मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के गर्भवतीमा मात्र ‘स्ट्रेच मार्क’को समस्या देखिन्छ ?

खासगरी महिलाको पेटमा देखिने सेतो धर्सा स्ट्रेच मार्क हो । यसले सौन्दर्यतामा प्रभावित तुल्याउँछ । गर्भवस्थामा महिलाले पेटमा चिलाउँदा या कोतर्दा त्यसको असरले यस्ता धर्साहरू देखिने चिकित्सकहरू बताउँछन् । यद्यपि यस्तो समस्या एक्कासी मोटाएर पुन: दुब्लाउँदा पनि देखिन्छ ।

स्ट्रेच मार्कले शारीरिक सौन्दर्यतामा असर पार्ने भएकाले महिलाहरू बढी चिन्तित हुने गरेको पाइन्छ । यो निको हुँदैन भन्ने मान्यता पनि रहँदै आएको छ । यसै सन्दर्भमा स्ट्रेच मार्क के हो र यो किन हुन्छ? त्यस्ता धर्साहरू हटाउन सकिन्छ कि सकिँदैन लगायतका विषयमा छाला तथा यौनरोग विशेषज्ञ डा. उमा केयलसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश:

स्ट्रेच मार्कका कारण महिलाहरू बढी चिन्तित हुने गरेको पाइन्छ, यसका बारेमा अझ स्पष्ट पारिदिनुस् न ।

महिला या पुरुषमा छाला तन्किएर शरीरको विभिन्न भागमा आउने दाग वा सेतो धर्सा नै स्ट्रेच मार्क हो । विशेषगरी गर्भवतीका पाखुरा, स्तन, तिघ्रा, हिपमा यस्तो सेतो धर्सा आउने गर्छ । यस्तै, किशोरीहरुमा शरीरको तीव्र वृद्धि विकास हुने भएकाले स्ट्रेच मार्क देखिन सक्छ ।

उमेरभन्दा बढी मोटाउँदा र मोटाइसकेपछि एक्कासी दुब्लाउँदा पनि यस्तो समस्या देखिन्छ । पुरुषमा हेभी जिम गर्नाले पनि यो समस्या आउन सक्छ । स्ट्रेच मार्क रोग होइन । यसले शरीरमा केही पनि हानी गर्दैन । यसले छालालाई बाहिरी रुपमा हेर्दा नराम्रो मात्र देखाउँछ । शुरुमा स्ट्रेच मार्कको रङ रातो हुन्छ । पछि बिस्तारै सेतो, खैरो हुँदै कालो हुने गर्छ ।

यो शरीरको कुन–कुन ठाउँमा आउँछ र कस्तो अवस्थामा आउँछ ?

स्ट्रेच मार्क विशेषगरी पेट, छाती, पाखुराको पछाडिपट्टि, खुट्टाको पछिल्लो भागमा राता र सेता धर्साहरू अर्थात् स्ट्रेच मार्क देखिन्छ । सरल भाषामा शरीरको जुनसुकै भागमा आवश्यकता भन्दा बढी मासु लागेको ठाउँमा मसल्ज तन्किएर स्ट्रेच मार्कको समस्या हुनेगर्छ ।

यसलाई पूर्ण रुपमा हटाउन मिल्छ मिल्दैन ?

स्टेच मार्क आइसकेपछि पूर्ण रुपमा हट्दैन । साथै छाला एकपटक तन्किसकेपछि फेरि पुरानै शैलीमा फर्काउन पनि सकिँदैन ।

यस्तो समस्या गर्भवती महिलाहरुमा मात्रै या अन्यमा पनि देखिन्छ ?

मुख्यगरी गर्भावस्थामा यो समस्या हुन्छ । तर गर्भवती महिलालाई मात्रै यो समस्या हुन्छ भन्ने होइन । अन्य किशोरीहरु र पुरुषहरुमा पनि यस्तो समस्या हुनसक्छ ।

उपचार विधि कस्तो छ  ?

खासगरी स्ट्रेच मार्कले कुनै किसिमको हानी गर्दैन । तर कहिलेकाहीँ स्ट्रेच मार्क आएको ठाउँमा चिलाउने, पोल्ने हुनसक्छ । यसबेला छाला नरम बनाउने मलम र एन्टिइन्फामेन्टरी मलम लगाउने तथा खाने औषधीको प्रयोग गर्न सकिन्छ । नभए घाउ चिलाउर कन्याउँदा घाउ हुने, पाक्ने तथा अन्य छालासम्बन्धी समस्या हुनसक्छ । स्ट्रेच मार्कलाई लेजर ट्रिन्टमेन्टबाट पनि कम गर्न सकिन्छ । यो उपचार एक महिनाको अन्तरालमा ६ देखि आठ पटकसम्म गर्नुपर्ने हुन्छ । तर पूर्णरुपमा हटाउने उपचार छैन ।

कसरी शतर्कता अपनाउने ?

शरीरमा सकेसम्म सुक्खा हुनबाट जोगाउन नियमित मालिस गर्नुपर्छ । छालामा तेल, मोइस्चराइजर र लोसन लगाउँदा छालाको तन्किने क्षमता बढ्छ । बडी मसाजले स्ट्रेच मार्क हुनबाट जोगाउँछ । सुक्खा छालाभन्दा तैलीय छालामा तन्किने क्षमता बढी हुन्छ । गर्भावस्थामा स्ट्रेच मार्क आउने सम्भावना बढी हुन्छ । त्यसैले चिकित्सकले त्यसलाई कम गर्न गर्भवती भएको दोस्रो त्रैमासिकदेखि विशेष प्रकारको तेल र मोइस्चराइजिङ क्रिम लगाउन सल्लाह दिन्छन् । छालाको अवस्थाअनुसार दिनको दुईचार पटक पेट, स्तन, तिघ्रा, पाखुरा, हिपमा मसाज गर्नुपर्छ । यसले धेरै हदसम्म कम गर्छ ।

अन्त्यमा के सुझाव दिन चाहनुहुन्छ ?

स्ट्रेच मार्क रोक्नका शरीरको वजन नियन्त्रण गर्न जरुरी छ । जङ्क फुड, बढी चिल्लो र क्यालोरी हुने खानेकुरा कम खाने र फाइबरयुक्त खानेकुरामा जोड दिनुपर्छ । गर्भवती महिला, जिम गर्ने व्यक्तिले सेतो धर्सा आउन नदिन पहिले नै सकेसम्म नियमित छालामा नरिवलको तेल, मोइस्चाइजर क्रिम र लोसन लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?