मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बगरमा तरबुजाखेतीबाट सोचेभन्दा राम्रो आम्दानी, किसान खुसी

घोराही ‘दाङ’ – रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २६ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन्।

घोराही उपमहानगरपालिका–७ घुस्रामा ती युवा मिलेर बबई नदी किनारमा तरबुजाखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । विगतमा बालुवैबालुवाले उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू खुसी भएको किसान खड्का बताउँछन् ।

कृषि विषय अध्ययन गरेका उनी आफ्नै ठाउँमा कृषि पेसाबाट अगाडि बढ्ने बताउँछन् । उनले भने, “कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, एकजना साथी थपिएपछि अहिले दुईजना मिलेर घोराहीमा व्यावसायिक तरबुजाखेती पनि सुरु गरेका हौँ ।” यसबाट राम्रो आम्दानी भइरहेको उनले बताए । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत व्यवसाय गर्दै आएका छन् ।

घुस्रामा चार बिघा र झिँगौरामा नौ कठ्ठा जग्गा रु ५० हजार तिर्ने गरेर तीन महिना अवधिको लागि जग्गा भाडामा लिएर तरबुजाखेती गरिरहेका छन् । अहिले सरस्वती र विशाला जातको तरबुजा रु ५० किलोका दरले र आरोही रु ७०  किलोका दरले बिक्री गर्दै आइरहेको अर्का किसान वीरेन्द्र वली बताउछन् । अहिले दैनिक सात–आठ सय किलो बिक्री हुन्छ । हालसम्म १४ हजार किलो बिक्री गरिसकेको उनले जानकारी दिए । तीन महिनाको अवधिमा रु १० लाखको कारोबार गर्ने र आधाभन्दा बढी रकम बचत गर्ने लक्ष्य रहेको उनी बताउछन् । 

“सोचेभन्दा राम्रो आम्दानी भइरहेको छ”, किसान वलीले भने । अरुको देशमा जानुभन्दा स्वदेशमै आत्मनिर्भर हुनका लागि कृषि पेसा रोजेको हुँदा यसैलाई निरन्तरता दिने उनले बताए । उनले भने, “तर केही बजारीकरणमा समस्या भएको हुँदा सरकारले बाहिरी देशबाट आउने तरबुजालाई रोक्ने प्रयास गर्यो भने आफूलगायत अन्य किसानलाई सहज हुनेछ । कम विषादीयुक्त र जैविक उत्पादन गरिरहेकाले आम उपभोक्ताको रोजाइमा परेको उनी बताउछन् ।

दाङ एग्रोमार्ट कृषि फार्ममा तरबुजा किन्न पुग्नुभएका घोराही उपमहानगरपालिका–१४ निवासी अर्जुन गौतम गर्मीको समयमा यसको महत्व धेरै हुने भएकाले खान मन लागेको समयमा यही आएर लैजाने गरेको उनी बताउछन् । यहाँ आएर लैजाँदा ताजा, जैविक पाइने हुँदा स्वास्थ्यलाई फाइदा पुग्ने उनी बताउँछन् ।

बाहिरी देशबाट आएको खानुभन्दा आफ्नै गाउँठाउँमा उत्पादित वस्तु खान अन्य नागरिकलाई पनि उनले आग्रह गर्छन् । यसअघि किसान वीरेन्द्र खड्काले घोराही उपमहानगरपालिका–१४ झिँगौरामा गरेको स्ट्राबेरीखेतीबाट रु १४ लाख बढीको कारोबार गरेका थिए । खेर गइरहेका बगरमा यसरी तरबुजाखेती गर्नसके स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भने सीप र जाँगर भए विदेशिनु पर्दैन भन्ने दरिलो उदाहरण युवा किसानले दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?