मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टी-ट्वान्टी क्रिकेट विश्वकप

टी-ट्वान्टी विश्वकप : नेपालको ‘म्याच’ मा समर्थकको ओइरो, घरेलु टिमको खेलमा रंगशाला नै खाली !

काठमाडौँ– अमेरिकाको फ्लोरिडामा रहेको लडरहिल क्रिकेट रंगशालामा विश्वकप टी-ट्वान्टी क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाबीच खेल हुने तय थियो । श्रीलंकासँगको खेलका लागि खेलाडीमात्र होइन, विश्वभरका लाखौँ समर्थक उत्साहित थिए ।

तर, दुर्भाग्यवश निरन्तरको वर्षाका कारण खेल शुरु हुनै सकेन । खेल रद्द भयो, दुबै टिमले अंक बाँडे ।

तर, खेल रद्द भएपनि रंगशालामा नेपाली दर्शकको उपस्थिति भने कम थिएन । नेपालको खेल हेर्न र नेपाली टिमलाई हौसला प्रदान गर्न भनेर हजारौँ दर्शक रंगशाला पुगे ।

रंगशाला पुगेका एक जना दर्शकले एउटा निकै घतलाग्दो ब्यानर बोकेका थिए, उनले बोकेको ब्यानरमा लेखिएको थियो, ‘आईसीसीले चन्द्रमामा नेपालको खेल राखे त्यहाँ पनि नेपाली समर्थक पुग्नेछन्’ हुन पनि यस विश्वकपमा नेपाली दर्शकले आईसीसीसँगै विश्वभरका क्रिकेट प्रेमीको मन जितेका छन् ।

गत ४ जुनमा नेपालले अमेरिकाको डालसमा रहेको ग्राण्ड प्रेरी मैदानमा नेदरल्याण्ड्सको सामना गरेको थियो । त्यस खेलमा  पनि रंगशालामा नेपाली दर्शकको खचाखच भिड थियो । मैदान पुगेका नेपाली समर्थकलाई डच बलर लोगन भान बिकले पनि राम्रै प्रसंशा गरेका थिए ।

खेलको इनिङ्गस ब्रेकमा उनले भनेका थिए, ‘मलाई कन्फ्युजन भयो कि म नेपालमा खेलिरहेको छु या डालासमा ।’

टेलिभिजनमा खेलको प्रसारण हुँदै गर्दा पृष्ठभूमिमा नेपाली पञ्चेबाजा घन्किएको सुन्न पाइएको थियो ।

नेपाली समर्थकको प्रसंशा खेलका कमेन्टेटर इयान बिसपले पनि गरे । नेपाली समर्थकको प्रशंसा गर्न आयोजक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी पनि पछि परेन । उसको सामाजिक सञ्जालका पोस्टहरुमा पनि नेपाली समर्थकको वाहवाही गरेको देखियो ।

ग्राण्ड प्रेरी रंगशालाको दर्शक क्षमता ७ हजार २ सय छ । नेपालको खेलमा रंगशालाको सबै टिकट बिक्री भएको थियो । अमेरिकाले सुपर ओभरमा पाकिस्तानलाई पराजित गर्दै सनसनीपूर्ण नतिजा निकालेको खेल पनि सोही रंगशालामा भएको थियो ।

तर, अमेरिकाका क्रिकेट पण्डित पिटर डेला पेनाका अनुसार त्यस खेलमा भने ५ हजार ७ सय २० जना दर्शक रंगशाला पुगेका थिए । सोही मैदानमा भएको बंगलादेश र श्रीलंकाबीचको खेलमा दर्शक सङ्ख्या ५ हजार २ सय ७ थियो ।

न्यूयोर्कको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी २० विश्वकपअन्तर्गत भारत र पाकिस्तानको खेलमा पनि उल्लेख्य दर्शकको उपस्थिती थियो । त्यो खेल हेर्न पनि रंगशालामा दर्शकको खचाखच भिड थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले यो खेलको टिकट मूल्य ३ सय डलर तोकेको थियो । यति महङ्गो टिकट काटेर पनि यो खेल हेर्न ३४ हजार दर्शक रंगशाला पुगे ।

दर्शक बस्ने ठाउँ कतै खाली थिएन । यस्तो लाग्थ्यो कि, क्रिकेट खेल खासै लोकप्रिय नरहेको अमेरिकामा कुनै कुम्भमेला लागेको होस् । यो प्रतियोगितामै सबैभन्दा दर्शक यही खेल हेर्न पुगेका थिए ।

टी २० विश्वकप शुरु हुनुअघि आईसीसीका प्रतियोगिता निर्देशक फवाज बक्शले यस पटक रंगशालामा दर्शकको उल्लेख्य हुने दाबी गरेका थिए । यूएसए टुडेलाई दिएको अन्तरवार्तामा उनले टिकटको बिक्री आफूहरुको अपेक्षाभन्दा अति धेरै भएको दाबी गरेका थिए ।

भारत, पाकिस्तान र नेपालका खेलमा यतिका धेरै दर्शक ओइरिँदा अरु खेलमा भने दर्शकको उपस्थिती खासै उल्लेख्य देखिएको छैन । २ जुनमा घरेलु टोली वेस्ट इण्डिजले पपुवा न्युगिनीसँग खेल्दै थियो । गुएनाको प्रोभिडेन्समा भएको खेलमा घरेलु टोलीको समर्थन गर्न कोही दर्शक नै आएनन् ।

रंगशालामा दर्शक बस्ने स्थान पूरै खाली देखिन्थ्यो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले घरेलु टोलीको समर्थन गर्न कोही दर्शक नै नआएको देखेर प्रश्न उठाएका छन् कसैले टिकटको मूल्य महङ्गो भएकाले दर्शक रंगशालासम्म नआएको बताएका छन् । हुन पनि आईसीसीले यो खेलको टिकट मूल्य २२ डलर निर्धारण गरेको थियो ।

कसैले भने बिहानको समयमा खेल खेलाइएका कारण दर्शक नआएको बताएका छन् । रेडियो टाइम्सले भारतीय र दक्षिण एशियाली दर्शकलाई पायक पर्ने समयमा आईसीसीले खेल सञ्चालन हुने समय निर्धारण गरेको जनाएको छ ।

प्रायः ठूला प्रतियोगिताका खेलहरु रातिको समयमा हुने गर्छन् । तर, दक्षिण एशियाली दर्शकलाई पायक पर्ने देखेर यस प्रतियोगिताका केही खेलहरु स्थानीय समयअनुसार बिहान साढे दश बजेको समयमा राखिएको छ । कसैले भने दक्षिण एसियाबाहिर क्रिकेट खेलप्रति दर्शकको मोह हराउँदै गएकाले पनि वेस्ट इण्डिजमा दर्शक नआएको तर्क दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?