मध्यविन्दु ‘नवलपरासी’ – नवलपरासी ‘बर्दघाट सुस्तापूर्व’ कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर आज दुई मजदुरको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुर पुरिएका थिए ।
पुरिएकामध्ये कावासोती नगरपालिका-५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ‘बर्दघाट सुस्तापूर्व’ का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको खोजी भइरहेको छ ।
ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया