मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

रङ्गमञ्चमै जीवन सुम्पेका आशान्त शर्मा भन्छन्, ‘चियाको पैसा तिरेँ, घरभाडा अझै बाँकी नै छ’

रङ्गमञ्चको जबर्जस्त भोक

काठमाडौँ– ‘नाटकमा आफ्नै जीवनसँगै तमाम मान्छेका सपना र आकाङ्क्षाहरु बटुल्दै हिँड्ने एकजना रङ्गकर्मीका लागि नाटक र थिएटर अभिनय अनि अभिनय गर्ने थलो मात्र हो र ? हर दिन नाटककै पात्र र चरित्रहरु खोजी हिँड्ने मान्छेका लागि नाटक र थिएटर के हो त ?’

रङ्गकर्मी आशान्त शर्मासँग रङ्मञ्चका केही भोगाइहरु खोतल्ने क्रममा यी माथिका प्रश्नहरु राख्दा उनी केही क्षण रोकिए । नाट्य यात्रामा लामो समयदेखिको दौडमा रहेका उनका लागि नाटक र थिएटर फगत एउटा अभिनय र अभिनयको थलो हिजो थिएन, आज होइन र भोलि पनि हुने छैन ।

उनकै शब्दमा उनका लागि थिएटर धेरै उत्तारचढावहरु सहितको विश्राम स्थल, घुम्ति र मोडहरु भएको यात्रा हो । नाटक र थिएटर उनका लागि जीवनकै सिङ्गो भोगाइ हो ।

मान्छे जन्मेपछि समयले अगाडि जे लिएर आउँछ, त्यसलाई सामना गरेर जाने भोगाइ नै जीवन रहेछ भन्ने उनले बुझेका छन् ।

भन्छन्, ‘जीवन भनेको भोगाइ, फेरि समय सँगसँगैको पनि अर्काे भोगाइ अनि सँगसँगै अन्त्यमा समयलाई नै सामना गर्दै जाने नै रहेछ ।’ यी भोगाइहरुमा लक्ष्य आफैंले निर्धारण गरेर बाटो खन्ने कामचाहिँ आफैंले गर्नुपर्छ भन्ने उनलाई लाग्छ ।

नाटकलाई एकैछिन केही पर राखेर हेर्दा जीवन लक्ष्यका लागि गरिने एक अभ्यास पनि हो । जसले  अभ्यासलाई निरन्तरता दिन सक्छ, उसैले सफलता हात पार्छ । यसरी भोगाइको परिभाषा गर्न र भोगाइमै बाँच्ने साहस भने उनलाई नाटक र थिएटरले सिकायो ।

यही सिकाइमा नै शर्मा तीन दशकदेखि हिँडिरहेका छन् । रङ्गमञ्चमै लागेर अझै पनि सहज रुपमा जीवन निर्वाह गर्न कठिनै छ भनेर स्वयं रङ्गकर्मीहरुले भनिरहेको सुनिन्छ । जुन यात्रा कठिन छ भनेर उनले पनि बुझेका छन् । र पनि उनी निरन्तर थिएटरमै छन् ।

अझै नाटकको विषय, पात्र, चरित्रकै खोजीमा उनी लागिरहेका छन् ।

‘खासमा थिएटरमा यसरी तान्ने चीज चाहिँ के रहेछ ?’ भन्ने जिज्ञासामा हाँस्दै शर्मा भन्छन्, ‘खासमा यो सिर्जनाको भोक हो । पात्र चरित्रसँग बाँच्नु पनि एक किसिमको सिर्जना नै हो । अभाव हुँदाहुँदै पनि सिर्जनाको भोक भएको मान्छेलाई थिएटर जीवन सिकाउने र देखाउने ठाउँ हो ।’

उनको यो सिर्जनाको भोक नाटक, फिल्म, नृत्य, टेलिसिरियल जताततै पोखिएका छन् । यो लामो समयको दौडाइमा उनले के बुझे भने, उनको सबैभन्दा धेरै भोकचाहिँ थिएटरमै रहेछ । उनको पहिलो सिर्जनाको घर नाटक हो ।

उनले सिर्जनात्मक क्षेत्रमा पाइला टेकेकै रङ्गमञ्चबाटै हो ।

‘धेरै समय जुनलाई दियो, माया त्यसैमा हुने रहेछ । मेरो सिर्जनाको संस्कार यहीबाट बस्यो । गाउँघरमा हुने रामलीला देखेर हुर्केको म सडक नाटक हुँदै यसैमा सानैदेखि मलाई रस बस्यो,’ उनी सुनाउँछन् । 

२०५० साल चैत्र ६ गते विरगञ्जको सिटी हलमा उनी पहिलोपटक औपचारिक रुपमा नाटकमा देखिएका थिए । विराटनगरको नाट्य टोलीले प्रस्तुत गरेको नाटक ‘माइराम’ मा उनी मुख्य भूमिकामा थिए ।

उनको नाट्य यात्रामा रोचक कुरा त के हो भने अरुले छोडिदिएका मुख्य भूमिकाहरु निभाएर नै उनी रङ्गमञ्चमा बेग्लै ‘आशान्त शर्मा’को रुपमा उदाए ।

नाटक ‘माइराम’को संयोग पनि त्यस्तै थियो । २०४९ सालमा एसएलसी दिएपछि उनी काठमाडौँमा अध्ययनका लागि आए । जागीर सँगसँगै अध्ययन गरिरहेकै समयमा प्रकाश घिमिरे लगायत नाट्य टोलीसँग भेटेपछि उनी कला सिर्जनातिर होमिए ।

त्यही टोलीले गरेको नाटक ‘माइराम’मा उनी शुरुमा व्यवस्थापकको भूमिकामा थिए । काठमाडौँमा मञ्चन गर्ने भनिएको नाटक विरगञ्जमा मञ्चन गरिएको थियो । नाटकमा मुख्य कलाकारले एकदिन अगाडि छोडेर हिँडेपछि रातारात उनले डायलग घोकेर उक्त नाटक गरेका थिए ।

यस्तै संयोग उनलाई नाटक ‘टलकजङ्ग भर्सेज टुल्के’ र ‘तीन एकान्त’ मा मिल्यो ।  

यसभन्दा अघि उनका भाइ राज लगायत अन्य साथीभाइहरु विराटनगरको नाट्यश्वर नाट्य समूहमा थिए । तीनताका उक्त समूह सडक नाटक प्रस्तुतिमा समेत सक्रिय थिए । त्यही समूहका लागि उनले नाटकमा केही गीतहरु समेत लेखिदिएका थिए ।

उनले तीनताका चुनाव प्रचारका  प्यारोडी गीतहरु समेत लेखे । गीत लेखेपछि साथीहरुले सडक नाटक लेखिदिन आग्रह गरे । संविधानकै बारेमा उनले लेखेको पहिलो सडक नाटक ‘जनता आफैं बुझौं’ थियो । पछि साथीहरुले उनलाई झनै उक्साए ।

वि.सं. २०५४ मा ‘दोषी को’ उनले पूर्णाङ्की नाटक लेखेर राष्ट्रिय सभा गृहमा मञ्चन समेत गरे । अहिले उनलाई लाग्छ, त्यो फिल्मी शैलीकै नाटक थियो । जतिबेला उनलाई नाटकीय तत्व के हो भन्ने थाहा थिएन, मात्र उनले अभिनय बुझेका थिए ।

साथीभाइको करकापमा लेखेपनि उनलाई भने भित्री रुपमा लेख्छु नै भन्ने जाँगर थिएन । उनलाई लाग्थ्यो, लेख्ने वर्ग अर्कै छ र लेख्नेहरुको अलग्गै पहिचान छ ।

उनको यो चिन्तनमा उनमा परेको बाल्यकालीन प्रभावको गहिरो चोट थियो । उनी कक्षा ६ मा पढ्दा उनले एउटा निबन्ध लेखेका थिए । सो निबन्धमा उनले आफ्ना केही भोगाइ र धारणालाई सेमेटेका थिए ।

सडक, बाटो, शिक्षा जस्ता क्षेत्रमा सबै समुदायको समान पहुँच हुनुपर्छ, शिक्षा आर्जनका लागि सबैलाई समर्थवान बनाउनुपर्छ’ भन्ने भावले उनले नितान्त अनुभवहरु निबन्धमा लेखेका थिए ।

त्यही उनको निबन्ध नेपाली पढाउने शिक्षकले जिल्ला शिक्षा कार्यालयमा हुने निबन्ध प्रतियोगिताका लागि दिएछन् । ती शिक्षकले उनलाई खुरुखुरु त्यही पुर्‍याए । त्यहाँ विभिन्न स्थानबाट आएका विद्यार्थीहरु सुकिला भएर ठाँटिएर उपस्थित थिए ।

उनीहरुले पढ्ने निबन्धहरु सफा कागजमा लेखिएको र सुनाउँदा पनि उनीहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायत व्यक्तित्वहरुको सन्दर्भ जोडेर सुनाए । त्यतिबेला एक त उनको तयारी थिएन, अर्कोतिर विना सूचना नै त्यहाँ पुगेका उनले भिडमा एकदमै एक्लो महसूस गरे ।

लगाएको पहिरनमा समेत उनी अलग थिए । अरुको जस्तो सफा र चटक्क मिलेको उनको कपडा थिएन । उक्त प्रतियोगितमा उनको निबन्ध चौथो नम्बरमा छनोट भयो । जो राम्रा र तयारीका साथ आएका थिए, तिनिहरु नै अगाडि आए । त्यही नै उनलाई लेख्ने काम मेरो होइन भन्ने लाग्यो ।

त्यसपछि भने उनले लेख्नलाई चटक्कै छोडिदिएका थिए । पछि साथीभाइकै आग्रहमा उनले मन नलागेपनि लेखिदिने गर्दै आएका थिए । 

नवलपरासी माकर गाविस हाल बर्दघाट नगरपालिकामा वि.सं. २०३० सालमा जन्मिएका शर्मा सातभाइमध्ये साइँलो छोरा हुन् । पञ्चायतकालीन समयमा वि.सं. २०३६ को जनमत सङ्ग्रहका छिटपुट केही घटना र प्रसङ्गहरु उनले सम्झेका छन् ।

जनपक्षीय र पञ्चायत सरकारबारे उनले बुवा (रामलाल शर्मा)सँग जिल्लाभरी घुम्दा केही बुझे ।

पारिवारिक बेमेलकै कारण उनी कहिले आमा र कहिले बुवासँगै बसेर हुर्किए । बुवासँग छुट्टिएपछि केही वर्ष उनको बाल्यकाल आमा(भद्रकुमारी पङ्गेनी)सँग विराटनगरमा बित्यो । पछि बुवासँगै २०३९ सालमा उनी भारतमा पुगे ।

त्यहाँ उनका बुवाले पुस्तक पसल सञ्चालन गरेका थिए । नेपाली र हिन्दी पुस्तकहरुसँगै त्यहाँ नारायण गोपाल लगायतका नेपाली गायकगायिकाका गीतका चक्काहरु समेत बिक्रि गरिन्थ्यो । त्यहाँ रहँदा उनले विश्वेश्वर प्रसाद कोइरालाका ‘मोदि आइन्’, मोदनाथ प्रश्रितको ‘देवाशुर सङ्ग्राम’, त्यतिबेला सिरिजकै रुपमा आएको उपन्यास ‘आतंक, राक्षस राज्य र रत्न भवन’ जस्ता पुस्तकहरु अध्ययन गरेका थिए ।

त्यतिबेला उनले रामायण, महाभारत लगायत पुस्तकहरु समेत अध्ययन गरे । उनको लागि त्यही नै साहित्य सिर्जनाको आधार बन्यो । उनी खुब पढ्ने र गीतहरु सुन्थे । कक्षामा ७४ जना विद्यार्थीहरुमा एक विषय पनि नलागी उनी मात्र एसएलसीमा एकैपटक उतीर्ण भएका थिए । अझैपनि साथीभाइले भेटमा उनलाई पढन्तेकै नामले जिस्काउँछन् ।

बाल्यकालको निबन्ध लेखेकै प्रभावले उनले लेख्न भने जवान भएर पनि आँट गरेनन् । ‘मेरो काम लेख्ने हैन’ भन्ने कुरा उनको दिमागबाट हट्दै हटेन । केही समयपछि काठमाडौँमै सङ्घर्षकै समयमा आफ्नै भाइ राजले लेखेको नाटकलाई लिएर उनी ‘राष्ट्रिय नाटक महोत्सव’ आए, त्यता पनि उनको टोलीको नाटक छनोट भएन ।

त्यो समयलाई उनी स्मरण गर्दै भन्छन्, ‘नाटकको नाम ‘भोक’ हो कि के थियो, तर मलाई निकै राम्रो लागेको थियो । तर महोत्सवमा छानिएन ।

त्यतिबेला मेरो दिमागमा के आयो भने नाटक, साहित्य लेख्नेहरु खास वर्गका हुन्छन् ।’ आफूहरु जस्ता मान्छेहरु लेख्नका लागि आएकै होइन भन्ने बाल्यकालीन चोटले फेरि पनि उनलाई नमज्जाले हिर्कायो । जतिबेला उनी उनी २२/२३ वर्षका थिए ।

त्यसपश्चात् उनी नाटकलाई छोडेर नृत्यतिर आए । नाटक छोडेर नृत्यतिर आएका उनी ५८/५९ सालसम्म स्टुडियो खोलेर नृत्यतिर केन्द्रीत भए । त्यतिबेलासम्ममा उनी नृत्य गुरु नै भइसकेका थिए । त्यता पनि फेरि उनी नाट्य टोलीसँग नै ठोकिए ।

रङ्गकर्मी विजय विष्फोटले आफ्नो नाटक ‘दूरी’मा उनलाई बोलाए । नाटकमा विष्फोटकै लेखन तथा निर्देशन थियो । उक्त नाटक खेलेपछि फेरि विष्फोटले ‘बुर्की’ नाटकका लागि उनलाई बोलाए र त्यो पनि गरे । त्यतिबेला उनको अभिनयलाई आम मान्छेले रुचाए ।

त्यही क्रम चल्दै गर्दा नवलपरासीबाट साथीहरु आएर ‘अन्तर्राष्ट्रिय नाटक महोत्सव’मा  नाटक एउटा हालौं न भनेर प्रस्ताव राखे । साथीहरुकै आग्रहमा २०६४ सालमा गुरुकुलले आयोजना गरेको महोत्सवमा ‘प्रेतका पिताहरु’ नामक नाटक लेखन तथा निर्देशन गरेर उनी त्यता सहभागी भए ।

त्यतिबेला उनी ‘फिरन्ते,’ ‘रातो भाले,’ जस्ता सिरियलमा चिफ असिस्टेन्ट डाइरेक्टर भएर काम समेत गरिरहेका थिए । यद्यपि सिरियलको लेखन तथा निर्देशन आफैं गर्थे । उनले अभिनयमा यथार्थता आउनुपर्छ भन्ने मान्यता सिरियलमै लागू गरेका थिए ।

तर, खास अभिनय र थिएटर भनेको के हो भन्ने खोजमै उनी थिए । नाटकप्रतिको उनको तिव्र भोक थियो ।

अभिनय निकाल्न जान्नुपर्छ भन्ने खोजकै क्रममा उनले रङ्गकर्मी अनुप बरालको नाम सुने । बरालको एक्टर्स स्टुडियोमा नाटक सिक्न जान्छु भनेरै उनले कम्मर कसे ।

यद्यपि त्यतिबेला त्यहाँ तिर्नुपर्ने रकम तुरुन्तै निकाल्ने उनको हैसियत थिएन र फेरि रोकिए । बरालको निर्देशनमा नाचघरमा ‘बरै’ नाटक मञ्चन हुँदा उनले बरालको सिकाउने शैलीलाई नजिकबाट नियाले ।

त्यसपछि भने उनले अब उनैसँगै जसरी पनि नाटक सिक्ने अठोट लिए । २०६४ ताका नै वसन्तपुरमा उनले एक कार्यक्रमको दौरानमा बराललाई भेटे र सिधै भने, ‘नाटक सिक्न मन थियो, हामीजस्तो मान्छेसँग पैसा हुँदैन । हामीलाई पनि नाटक सिकाउनु न ।’

‘कुनै बेला होला नि,’ हाँस्दै बरालले उनलाई जवाफ फर्काए त्यतिबेला । बरालले ‘बुर्की’ नाटकको रिहर्सलको क्रममा उनको अभिनय हेरेका थिए ।

२०६४ मै बरालको निर्देशनमा ‘टलक जङ्ग भर्सेज टुल्के’ मा उनी सानो भूमिकामा छनोट भए । जुन नाटक फिल्मका रुपमा समेत आइसकेको छ ।

खगेन्द्र लामिछानेको लेखन रहेको नाटकमा लेखक नै केन्द्रीय भूमिकामा थिए । तर जागीरकै सिलसिलामा लामिछानेले भ्याएनन् । यही मौकामा उनी मुख्य पात्रमै छानिए । उनका लागि त्यो नाटक नै टर्निङ पोइन्ट बन्यो, धेरैले नाटक मात्र होइन उनको अभिनयलाई निकै रुचाए ।

नाटक लिएरै दिल्लीसम्म पनि पुगे । त्यसपछि उनले सरुभक्तको ‘मलामी’ नाटक गरे । ‘तीन एकान्त’ बरालकै नाटकमा फेरि उनी नै मुख्य पात्रमा अटाए । सुनिल पोखरेल मुख्य भूमिकामा रहेको नाटकपछि उनको भागमा परेको थियो ।

त्यतिबेला सम्ममा औपचारिक रुपमा उनले नाटक सिक्न र अध्ययन गर्नै पाएका थिएनन्, निकै थकथकी लागेको समयमै स्कलरसिपमा नाटक सिक्न बरालले उनलाई बोलाए । नाटकका लागि समय दिन उनले सबै भइरहेका कामहरु छोडे र बरालसँग थिएटर कक्षा लिन शुरु गरे ।

त्यसपछि उनको सङ्घर्षका दिन शुरु भयो । नाटक गरेर पैसा आउने बाटो बनिसकेको थिएन । दोस्रो ब्याचको मध्यतिर एक्टर्स स्टुडियोमा छिरेका उनलाई त्यतिबेला तीन महिनाको अभिनयले पुगेन । त्यसपछि उनी अझै सिक्नलाई चौथो, पाँचौं ब्याचमा हेर्नकै लागि भएपनि गइरहे ।

छैठौं र सातौं ब्याचमा असिस्टेन्टका रुपमा रहेका उनी आठौंदेखि १९ औं ब्याचसम्म गुरु बनेर पढाउने काम गरे ।

उनले विद्यार्थीसँगै थप थिएटर बुझ्ने मौका पाए । यही क्रममा ब्याज प्रोडक्सनकै रुपमा उनले कथादेश २, ‘कथादेश ३,’ ‘उम्बुक्टल्यान्डको मुडभेड’ नाटकहरु गरे । यसबाट आम दर्शकको माया बटुलेका उनलाई लेख्ने आशा जागेर आयो ।

त्यसो त लेख्ने भनेको फरक वर्ग नै हुन्छ भन्ने अनुभूति रङ्गमञ्चमै नभोगेका त होइनन् । आफ्नै शैलीमा समाज र आम मान्छेको कथा सिधै जोडेर भन्न खोज्ने उनको शैलीलाई अग्रजहरुले पनि रुचाएनन् । यता पनि उनलाई आफू लेख्ने मान्छे होइन रहेछु भन्ने कुराले नै बिझाइरह्यो । यही बिझाइले उनले लेखनमा धेरैचोटी ब्रेक लगाए ।

त्यसपछि नेपाली नाटकहरु खोज्दै जाने क्रमम अहिलेको समयलाई बोल्ने नाटकहरु उनले खासै भेटेनन् । नाटक नै नभएपछि दर्शकका लागि भएपनि लेख्नुपर्छ भन्ने ध्येयले उनी लेख्नलाई फेरि उठे । त्यसपछि बच्चाहरुका लागि नाटक ‘नयनावती’ लेखे ।

यसमा पनि एकजना गुरुले खोट देखाए तर हेर्ने मान्छेहरुले खुब रुचाए । यो क्रममा अहिलेको संवेदना बोल्ने नाटक खोज्दै जाँदा नै उनले नयनराज पाण्डेका कथाहरु फेला पारे र यसैबाट ‘कथा एक्प्रेस’ तयार पारे । अरुको नाटक लिन त्यतिकै बिगारेको आरोप लाग्ने डरले उनले ‘एल आइ जी पिकनिक,’ ‘दरौंतीको पानी’ लेखेर मञ्चन गरे ।

यी दुवै नाटकहरुलाई आम दर्शकले रुचाएपछि शर्माको लेखन निरन्तर दौडिरह्यो । ‘यी नाटकहरुले मलाई लेख्ने वर्ग छुट्ट होइन, छुट्टै तरिकाले चाहिँ लेख्नुपर्छ भन्ने कुरा आफ्नै स्वविवेकले सिकायो । अब नाटकहरु लेख्नुपर्छ भनेर मलाई मेरो अन्तरआत्माले भन्यो र आफ्नै तरिकाले लेख्दै गएँ,’ उनले लामो सास तानेर सुनाए । पछि तिनै अग्रजहरुले उनको लेखनको प्रशंसा गरे ।

उनलाई अहिले के लाग्छ भनेर अग्रजहरुको खोटले नै उनको लेखन यहाँसम्म आयो । सायद अग्रजहरुले फरक पाटोको लेखन खोजेको हो भन्ने पनि उनलाई अहिले लागेको छ । उनले भने, ‘यसलाई मैले नकारात्मक रुपमा लिइँन । नाटक आम मान्छेले पढेपछि मेरो लेखाइ मनपर्ने मान्छे पनि छन्, भन्ने भयो ।’

हालसम्ममा ‘बैजयन्ती,’ ‘बुद्ध एण्ड बुलेट,’, ‘ढल्केको सालैजो,’ ‘साथी साथी आइदेउ न’ जस्ता नाटकहरु उनले सिर्जना गरेका छन् ।

भारतीय चर्चित रंगकर्मी हबिब तन्बिरको ‘चरण दास चोर’, आसिफ अलीको ‘काफास् एक अध्याय’, महेश बाटानीको ‘थर्टी डेज इन सेप्टेम्बर’ जस्ता नाटक उनले अनुवाद गरेका छन् । उनको अभिनय रहेको पछिल्लो नाटकहरु भने ‘वेडिङ एल्बम’ र ‘पगला घोडा’ हुन् । 

सन् २००८ मा ‘कुसमे रुमाल २’ फिल्मी क्षेत्रमा अभिनेताका रुपमा प्रवेश गरेका उनले हालसम्ममा ‘आचार्य,’ ‘धनपति,’ ‘कान्छी’ ‘घनचक्कर,’ ‘परस्त्री,’ ‘खाग,’ ‘वधशाला,’ ‘आमा,’ ‘के घर के डेरा,’ ‘चिसो मान्छे,’ ‘बाटोः रोड टु डेथ,’ ‘मेयर’ लगायत फिल्ममा आफ्नो कला अभिव्यक्त गरेका छन् । 

बितेका तीन दशकको अवधिमा शर्माको समय धेरैजसो रङ्गमञ्चमै बिते । नाटक लेखन, निर्देशन, मञ्चन तथा अभिनयमै उनी दौडिरहे र बाँकी बचेको समय फिल्मतिर दिए । फिल्मतिर जाने बाटो चाहिँ रहर भन्दा अभावले नै उनलाई त्यतातिर डोरार्‍यो ।

फिल्म ‘कशुमे रुमाल २’ मा उनी त्यही अभाव पूर्तिकै लागि पुगे । अभावमा छिरेको फिल्मी संसार पछि गएर उनलाई आयआर्जनको बाटो पनि बन्यो । फिल्म र नाटक दुवैमा स्थापित भएपछि पनि एकताका दुई छोराको भविष्यकै लागि भएपनि उनले विदेशतिर जाने सोच समेत बनाएका थिए ।

चरम आर्थिक अभावले गुज्रेको त्यो समयमा उनलाई देशमै रोक्ने काम उनको कला सिर्जनाले गर्‍यो । सङ्घर्षकै दौरानमा उनी एकजना आफैंले पढाउने विद्यार्थीको कोठामा चार महिनासम्म पनि बसे । थिएटरमा न काम पाउनु न त्यहाँबाट बाहिर निस्कनु सक्नु भन्ने अवस्थामा उनले डान्सबारमा डिजेका रुपमा समेत काम गरे ।

यद्यपि उनले आफ्नो अभाव र दुःखलाई कसैलाई बिसाउने काम गरेनन् ।

‘अभाव मैले भोगेको थिएँ, दुःख मेरो हो, अरुलाई किन अप्ठ्यारोमा पार्नु’ भन्ने मान्यतामा उनी अडिग रहिरहे । खाल्डो धेरै भएपछि पानी पनि धेरै अटाउँछ भनेझै दुःख सहनेलाई अझै दुःख नै धेरै आउँछ कि भन्ने उनलाई लाग्छ ।

केही दुःख र भोगाइसँगै अहिले उनले आफ्नै छुट्टै चिनारी बनाएका छन् । ती सङ्घर्षका दिनहरुमा उधारो चिया खाएको पैसा उनले तिरे तर एकजना घरबेटीलाई डेढ महिनाको कोठाभाडा भने अझै तिर्न बाँकी छ । ‘साँढे चार हजार रुपैयाँ जति तिर्न बाँकी छ । शायद घरबेटीले आश मारिसक्नु भएको होला तर मैले बिर्सेको छैन । तिर्न जान्छु भन्छु, फेरि के–के कुराले अल्झाइ हाल्छ,’ उनले हाँस्दै सुनाए ।

उनको थिएटरको सङ्घर्षमा बलियो स्तम्भ भएर उभिइन्, उनकी श्रीमती मीरा पङ्गेनी । उनी नाटक गर्छन् र थोरै पैसा कमाउँछन् भन्ने कुरा श्रीमतीले बुझेकी छिन् ।

छोराहरु पनि नाटकमै आउने रहर गर्छन् । आफ्नो नाटकको भोगाइले गर्दा अर्थोपार्जनको बाटो बनाएर मात्र आउ भनेर उनले भन्ने गरेका छन् । २२  र २० वर्षका दुई छोरा अहिले अध्ययनकै क्रममा छन् ।

रङ्गमञ्चमा नयाँ पुस्तामा निकै जोस उनले देखेका छन् । उनीहरुलाई अझै राम्रो दिक्षा दिन पाइए हुन्थ्यो भन्ने उनलाई लाग्छ । नयाँ आउनेहरुमा धेरैमा उनी नामको भोक देख्छन् ।

भन्छन्, ‘नयाँ पुस्तामा फिल्मको ग्लामरले तानेको छ । थिएटर नै गर्छु भन्ने कम छन् । थिएटरमा सिर्जनात्मक काम गर्नु र कमाउँछु भन्नेमा फरक छ ।’

अस्तित्व हराउला भन्ने भयले  रङ्गकर्मीहरु व्यावसायिक नसकेको उनको बुझाइ छ । उनलाई लाग्छ, गुरुकुलले तानेको दर्शक अझै समेट्न सकिएको छैन । नाटकमा अब सिर्जनात्मक हुन जरुरी छ । यसमा पनि परिमार्जनसँगै प्रशोधित हुनुपर्छ भन्ने उनलाई लागेको छ ।

नाटकमा अहिले समुदायको कथाले जबर्जस्त उपस्थिति जनाएको छ । यसमा उनी निकै खुसी छन् । सबै वर्गलाई छुने पहिचान वाला नाटक पनि आउनुपर्छ भन्ने मान्यता राख्ने उनी भिडमा म एक्लै छु भन्दा अरु पनि छन् भन्ने कुरामा चाहिँ सचेत हुनुपर्छ भन्ने पक्षमा छन् ।

उनका अनुसार कुनै कला सिर्जनाले विभाजन भन्दा एक ठाउँमा ल्याउनुपर्छ र एक पक्षले गरेको सिर्जनाले अरुलाई बिझाउनु हुँदैन ।

भन्छन्, ‘संसार नाक, आँखा, होचो, अग्लो, महिला, पुरुष, जात, धर्म, कालो, गोरो, धनी, गरीब भनेर यसैपनि बाँडिएको छ । यसलाई चाहिँ सिर्जनाले जोड्ने काम गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?