थामा महिलाहरूले आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुपर्छ । उठ्दा, बस्दा र हिँड्दा धेरै कुराहरूमा सावधानी अपनाउनुका साथै खानपानमा पनि धेरै ध्यान पुर्याउनुपर्छ । अर्को मुख्यकुरा भनेको गर्भावस्थामा यात्रा गर्नुअघि पनि धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ ।
गर्भवती भएपश्चात् लामो दुरीको यात्रा गर्नुहुँदैन भन्ने हाम्रो आम बुझाई छ । कतिपयले भने सुरुका र अन्तिमका महिनाहरूमा बाहेक अन्य समयमा यात्रा गर्नुहुने पनि बताइरहेका हुन्छन् यसकारण आज हामी गर्भवती भएपश्चात् लामो दुरीको यात्रा गर्नुहुन्छ कि हुँदैन ? भन्ने सन्दर्भमा जानकारी गराउन गइरहेका छौ ।
चिकित्सकहरू के सुझाउँछन् भने सामान्यतया गर्भवती महिलाले सम्भव भएसम्म गर्भावस्थाभर लामो दूरीको यात्रा नगर्नु नै राम्रो हुन्छ । विशेषगरी पहिलो तीन महिनामा लामो यात्रा तथा गाह्रो काम गर्दा गर्भ खेर जान सक्ने जोखिम हुन्छ । अन्तिम तीन महिनामा पनि यात्रामा गाह्रो वा थकित हुने गतिविधिले समय नपुगी व्यथा लाग्न सक्छ ।
त्यसबाहेक पेट दुखेको छ, टाउको दुखेको छ वा ज्वरो आएको छ, रक्तस्राव भएको छ वा अन्य कुनै स्वास्थ्य समस्या छ भने पनि लामो दूरीको यात्रा नगर्नु नै लाभदायक हुन्छ । कच्ची बाटो, अप्ठ्यारो तथा खाल्डाखुल्डी बाटोमा यात्रा गर्नुहुँदैन ।
यसले गर्भ तुहिने जोखिम हुन्छ । विशेषगरी पहिलो त्रैमासिकमा लामो यात्राबाट जोगिनु नै राम्रो हुन्छ । यो समयमा महिलालाई थकान, कमजोरी, बान्ता जस्ता समस्या हुनसक्छ । यस अवधिमा यात्रा गर्दा गर्भपातको जोखिम बढ्न सक्छ । गर्भावस्थाको समयमा छोटो दूरीको यात्रा भने गर्न सकिन्छ ।
गर्भावस्थाको दोस्रो चरण १४ देखि २८ हप्ताको बीचमा यात्रा गर्नु उपयुक्त मानिन्छ । किनभने यस अवधिमा बान्ता हुने र कमजोरी हुने समस्या कम हुन्छ । यद्यपि, लामो यात्राबाट जोगिनै पर्छ, किनभने लामो यात्राको क्रममा बस्न गाह्रो हुनसक्छ । खुट्टा सुन्निन सक्छ ।
यात्रा गर्नै पर्ने अवस्था छ भने दोस्रो त्रैमासिक राम्रो विकल्प हुनसक्छ । गर्भावस्थामा महिलाहरू धेरै पटक शौचालय जानुपर्ने हुन्छ, जसले समस्या निम्त्याउन सक्छ ।
त्यसैले महिलाले गर्भावस्थामा आफ्नो सुविधालाई ध्यानमा राखेर मात्रै यात्राको योजना बनाउनुपर्छ । यसकारण तपाईले पनि गर्भावस्थामा यस्तै सावधानी अपनाउनुभयो भने तपाई र तपाईँको जन्मिने बच्चा स्वस्थ र सुरक्षित बनाउन सक्नुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया