मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

छालामा देखिने ‘एक्जिमा’ कस्तो रोग हो ? कसरी जोगिने ?

मानव शरीरमा छालामा देखिने समस्याले हाम्रो दैनिक जीवनमा समस्या परिरहेको हुन्छ । अझ गर्मी महिनामा त अझ धेरै प्रकारका समस्याहरु निम्तन सक्छन् । छाला रोगले बच्चादेखि वृद्धवृद्धासम्म हरेकलाई सताउने गर्छ ।

छालासम्बन्धी सबैभन्दा बढी देखिने पाँच प्रमुख रोगमध्येको एक हो, एक्जिमा । विश्वभरमा करीब २० प्रतिशत बालबालिका र ३ प्रतिशत वयस्क कुनै न कुनै प्रकारको एक्जिमाको सामना गरिरहेको विभिन्न अध्ययनले देखाएको छ ।

एक्जिमा कस्तो रोग हो ? यसको प्रमुख कारण के हो ? कसरी निर्मूल पार्ने लगायतका विषयमा निजामती  कर्मचारी अस्पतालमा कार्यरत डा. प्रज्जवल पूडासैनीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिइएको अन्तर्वार्ताको सम्पादित अंश:

एक्जिमा’ कस्तो रोग हो ?

कुनै कारणवश छालाको कोषिकाहरुको बीचमा सुन्निएर बाहिरी छालामा देखिने समस्या नै एक्जिमा हो । एक्जिमा आफैंमा बृहत हुन्छ । जसअन्तर्गत छाला पोल्ने, रातो बिमिरा, चिलाउने, अति सानो फोका र डल्लो आउने, हल्का पीप र पानी बगिरहने, छाला कडा हुने तथा छाला फुस्रो हुने जस्ता लक्षणहरु देखा पर्छन् ।

यसको असर शरीरको कुन–कुन अंगमा देखिन्छन् ?

एक्जिमा हात, घाँटी, कुहिनो, घुँडा, खुट्टा, अनुहार विशेषगरी घाँटी, कान र ओठको वरिपरि असर गर्छ । कहिलेकाहीँ यो निप्पल, स्तन र लिङ्गको छालामा पनि देख्न सकिन्छ ।

यो रोगको लक्षण र पहिचान कसरी गर्ने ?

यसको पहिचान लक्षणको आधारमा गरिन्छ । सबैभन्दा पहिला ‘मेडिकल हिस्ट्री’को जानकारी लिइन्छ । सोही अनुसार एलर्जी परीक्षण, रगत परीक्षण र छालाको बायोस्पी लिइन्छ । तर यो सबै परीक्षण सबैलाई जरुरी नहुन पनि सक्छ ।

जब एक्जिमाको लक्षणहरु देखा पर्न थाल्छन् । त्यतिबेला नै यसलाई नियन्त्रण गरेमा निको हुन्छ । एक्जिमाको लक्षण जस्तै अलि–अलि छाला सुक्खा भएर चिलाउन थाल्दा चिलाएको भाग पानीमा हल्का भिजाएर तेल वा मोइस्चराइजर क्रिम लगाउनुपर्छ । पछि बिस्तारै बिस्तारै आफैं ठीक हुन थाल्छ ।

यस्तो समस्या हुनुको मुख्य कारण के–के हुन् ?

मुख्यत: साबुन, डिटर्जेन्ट, स्याम्पु र अन्य लुगा धुने तरल पदार्थमा बढी चल्दा छालामा एक्जिमा हुनसक्छ । त्यस्तै कपाल रङ्गाउँदा प्रयोग हुने रसायन, सिमेन्ट, धुवाँ धुलोको कण र बोटविरुवामा हुने एलर्जी गर्ने तत्वले हुनसक्छ । कतिपयमा धातुको सम्पर्कले पनि एक्जिमा गराउँछ । गहना लगाउने जस्तैः कान, नाइटो र हातमा लगाउँदा यो समस्या हुनसक्छ ।

घामबाट निस्कने हानिकारक विकिरणले पनि नाङ्गो छालामा एक्जिमा गराउन सक्छ । विशेषगरी खेतबारीमा काम गर्ने व्यक्तिको हात, खुट्टा, गर्धन, छातीमाथिको भागमा यो समस्या देखिन्छ । बुवाआमामा एलर्जी भइराख्ने, बिबिरा निस्कने समस्या छ भने सन्तानमा पनि एक्जिमा हुनसक्छ अर्थात् वंशाणुगत कारणले पनि हुन सक्छ ।

यस्तै चिसो, सुक्खा मौसममा पनि छाला फुस्रो रहने हुँदा यो समस्या देखिन सक्छ । गाईको दूध, बदाम, गहुँको पिठो, सोया, अण्डा लगायतका खानेकुराको एलर्जीले केही मानिसमा साइड इफेक्टको रूपमा एक्जिमा निम्त्याउँछ ।

गर्भावस्था, महिनावारी र रजोनिवृत्तिको समयमा हर्मोनल परिवर्तनको कारण एक्जिमा देखिन सक्छ । गर्मीयाममा किराहरु व्यापक हुन्छन् । तिनको सम्पर्कमा आउँदा पनि एक्जिमा हुनसक्छ । भाइरल संक्रमण र कपालमा चाया पर्ने समस्याका कारण पनि यो समस्या देखिन सक्छ ।

यसको उपचार विधि कस्तो छ ?

छालाबाट पीप र पानी बग्ने समस्या भएमा नुन पानी वा पोटासियम पानीले सफा गरिराख्ने गर्नुपर्दछ । छाला सुक्खा भइरहन्छ भने चिकित्सकको सल्लाहमा दिनको तीनदेखि चार पटक मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।

केही स्थितिमा चिकित्सकले दुई सातासम्मको औषधि पनि दिन सक्छन् । छाला चिलाउने र सुन्निएको छ भने एन्टिइन्फ्लेमेटरी एन्टिहिस्टामाइन र कोर्टिकोस्टेरोइड औषधी र संक्रमण छ भने एन्टिबायोटिक औषधि दिइन्छ ।

यसबाट बच्न कस्तो सतर्कता अपनाउन सकिन्छ ?

यसबाट बच्न सनस्क्रिन, मोइस्चराइजरको प्रयोग गर्ने, पूरा बाहुला भएको लुगा लगाउने, केमिकलको सम्पर्कमा बस्नुपर्ने भएमा पञ्जा र मास्क लगाउन सकिन्छ । यस्ता सतर्कता अपनाएमा यो समस्याबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?